क्रान्तिको निशाना नेपाली सेना र प्रहरी नभई दलाल पुँजीपति वर्ग हो : विप्लव

‘वीरजङ्गको निधनले क्रान्तिलाई कमजोर होइन तागत पैदा गरेको छ ।’

क्रान्तिको निशाना नेपाली सेना र प्रहरी नभई दलाल पुँजीपति वर्ग हो : विप्लव

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिको निशाना नेपाली सेना र प्रहरीसित नभई दलाल पुँजीपति वर्ग भएको बताएका छन् । महासचिव विप्लवले जनयुद्धको क्रममा नेतृत्वले धोका दिएको कारण क्रान्तिको झण्डा आफूहरूले उठाउनु परेको भन्दै श्रमिक जनताको सपना पूरा नहुँदासम्म क्रान्ति जारी राख्ने बताएका हुन् ।

नेकपा कपिलवस्तुद्वारा शिबगढीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टी नेता बीरजङ्गको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै उहाँको निडरता, इमानदारिता, सरलता र क्रान्तिप्रतिको निष्ठाले क्रान्तिलाई कमजोर होइन तागत पैदा गरेको बताए । महासचिव विप्लवले नेता राज्यबाट उपचार नपाएकै कारण बीरजङ्गको निधन भएको बताउँदै उहाँको सपनालाई एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताए । उनले नेता बीरजङ्ग पार्टी र क्रान्तिको अभिभावक भएको भन्दै उहाँको क्रान्तिकारी आदर्शलाई पछ्याउनुपर्ने बताए । विप्लवले आफ्नो पार्टी जनताको सेवक भएको अहिलेको व्यवस्थाले जनताको समस्या समाधान नगर्ने बताए । साथै उनले जनता र देशलाई केन्द्रामा राखेर पार्टी एकता सम्भव हुने बताए ।

यसैगरी नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले वीरजङ्गसँगको बिगत स्मरण गर्दै उहाँ क्रान्तिप्रति दृढ, इमानदार र प्रतिबद्ध नेता भएको बताए । नेता महराले क्रान्तिकारी पार्टीहरू छिन्नभिन्न भएको भन्दै एकता आवश्यक भएको बताए ।

नेकपा केन्द्रीय सचिवालय सदस्य सुदर्शनले कमरेड बीरजङ्गले देखेको क्रान्तिको बाँकी सपना पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । नेता सुदर्शनले वीरजङ्गको निधनले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै शोकको घडीलाई शक्तिमा बदल्नुपर्ने बताए । यस्तै अर्का केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले कमरेड वीरजङ्ग सिङ्गो क्रान्तिको अभिभावक भएको भन्दै उहाँको स्वाभाविक मृत्यु नभएर राज्यसत्ताले हत्या गरेको बताए ।

श्रद्धाञ्जली सभामा नेकपा केन्द्रीय सदस्य आस्था, लुम्बिनी प्रदेश सभा सांसद वसन्त घर्तीमगर, बामपन्थी नेता बिनबहादुर कुँवर लगायतले बोलका थिए । जिल्ला इन्चार्ज जुझारूको अध्यक्षता र सञ्चालन सेक्रेटरी कमलले गरेका थिए ।

उक्त श्रद्धाञ्जली सभा कपिलवस्तुको शिबगढीस्थित वीरजङ्गको निवासमा गरिएको थियो । सभामा नेकपा केन्द्रीय सदस्य चिरन पुनले श्रद्धाञ्जली गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा केन्द्रीय नेता, कार्यकर्ता, विभिन्न दलका नेता, शुभचिन्तक, आफन्ता परिवारजन र स्थानीयको सहभागिता रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :