युवा सङ्गठन नेपालद्वारा रुपन्देहीमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

युवा सङ्गठन नेपालद्वारा रुपन्देहीमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

सैनामैना : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल रुपन्देहीले लागू औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार सङ्गठनको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको सैनामैनास्थित कलौनी चोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले वर्तमान दलाल संसदीय व्यवस्थाले युवाहरूलाई लागू औषधको भुमरीमा फसाएर आफूहरू सत्ता र कुर्चीको लडाइँमा लिप्त रहेको बताए । देशमा बेरोजगार, भ्रष्टाचार, महँगी, अशिक्षाका कारण युवाहरू लागू औषध दुर्व्यसनीमा फसेको भन्दै विश्वासले यसका विरुद्ध आफ्नो पार्टीले देशव्यापी रुपमा निर्मम सङ्घर्ष गरिरहेको बताए । विश्वासले देश अनिश्चयको खाडलतिर धकेलिरहेको बताए । उनले देशमा सामन्तवादको अन्त्य भए पनि सामन्तवादी चिन्तन भएका दलालहरूले देशलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको विचार व्यक्त गरेका थिए । उनले राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न नदिने र यसका विरुद्ध आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरू सङ्घर्षको क्रममा बलिदान गर्न पनि तयार रहेको उद्घोष गरे ।

युवा सङ्गठन नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष साइमनले वर्तमान राज्यसत्ताले कुलतमा फसिरहेका युवाहरूलाई सुधार्नका लागि कुनै पनि उत्तरदायी भूमिका नखेलेको बताए । उनले वर्तमान दलाल राज्यसत्ता र दलाल राज्यसत्ताका नाइकेहरू नै युवाहरूको वैचारिक तथा राजनीतिक चेतना स्तर बृद्धिको बाधक भएको बताए । साइमनले सम्पूर्ण देशभक्त, प्रगतिशील युवाहरूलाई एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित हुन अपिल गरेका थिए । यस्तै युवा सङ्गठन नेपाल रुपन्देही जिल्ला उपाध्यक्ष भक्त थापाले वर्तमान दलाल राज्यसत्ताबाट युवाहरूको निकास सम्भव नरहेको भन्दै वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा लागू औषधका व्यापारीहरूलाई कारवाही गर !, लागू औषध दुर्व्यसनीविरुद्ध सङ्घर्ष गरौँ !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद !, जनमतसङग्रह घोषणा गर ! लगायतका नाराहरू लगाइएको थियो ।

नेकपाका सैनामैना सेक्रेटरी वर्षा, पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता, युवा, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी लगायतको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रमको सहजीकरण सङ्गठनका जिल्ला उपाध्यक्ष भक्त थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :