दाङः नेपाल कम्युनिस्ट पार्टी दाङले एमसीसी सम्झौता विरुद्ध केन्द्रीय चरणबद्ध विरोध कार्यक्रम अन्तर्गत आज जिल्लाका सम्पूर्ण पालिकाका केन्द्रहरुमा एमसीसी खारेज गर लेखिएको बेलुन आकाशमा उडाएको छ ।
नेकपा तुलसीपुर उपमहानगरले व्यापक जनसहभागिताका बिच सिटी जुलुससहित नगर परिक्रमा गर्दै एमसीसी विरुद्धको विरोध कार्यक्रम सम्पन्न गरेको छ । तुलसीपुरको सल्यान रोडबाट सुरु भएको विरोध सिटी जुलुस बिरेन्द्र चोक, घोराही रोड, बाहिनी चोक, मदन आश्रित चोक हुँदै बिपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा तुलसीपुर उपमहानगर इन्चार्ज विकासले एमसीसी पास भए नेपाल दोस्रो अफ्गानिस्तान बन्ने बताए । उनले नेपाली संसदवादी दलालहरु नेपाली अनुहारका साम्राज्यवादी दूत भएको समेत बताए । नेता विकासले नेपाललाई चीन घेर्नको लागि उपयुक्त भूगोलको रुपमा प्रयोग गरेर रणमैदान बनाउने अमेरिकी रणनीति कुनैपनि हालत सफल हुन नदिने उद्घोष गरेका थिए ।
सांसदहरुले एमसीसी सम्झौतामा हस्ताक्षर गरे आफ्नो पार्टीले जनयुद्धमा जस्तैगरी गाउँगाउँबाट बाजा बजाएर लखेट्ने चेतावनी दिए । नेपाली जनताले नचाहेको सम्झौता संसदवादी दलहरुलाइ किन मन परेको छ ? नेता विकासले प्रश्न गरे ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता नेकपा दाङ जिल्ला कमिटी सदस्य इश्वरीले एमसीसी जस्तो रास्ट्रघाती सम्झौता पास गर्ने धृष्टता गरे जनताले भयंकर ठूलो बिद्रोह गर्ने चेतावनी दिए । नेता इश्वरीले आफुहरु मर्न तयार हुने तर साम्राज्यवादको अतिक्रमण सहेर नबस्ने उद्घोष गरे ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमरले एमसीसी सम्झौता नेपालको कानुन भन्दामाथि भएको जिकिर गरे । उनले देशमा रहेका बहुमुल्य धातु कब्जा गर्ने, छिमेकी मुलुक चिनलाई आक्रमण गर्न हाम्रो भुगोल प्रयोग गर्ने अमेरिकी रणनीति कुनैपनि हालतमा सफल हुन नदिने उद्घोष गरे । नेता अमरले संसदवादी दलालहरुले इतिहासदेखि गरेका आसमान सन्धि सम्झौता समेत खारेज गर्न माग गरे । जबर्जस्त एमसीसी पास गर्न खोजे सम्पूर्ण युवा, विद्यार्थीहरु राष्ट्र जोगाउन र जनताको मुक्तिका लागि जनमुक्ति सेना बनेर बन्दुक बोक्न बाध्य हुने समेत उद्घोष गरेका थिए।
एमसिसी सम्झौता विरुद्धको विरोधसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य बिजयले गरेका थिए ।
यस्तै नेकपा शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकाले संयुक्त रुपमा एमसीसी सम्झौता विरुद्ध सिटी जुलुस र बेलुन उडाउने कार्यक्रम सम्पन्न गरेको जनाएको छ । शान्तिनगर ५ रगैजाबाट सुरु भएको सिटी जुलुस दंगीशरण ६ श्रीगाउँमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन नेकपा दाङ जिल्ला कार्यालय सदस्य निर्मलले गरेका थिए भने सहजीकरण पार्टी जिल्ला कमिटी सदस्य राजकुमारले गरेका थिए ।
यता नेकपा घोराही उपमहानगरले पनि एमसीसी सम्झौता विरुद्ध सिटी जुलुस र बेलुन उडाएको छ । जुलुस पछिको कोणसभालाई नेकपा दाङ जिल्ला कमिटी सदस्य मोतीले सम्बोधन गरेका थिए भने सहजीकरण पार्टी दाङ जिल्ला कमिटी सदस्य अनिलले गरेको जनाइएको छ ।
यस्तै नेकपा लमही, गढवा र राजपुर गाउँपालिकाले संयुक्त रुपमा लमही, भालुबाङ हुँदै गढवासम्म सिटी जुलुससहित गढवा बजार परिक्रमा पछि कोणसभा कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कोणसभालाई सम्बोधन नेकपा विशेष कमिटी सदस्य विक्रम, नेकपा दाङ जिल्ला कमिटी सदस्य तथा गढवा राजपुर गाउँपालिका इन्चार्ज सुरजले गरेका थिए भने सहजीकरण नेकपा लमही नगर इन्चार्ज जनकले गरेको जनाइएको छ ।