तीस वर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य हो भन्दै तत्काल रिहा गर्न माग

तीस वर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य हो भन्दै तत्काल रिहा गर्न माग

काठमाडौँः नेपालका विभिन्न कम्युनिस्ट पार्टीका नेताहरु पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ लाई रिहाईको माग गरेका छन् । उनीहरुले तीन दशकसम्म जेलमा राख्नु अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न पेरु सरकारसँग माग गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले ८९ वर्षको उमेर पुग्दा पनि जेलमै राख्नु पेरु सरकारको अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न माग गरे । उनले तत्कालिन फुजिमोरी सरकारले अमेरिकाका आडमा पेरुभियाली जनताको लागि संघर्ष गर्ने गोञ्जालोलाई आजीवन काराबास राख्ने सजाय दिएको भन्दै रिहा गर्न माग गरे ।

नेपालामा जनयुद्ध सुरु गर्नुअघि पेरु कम्युनिस्ट पार्टीबाट आफूहरुले प्रेरणा लिएको गजुरेलले बताए । उनले पेरुको जनयुद्ध रणनीतिक रक्षाबाट सन्तुलनमा पुगेर प्रत्याक्रमणको तयारीकै क्रममा गोञ्जालोलाई गिरफ्तार गरिएको बाए । पेरु कम्युनिस्ट पार्टीका दर्जनौं नेताहरुलाई सरकारले हत्या गरेको बताउँदै गोञ्जालोको जीवन रक्षाको लागि संसारभरका क्रान्तिकारी एक हुन पर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले गोञ्जालो संसारका क्रान्तिकारीहरुको प्रेरणाको स्रोत भएको बताउँदै रिहाईको लागि पहल गर्नु दायित्व भएको बताए । गिरफ्तारीपछि जेलबाटै गोञ्जालोको पहिलो सम्बोधनले भनेझैं क्रान्तिकारीहरुको गिरफ्तारी ‘सडकमा मोड’ भएको बताए । उनले मानव जातिको मुक्तिको लागि संघर्ष गर्ने नेतालाई ३० वर्षसम्म जेलमा राख्नु अमानवीय कार्य भएको भन्दै रिहाईको माग गरे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देव गुरुङले पेरु कम्युनिस्ट पार्टीको नेतृत्वमा जनयुद्ध संसारका क्रान्तिकारीको लागि प्रेरणाको स्रोत र कम्युनिस्ट पार्टीको अंग भएको बताए । अमेरिकी साम्राज्यवाद कमजोर भए मात्रै गोञ्जालो रिहाई हुन सम्भव भएको भन्दै गुरुङले साम्राज्यवाद विरोधी मोर्चा शसक्त बनाउनु पर्ने बताए । सच्चा कम्युनिस्टहरुबीच ध्रुबिकरण भएमा समाजवादी व्यवस्थाको ढोका खोल्ने र गोञ्जालोको रिहाई सम्भव हुने बताउँदै गुरुङले माओवादी केन्द्र त्यसको लागि तयार रहेको बताए ।

तत्कालिन नेकपा (माओवादी) को अन्तर्राष्ट्रिय विभागमा हुँदा आफूहरुले गोञ्जालोको अवस्था बुझ्न पदमरत्न तुलाधरलाई पेरु पठाएको स्मरण गर्दै बास्तोलाले पेरु कम्युनिस्ट पार्टीप्रति विचार र भावानात्मक सम्बन्ध बताए । उनले अमेरिकी साम्राज्यवादकै भरमा पेरु कम्युनिस्ट पार्टीमाथि दमन भएको बताए ।

बास्तोलाले गोञ्जालोले सुरु गरेको बाँकी कार्यभार सम्पन्न गर्नुपर्ने क्रान्तिकारीको दायित्व भएको भन्दै आफ्नो पार्टी एकीकृत जनक्रान्तिमार्फत क्रान्ति सम्पन्न गर्न अगाडि बढेको बताए ।

नेकपा (मसाल) का प्रवक्ता रामप्रसाद पुरीले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्था पुगेकैले पेरुको प्रतिक्रियावादी सरकारले गोञ्जालोलाई रिहाई नगरेको बताए । उनले गोञ्जालोको जीवर रक्षा गर्नु दायित्व भएको बताए ।

कार्यक्रममा जनवादी गायक तथा रिहाईको लागि गीत गाउँदै आएका जीवन शर्माले विश्व कम्युनिस्ट आन्दोलको भविश्यसँग गोञ्जालोको रिहाई जोडिएको बताए । उनले कम्युनिस्टहरु शक्तिशाली भएमात्र गोञ्जालोको रिहाई सम्भव भएको बताए । शर्माले गोञ्जालोको रिहाईको लागि गीत समेत गाएका थिए ।

सन् १९९२ सेप्टेम्बर १२ मा पेरु सरकारले गोञ्जालोलाई राजधानी लिमाबाट गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :