युवा सङ्गठन पाल्पाद्वारा बेरुजु तथा भ्रष्टाचारविरुद्ध प्रदर्शन

युवा सङ्गठन पाल्पाद्वारा बेरुजु तथा भ्रष्टाचारविरुद्ध प्रदर्शन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल पाल्पाले जिल्लामा देखिएको बेरुजु तथा भ्रष्टाचारको विरूद्ध तानसेन नगरपालिका भवन अगाडि बिरोध प्रदर्शन गरेको छ । हालै सार्वजनिक भएको बेरुजु रकम तथा एमसीसी सम्झौताको विरुद्धमा विरोध सभामा गरिएको हो । उक्त विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल, पाल्पाका जिल्ला अध्यक्ष लिलाबहादुर सारुले देउवा सरकारको गृह प्रशासनले अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध जनतालाई आतङ्कित पार्ने गरि जारी गरिएको विज्ञप्तिदेखि आफूहरू नडराउने बताए ।

एमसीसी सम्झौतामार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई उपनिबेश बनाउन खोजेको भन्दै लिलाबहादुर सारुले देश बेच्ने दलालहरूले दिने आदेशका विरुद्ध सुरक्षा निकायका सेना, प्रहरीले पनि बिद्रोह गर्नुपर्ने बेला आएको उद्घोष गर्दै महालेखा परिक्षकको बेरुजु रकमको सत्यतथ्य सार्वजनिक गर्न मागसमेत गरे । रास्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सांसदलाई गाउँ–गाउँबाट कालोमोसो दलेर कारवाही गर्ने चेतावनी दिँदै ५५ अर्बमा देश बेच्ने दलालहरूका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्ने उल्लेख गरे । संसदीय व्यवस्था पूर्ण रुपले असफल भएको भन्दै विकल्पमा जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको र संसदीय सरकार विघटन गरेर प्रगतिशील संयुक्त सरकार गठन गरि जनमतसङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने उनले बताए ।

जनतालाई आतङ्कित पार्दै एमसीसी पास गर्न खोजे जस्तोसुकै कदम चाल्न बाध्य हुने भन्दै सारुले मातृभूमिमाथि अमेरिकी साम्राज्यवादको आतङ्कको विरुद्ध आफूहरू जेल, हिरासत मात्रै नभई आवश्यक परे बलिदान गर्न पनि पछि नहट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :