घोराहीः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङ जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक जिल्लाको घोराहीमा आइतबार सम्पन्न भएको छ ।
प्रथम बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङका विशेष कमिटी सदस्य तथा दलित मुक्ति मोर्चाकी उपाध्यक्ष सम्झना विकले माओवादी आन्दोलनमा महिला सहभागिताको विरासतको रक्षा गर्दै अबको एकीकृत जनक्रान्तिमा पनि महिलाहरुको अहम भूमिका रहने बताइन् । उनले जनयुद्धमा आफ्नो अधिकार प्राप्तिका लागि बन्दुक बोक्ने आँट गर्ने साहसिक महिलाहरुले एकीकृत जनक्रान्तिको बाटोमा दलाल पुजीवादी सत्ताको जेल, नेल, दमन, हिरासतको प्रवाह नगरी निरन्तर क्रान्तिको पक्षमा अघि बढेको बताइन् ।
नेतृ सम्झनाले आधुनिक समाजमा महिलाहरुलाई दलाल सत्ताले बिक्री गर्ने वस्तुको रुपमा प्रयोग गरेको भन्दै संसदीय व्यवस्थाको चिहान खन्न एक पटक फेरि महिलाहरु बिद्रोह गर्न तयार रहनुपर्ने धारणा राखिन्।
बैठकका अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले पार्टीको आगामी कार्यनीति र राजनीतिक कार्यक्रमका विषयमा प्रष्ट पारेका थिए ।
जिल्ला सम्मेलन आयोजक समिति संयोजक रेखा रोकाको अध्यक्षता तथा संचालनमा बसेको बैठकमा नेकपा घोराही उपमहानगर इन्चार्ज तिलक, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य अशोकाको आतिथ्यता रहेको थियो । बैठकले भदौ महिनाभरी पालिका र वडा स्तरका भेला सम्मेलन गर्ने र असोजमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।