जाजरकोट : दलित मुक्ति मोर्चा नेपाल, जाजरकोटको पहिलो जिल्ला सम्मेलन जाजरकोटको बारेकोट सेपुखोलामा सम्पन्न भएको छ ।
“दलाल पुँजीवादी संसदीय व्यवस्थाका आधुनिक विभेदका विरुद्ध संघर्ष गरौँ, वैज्ञानिक समाजवादका पक्षमा पहिलो जिल्ला सम्मेलन सफल पारौँ !!” भन्ने मूल नाराका साथ आइतबार सम्पन्न उक्त सम्मेलनबाट ध्रविन्द्र विक ’निर्मम’ को अध्यक्षतामा दुई सदस्य पछि थप्नेगरी १३ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । जसमा उपाध्यक्षमा हरिश विक र नवराज विक, कोषाध्यक्षमा धनकली विक, सचिवमा राजेश विक ‘सरल’, सह–सचिवमा तिलक विक र गोविन्द विक सदस्यहरूमा बलबहादुर गन्दर्भ, पदम नेपाली, टेकबहादुर नेपाली, दोभान चयन भएका छन् ।
उक्त सम्मेलनको उद्घाटन समारोहमा शुभकामना मन्तब्य दिँदै नेपाल कम्युनिस्ट पार्टी जाजरकोट जिल्ला इन्चार्ज संगमले सामाजिक फासिष्ट दलाल पुँजीवादी व्यवस्थामा सम्पूर्ण जातजाति र भाषाभाषीहरूको आफ्नो कला संस्कृतिको रक्षा र राजनीतिक अधिकार सुनिश्चित नभएको र विद्यमान व्यवस्थाको विरुद्ध राजनीतिक संघर्ष नगरिकन सामाजिक रूपमा पछि पारिएका उत्पीडित समुदायको पूर्ण मुक्ति सम्भव नभएको बताए । उत्पीडित समुदायको मात्रै नभएर आम मानवजातिको पक्षमा वैज्ञानिक समाजवादको अपरिहार्यता रहेको उल्लेख गरे ।
यसैगरी पार्टीका भेरी–कर्णाली व्युरो सदस्य धमिलले उत्पीडित वर्ग समुदायको निम्ति स्वयम् दलित समुदाय वैज्ञानिक समाजवाद प्राप्तिको लागि राजनीतिक आन्दोलनमा सक्रिय हुनुपर्ने कुरा राखे ।
अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष सम्भावनाले लैङ्गिक उत्पिडन, वर्गीय थिचोमिचोका साथै जातीय रुपमा पछाडि पारिएका दलित महिलाहरूको परिवर्तन राजनीतिक आन्दोलनबाट मात्र सम्भव भएको बताइन् ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष ध्रविन्द्र विकले वर्ग संघर्षको सबैभन्दा उच्च रुप जात व्यवस्था र यसका आधारमा गरिएको सामाजिक विभेद र बहिस्करण हो । बहिस्करणमा पारिएका वर्ग समुदायलाई विशेषाधिकार सहितको सामाजिक समानता कायम गर्नका लागि सम्पूर्ण उत्पीडित वर्ग समुदायलाई विद्यमान सामाजिक दलाल पुँजीवादी संसदीय रज्यव्यवस्थाको आधुनिक विभेदका विरुद्ध राजनीतिक संघर्षमा उत्रिन अपिल गर्दै सम्पूर्ण दलित राजनीतिक सङ्गठनहरू संयुक्त मोर्चा निर्माण गरि उन्नत व्यवस्थाका लागि राजनीतिक संघर्षसमेत गर्नुपर्ने धारणा राखे ।
कार्यक्रम व्यापारी, किसान, मजदुर, युवा, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी लगायत जनसांस्कृतिक टिमको प्रस्तुतिसहित सयौँ जनसमुदायको उपस्थितिमा भएको थियो । उद्घाटन समारोहको सञ्चालन सितलले गरेका थिए भने अथितिमा नेकपा बारेकोटका सेक्रेटरी सुप्रेम लगायत थिए ।