सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाद्वारा काठमाडौँका विभिन्न स्थानमा कोणसभा

सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाद्वारा काठमाडौँका विभिन्न स्थानमा कोणसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा पोस्टरिङ र कोणसभा गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नेकपा काठमाडौँले पर्चा वितरण, पोस्टरिङ र कोणसभा आयोजना गरेको हो ।

प्रतिबन्ध र सरकारको कडा सुरक्षाप्रबन्धलाई छल्दै काठमाडौँका विभिन्न स्थानमा आइतबार कोणसभा आयोजना गरिएको नेकपा काठमाडौँले जनाएको छ । समाचारअनुसार आधा दर्जन स्थानमा कोणसभा सम्पन्न भएका छन् । कोणसभामा सम्बोधन गर्दै नेकपाका नेताहरूले सरकारको चर्को आलोचना गरेका थिए । प्रहरीले नेता–कार्यकर्तालाई गिरफ्तार गर्नुका साथै धरपकड जारी राखेको भन्दै उनीहरूले सरकारी गतिविधिको विरोध जनाएका थिए ।

न्युरोड र इन्द्रचोकमा दिउँसो कोणसभा आयोजना गरिएको थियो । उक्त सभालाई सङ्कल्पले सम्बोधन गरेका थिए ।

दक्षिणकाली गेटमा भएको कोणसभालाई निश्चल र मिसनले सम्बोधन गरेका थिए । प्रहरीले गिरफ्तारी र धरपकड जारी राखे नेकपा त्यसको प्रतिवाद गर्न बाध्य हुने चेतावनी उनीहरूले दिएको समाचारमा उल्लेख छ ।

त्यसैगरी काठमाडौँकै नैकाप र टोखामा पनि कोणसभा सम्पन्न भएको छ । नैकपाको कोणसभालाई ग्याल्बो र प्रतापले सम्बोधन गरेका थिए भने टोखाको कोणसभालाई विज्ञानले सम्बोधन गरेका थिए । वक्ताहरूले सरकारले भ्रष्टाचारी, कालोबजारीको संरक्षण गर्नुका साथै जनविरोधी कार्य जारी राखेको बताएका थिए । उनीहरूले एकीकृत जनक्रान्तिमार्फत स्थापना हुने वैज्ञानिक समाजवादले मात्र जनताको वास्तविक मुक्ति गर्ने बताउँदै आफ्नो पार्टीलाई साथ दिन आग्रह गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :