काठमाडौँ : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६५ हजारको सेरोफेरोमा पुग्दा आधाभन्दा बढी सङ्क्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । यति सानो ठाउँमा यहाँको जनसङ्ख्या कम्तीमा ४० लाख रहेकाले यहाँ व्यक्तिगत दूरी कायम गर्ने सम्भावना छैन । कोरोना सङ्क्रमण समुदायमा फैलिएपछि काठमाडौँमा स्वास्थ्यप्रणाली नै अस्तव्यस्त हुने चेतावनी यसअघि नै स्वास्थ्यविज्ञहरूले दिँदै आएका छन् ।
यति सानो ठाउँ र यति ठूलो जनसङ्ख्या रहेको उपत्यकामा सरकारले एक्लैले चाहेर कोरोना नियन्त्रण हुनै नसक्ने भन्दै वरिष्ठ चिकित्सक भोला रिजालले मुलुकभर जति सङ्क्रमण छ, त्यसको आधा सङ्क्रमित काठमाडौँमा रहेकाले काठमाडौँ निकै उच्च जोखिममा रहेको बताएको खबरहबले लेखेको छ ।
आफू कोरोना सङ्क्रमित भएपछि आइतबार कोरोनालाई जितेका डाक्टर भोला रिजालले सङ्क्रमण कम गर्ने एउटै उपाय स्वास्थ्य मापदण्ड पालना गर्नु रहेको बताएका छन् । हात धुने, मास्क सही तरिकाले लगाउने, व्यक्तिगत दूरी कायम गर्ने, भीडभाडमा नजानेजस्ता कुराहरू सबैले पालना गरेको खण्डमा मात्र सङ्क्रमण नियन्त्रणमा आउने डाक्टर रिजालको अनुभव छ ।
तर काठमाडौँमा कहिल्यै पनि व्यक्तिगत दूरी कायम नभएका कारण सङ्क्रमण बढ्दै गएको र सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने डा. रिजालको भनाइ छ । कोरोनालाई जितिसकेपछि डाक्टर रिजालले आफ्नो अनुभव बाँड्दै भनेका छन्, ‘सङ्क्रमण भइसकेपछि हेलचेक्र्याइँ गर्नु हुँदैन र डराउनु पनि पर्दैन । सङ्क्रमण भएपछि पनि तातोपानी खाने, बाफ लिने गर्यौँ भने कोरोनाबाट धेरै डराउनु पर्दैन । एकले अर्कालाई इन्करेज गर्नुपर्दछ । कसैलाई फोक्सोमा समस्या भयो, सास फेर्न समस्या साधारण अक्सिजन मात्र पायो भने पनि सङ्क्रमितलाई धेरै सजिलो हुन्छ ।’