तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न स्थानीय तहहरूलाई नेकपाको आदेश

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका स्थानीय तहहरूले कोरोना महामारीको कारण देखाउँदै करोडौँ रकम हिनामिना गरेको भन्दै तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न आदेश दिएको छ ।

नेकपाका जिल्ला सेक्रेटरी श्रीजङ्गले विज्ञप्ति जारी गर्दै तीन दिनभित्र कोरोना उपचार तथा व्यवस्थापनमा भएको खर्च विवरण सबै स्थानीय तहमार्फत सार्वजनिक गर्न आदेश दिएका हुन् ।

त्यस्तै झापाका विभिन्न स्थानीय तहका निजी तथा सामुदायिक शिक्षण संस्थाहरूले तत्काल शुल्क तिर्न भनेर अभिभावकहरूलाई ताकेता गरिरहेको जानकारी प्राप्त भएको भन्दै उक्त कार्य तुरुन्तै बन्द गर्नसमेत उनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । आइतबार साँझ जारी गरिएको विज्ञप्तिमा बैङ्क तथा लघुवित्तहरूले मध्यमवर्गीय गुजारामुखी व्यवसायीहरूलाई किस्ता र ब्याजको ताकेता गरेर चर्को समस्या पैदा गरेको हुनाले उक्त काम तुरुन्तै बन्द गर्नसमेत आग्रह गर्दै अटेर गरे पार्टीको नेतृत्वमा जनताले कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला कथित कम्युनिस्ट पार्टीको माफिया सरकार राष्ट्र र जनताको जीवनलाई सङ्कटको आगोमा हालेर छट्पटाहट थोपरिरहेको छ । घरघरमा सरकारको प्रत्याभूति गराउँछौँ भन्नेहरूको लुटखसोट र बेइमानीले प्रताडित जनता वाक्कदिक्क छन् । सरकारी लुटेरा समूहको लुटले जनता प्रताडित भइरहँदा यता झापामा पनि लुटखसोटले जनता पिल्सिन पुगेका छन् ।’

नेकपाले विज्ञप्तिमा झापाका जनप्रतिनिधिहरू र अन्य निकायहरूका लुटेराहरूले गरिरहेको भ्रष्टाचार र बेथितिका विषयहरूमा निम्नानुसारका विषय गम्भीरतापूर्वक भन्न चाहन्छौँ भन्दै तीनवटा विषय यसरी प्रस्तुत गरेको छ : १. कोरोना (कोभिड १९) को उपचार र व्यवस्थापनका नाममा झापाका स्थानीय तहहरूले करोडौँ खर्च गरेका छन् जसको कुनै हिसाबकिताब छैन र व्यवहारतः कोरोना व्यवस्थापनको विषय भ्रष्टाचार गर्ने माध्यम बन्न पुगेको छ । कोरोना उपचार तथा व्यवस्थापनमा भएको खर्चको हिसाबकिताब सबै स्थानीय तहमार्फत तीन दिनभित्रमा सार्वजानिक गरियोस् । २. झापाका विभिन्न स्थानीय तहका निजी तथा सामुदायिक शिक्षण संस्थाहरूले तत्काल शुल्क तिर्न भनेर अभिभावकहरूलाई ताकेता गरिरहेको जानकारी प्राप्त भएको छ । यो कदम तुरुन्त बन्द गरियोस् । साथै निजी शिक्षण संस्थाहरूलाई सरकारी लुटेरा जनप्रतिनिधिहरूले साथ दिएर जनताको ढाड सेक्ने काम गर्न खोजिरहेका छन् । यो तुरुन्त बन्द गरियोस् । ३. बैङ्क तथा लघुवित्तहरूले मध्यमवर्गीय गुजारामुखी व्यवसायीहरूलाई किस्ता र ब्याजको ताकेता गरेर चर्को समस्या पैदा गरेको हुनाले उक्त काम तुरुन्तै बन्द गरियोस् ।

विज्ञप्तिमा भनिएको छ, ‘उल्लिखित विषयहरूमा झापाका सम्पूर्ण स्थानीय निकाय र सम्बन्धित निकायहरूलाई गम्भीर बन्न, हाम्रो पार्टीले निर्देश गरेबमोजिम तुरुन्त हिसाब सार्वजानिक गर्न र जनतालाई दुःख नदिन जानकारी गराउन चाहन्छौँ । अन्यथा हाम्रो पार्टीको नेतृत्वमा जनताले कडा कारबाही गर्ने बेहोरा यसै विज्ञप्तिमार्फत सरोकारवाला सबैमा जानकारी गरांउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :