पार्टीबाट निष्कासित चौहानलाई भौतिक कारबाही गर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले ४ वर्षअगाडि नै पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेका योगेन्द्र चौहानले पार्टीको नाम लिएर चन्दा उठाएको भन्दै कुनै पनि भ्रममा नपर्न सम्पूर्ण जनसमुदायमा अपिल गरेको छ ।

जिल्ला सेक्रेटरी माहुरीले आइतबार प्रेस वक्तव्य जारी गर्दै निज चौहानले पार्टीको नाम लिएर विभिन्न व्यवसायी, सङ्घसंस्था एवम् सरकारी कार्यालयहरूबाट जबर्जस्ती अर्थ सङ्कलन गरेको सूचना प्राप्त भएकाले यस्तो गलत कार्य नरोके चौहानलाई भौतिक कारबाही गर्नेसमेत बताएका छन् ।

विज्ञप्तिमा चौहानले ४ वर्षअगाडि नै प्रहरी प्रशासनमा आत्मसमर्पण गरेको, पार्टीेको सूचना र नेता–कार्यकर्ताहरूलाई फसाउने कामसमेत गरेकाले उनलाई साधारण सदस्यसमेत नरहने गरी उतिबेला नै कारबाही गरेको समेत बताएका छन् । विज्ञप्तिमा चौहानलगायत केही गुन्डा, सुराकी, भगौडा र लुटेराहरूले पार्टीको बदनाम गरेको भन्दै सम्पूर्ण व्यवसायी एवम् जनसमुदायलाई सचेत रहनसमेत आग्रह गरिएको छ । पार्टीको आधिकारिकताबिना जथाभाबी आर्थिक सहयोग नगर्नसमेत सेक्रेटरी माहुरीले सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :