साउन ६ गतेको सेती–महाकाली बन्द सफल बनाउन नेकपाको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डोटीले यही साउन ६ गतेका लागि घोषणा गरिएको सेती–महाकाली बन्द सफल पार्न जिल्लाबासीलाई आह्वान गरेको छ । यस्तै नेकपाले असारे विकासको व्यापक भ्रष्टाचारले जनता आक्रान्त र आक्रोशित भएको भन्दै जिल्लामा भएका सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीय सरकार भ्रष्टाचारको अखडा बनेको पनि बताएको छ ।

नेकपाका डोटी इन्चार्ज तर्कराज र सेक्रेटरी कालु पाण्डेले प्रेस विज्ञप्ति जारी गरी कोरोना भाइरस महामारीले संसारभरका मानिसहरूलाई सुरक्षित खान, बस्न र अन्य व्यवस्थापनमा समस्या भइरहेको बेला नेपालमा भने केपी–बादल कम्पनीको दुईतिहाइको मात लागेको सरकारले तीव्र ढङ्गले भ्रष्टाचार र अनियमितता गरिरहेको पनि बताएका छन् ।

नेपाली जनता महामारी र बाढीपहिरोको चपेटामा परिरहेको बेला सरकार भने बन्दाबन्दीको फाइदा उठाई मूकदर्शक भएर कमिसन, करछली र भ्रष्टाचार गरी मोटो रकम असुलीमा लागिरहेको कुरा विज्ञप्तिमा उल्लेख छ । यस्तै कुर्सी बचाउने, कमिसन कसरी खाने, भ्रष्टाचार कसरी गर्नेबाहेक सरकारको अरू कुनै काम नगरेको सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरिरहेकाले राज्यआतङ्क र गिरफ्तारीका विरुद्ध साउन ६ गतेका लागि आह्वान गरिएको सेती–महाकाली बन्दमा डोटी बन्द सफल पार्न विज्ञप्तिमार्फत सबैलाई आह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले दलाल केपी–बादल कम्पनीको गृहप्रशासनले जनसेवाको अभियानमा निरन्तर खटिरहेका हाम्रो पार्टीका नेता–कार्यकर्ताको घरघरमा छापाहान्ने, झूट्टा मुद्दा लगाउने, लखेट्ने, तर्साउनेजस्ता घिनलाग्दा कार्य गरिरहेको छ । यही असार ३१ गते पार्टी कामको सिलसिलामा रहेका हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकली ब्युरो इन्चार्ज कमरेड ओमप्रकाश पुन र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य क. गौरा धामीलाई बिनाकारण गैरन्यायिक र अमानवीय ढङ्गले गिरफ्तार गरिएको छ । हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूलाई झूट्टा मुद्दामा फसाउने राज्यको कदमप्रति घोर भत्र्सना गर्दछौँ । साथै हाम्रो पार्टी सेम ब्युरोद्वारा राज्यआतङ्क तथा गिरफ्तारीका विरुद्धमा यही साउन ६ गते गरिएको सेती–महाकाली बन्द कार्यक्रमअन्तर्गत हाम्रो डोटी जिल्लासमेत पूर्ण रूपमा बन्द गरी भ्रष्टाचारी र दलाल राज्यसत्ताका विरुद्धको सङ्घर्षमा सहयोग गरिदिन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौँ । हाम्रो पार्टीका सेम ब्युरो इन्चार्ज क. ओमप्रकाश पुनलगायत सम्पुर्ण नेता–कार्यकर्ताहरूको ससम्मान तुरुन्त रिहाइको माग गर्दछौँ । अन्यथा राज्यको उक्त दमन, धरपकड र गिरफ्तारीबाट भइपरी आउने परिणामको जिम्मेवार गृह प्रशासन स्वयम् हुनेछ ।’

विकास र राहतका नाममा भएका काममा जनता सन्तुष्ट हुने कुनै ठाउँ नभएको र कोरोना राहतका नाममा भएको भ्रष्टाचार आफ्नो पार्टीलाई स्वीकार्य नभएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी स्थापना कालदेखि नै राष्ट्र, राष्ट्रियता, स्वाधीनता, जनजीविका, महँगी, करछली, कालोबजारी, तस्करी, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारजस्ता आपराधिक गतिविधीका विरुद्ध लडिरहेको सर्वविदितै छ । यो सरकारको व्यापक भ्रष्टाचार भएको पाइएको छ । विकास र राहतका नाममा भएका काममा जनता सन्तुष्ट हुने कुनै ठाउँ छैन । कोरोना राहतका नाममा झन् बढी भ्रष्टाचार भएको छ जुन कार्य निन्दनीय र घृणित छ । गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी स्थापनाका लागि जग्गा खरिद होस् वा मुक्त हलिया व्यवस्थापनका लागि सबैतिर व्यापक अनियमितता भएको छ । त्यति मात्रै होइन, दलितहरूलाई कम्मल खरिदमा व्यापक कमिसनको चलखेल भएको पाइएको छ । यसमा नेपाल कम्युनिस्ट पार्टी डोटीको गम्भीर ध्यानाकर्षण भएको छ र जनताको पैसा जनतालाई नै फिर्ता गर्न अनुरोध गर्दछौँ । अन्यथा भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने कुराको प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :