भूमिहीन–सुकुमबासीविरोधी हर्कत नगर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले देवदह नगरपालिका वडा नं. ३ टटेराका भूमिहीन सुकुमबासी जनतालाई अन्याय हुने गरी र दोषीलाई उम्काउने गरी गरिएको जनविरोधी हर्कतप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला इन्चार्ज सङ्गमले बिहीबार प्रेस वक्तव्य जारी गर्दै उक्त घटनालाई तोडमोड नगर्न र संवेदनशील बन्न अपिल गरेका छन् । उनले टटेराबासी भूमिहीन सुकुमबासी जनतालाई राजनीतिक प्रतिशोधकै कारण सत्ता र शक्तिको आडमा जग्गामा क्षति पुर्याएको र खनजोतमा रोक लगाएपछि जिल्ला जनअदालत रूपन्देहीमा मुद्दा परेको र उक्त मुद्दामाथि अनुसन्धानका क्रममा हीराबहादुर खत्रीलगायतको समूह दोषी देखिएपछि जनअदालतले कारबाहीस्वरूप घर खाली गर्न सूचना टाँसेको बताएका छन् ।

उनले वक्तव्यमा केही राजनीतिक दलले टटेराका भूमिहीन सुकुमबासी जनतालाई अन्याय हुने गरी निज खत्रीलाई निर्दोष देखाउने र जनविरोधी हर्कत लुकाउने उद्देश्यले प्रेरित भएर असार २३ गते विभिन्न आरोप लगाउँदै गरिएको वक्तव्यबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘यो घटनालाई लिएर देवदह नगरपालिकाका केही राजनीतिक दलको नाम उल्लेख गर्दै टटेराका भूमिहीन सुकुमबासी जनतालाई अन्याय हुने गरी निज खत्रीलाई निर्दोष देखाउने र जनविरोधी हर्कत लुकाउने उद्देश्यबाट प्रेरित भएर २०७७ असार २३ गते कथित ‘स्थलगत जानकारी नलिई’ र ‘गैरराजनीतिक’ भन्दै गरिएको वक्तव्यबाजीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हामी उक्त घटनालाई तोडमोड नगर्न, घटनाप्रति गम्भीर बन्न र सचेत रहन सबै राजनीतिक शक्तिहरूमा अपिल गर्दछौँ ।’

उनले सत्य र न्यायका पक्षमा पूर्ण प्रतिबद्ध रहँदै तटेराबासी श्रमिक तथा भूमिहीन सुकुमबासी जनताले न्याय नपाउँदासम्म निरन्तर सङ्घर्ष गर्ने र जनअदालतको फैसला कार्यान्वयन हुने बताएका छन् । यसभन्दा अगाडि असार ३ गते जिल्ला जनपरिषद् रूपन्देहीका प्रमुख जीवनले उक्त घटनाप्रति गम्भीर बन्न र सम्बन्धित निकायलाई जबाफदेही बन्न अपिल गर्दै विज्ञप्ति जारी गरेका थिए । त्यसपछि जिल्ला जनअदालत रूपन्देहीका प्रमुख कमलमणिले घटनाबारे जनअदालतमा मुद्दा परेको र अनुसन्धानका क्रममा खत्रीलगायत समूह दोषी प्रमाणित भएको भन्दै असार १८ गते देवदह नगरपालिकाका मेयर हीराबहादुर खत्रीलाई १० दिनभित्र घर खाली गर्न निर्देशन दिँदै सूचना टाँसेको समाचार सार्वजनिक भएको थियो ।

सूचना टाँसिएपछि असार २३ गते देवदह नगरपालिकामा रहेका राजनीतिक दलहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नगर सचिव मनकुमार कनौजे, नेपाली काङ्ग्रेस नगर सभापति गुणखर भुर्तेल, राप्रपा नगर अध्यक्ष माधव रिमाल, राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष हरि केसी, नेकपा माओवादी (क्रान्तिकारी) ऋषिराम लामिछाने र राष्ट्रिय जनमुक्ति पार्टी देवदह अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गरेको प्रेस वक्तव्य सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :