अपहरणशैलीमा दुई विद्यार्थी नेता गिरफ्तार, तत्काल रिहाइ गर्न अखिल (क्रान्तिकारी)को माग


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनका नेताहरुको गिरफ्तारीप्रति घोर निन्दा एवंम् भत्र्सना गरेको छ । सेती–महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले आइतबार विज्ञप्ति निकाली धनगढीको जुगेडाबाट केन्द्रीय सदस्य बबरजङ्ग सिंह र कैलाली जिल्ला अध्यक्ष सुवास जोशीलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरी झुठा मुद्दामा फसाउने षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले, दलाल, भ्रष्ट केपी–बादल कम्पनीको निर्देशनमा आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर पदको दुरुपयोग गर्दै अति उत्तेजित नबन्न र कानुनको खिल्ली नउडाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गर्दै राज्यको श्वेत आतंकका विरुद्धमा उभिन सम्पूर्ण पत्रकारहरु, मानवअधिकारकर्मी, कानुनी व्यवसायी, विद्यार्थी साथीहरूलगायत सबैलाई अपिलसमेत गरेका छन् ।

संयोजक विरेन्द्र शाहले विज्ञप्तिमा भनेका छन्, ‘अहिले विश्वभरी कोरोना महामारीले महासंकट ल्याएको छ । नेपालमा पनि कोरोनाको बढ्दो संक्रमणले देशको अवस्था दयनीय बनेको छ । यस्तो जटिल परिस्थितिमा हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी)का हामी सबै नेताकार्यकर्ताहरु उच्च सतर्कता अपनाउदै आवश्यक जनसेवा सहित राष्ट्रियता, भ्रष्टाचार र जातीय विभेदका सन्दर्भमा भइरहेको संघर्षमा अगाडि बढिरहेका छौं । अर्कोतिर कथित कम्युनिस्टको खोल ओढेका केपी–बादल कम्पनीको राष्ट्रघाती र भ्रष्टाचारमा चुर्लुम्म डुबेको दलाल सरकार हाम्रो सङ्गठनमाथि कठोर दमन गरिरहेको छ ।’

संयोजक शाहले विज्ञप्तिमा भनेका छन्, ‘दलाल केपी–बादल कम्पनीका मतियारहरुले असार १३ गते साँझ ०५ बजेतिर धनगढीको जुगेडाबाट हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य बबरजङ्ग सिंह र कैलाली जिल्ला अध्यक्ष सुवास जोशीलाई अपहरण शैलीमा गिरफ्तार गरि झुठो मुद्दामा फसाउने षड्यन्त्र गरेको छ । विद्यार्थी नेताहरुमाथि गरिएको दमनप्रति घोर निन्दा र तिव्र घृणा व्यक्त गर्दछौं । शान्तिपूर्ण रुपमा भेला, सम्मेलन र विरोध प्रदर्शन गर्न पाउने मौलिक हक र मानवअधिकारका सम्पूर्ण मुल्यमान्यताहरुलाई लत्याउदै कलम बोक्ने विद्यार्थी नेताहरुलाई जबर्जस्ती बन्दुक बोक्न बाध्य बनाउने राज्य र त्यसका सुरक्षा निकायको रवैया घिनलाग्दो छ ।’

विरेन्द्र शाहले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘दलाल, भ्रष्ट केपी–बादल कम्पनीको निर्देशनमा आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर पदको दुरुपयोग गर्दै अति उत्तेजित नबन्न र कानुनको खिल्ली नउडाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गर्दछौं । राज्यको श्वेत आतंकका विरुद्धमा उभिन सम्पूर्ण पत्रकारहरु, मानवअधिकारकर्मी, कानुनी व्यवसायी, विद्यार्थी साथीहरू लागायत सबैमा हार्दिक अपिल गर्दछौं ।’

संयोजक शाहले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘साथै गिरफ्तार गरिएका विद्यार्थी नेता साथीहरूको निसर्त र स–सम्मान रिहाईको जोडदार माग गर्दछौं । अन्यथा दलाल सरकार र त्यसका मतियारहरुका विरुद्धमा प्रतिरोध संघर्ष गर्ने कुरा यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :