ओम हमाल / पोखरा, असार २४ : मुलुकमा चलेको दशवर्षे जनयुद्धकाकारण मुलुकमा गणतन्त्र स्थापना भयो । तर त्यही गणतन्त्र स्थापनाका लागि सहिद तथा वेपत्ताहरुको उचित सम्मान भएको छैन । पीडित परिवारहरुको विचल्ली छ । पीडित परिवारले आफ्ना वेपत्ता आफन्त भेटि पो हाल्छ कि भनेर आश मारेका छैनन् । उनीहरु आफन्तको खोजीमा कहिले सिंहदरबार गेटमा पुगेर नाराबाजी गर्छन, कहिले उनीहरु त्यही जनयुद्धका सर्वोच्च कमाण्डर अनि जुनसत्ताको विरुद्ध सशस्त्र युद्ध गरिएको थियो । अहिले त्यही सत्ताको लगाम हातमा लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफन्त खोजि गरिदिन भन्दै रुवाई कराई गर्छन । त्यतवेलाका सर्वोच्च कमाण्डर प्रचण्ड, जसको आदेशमा आफ्ना परिवारले दिलो ज्यानदिएर युद्धमा होमिए, उनी वेपत्ता पारिएका आफन्त खोजिदेऊ भन्दा उल्टै लाठी र गोली हान्छन् ।
आफन्तको खोजीमा अवाक भएका सहिद तथा वेपत्ताका परिवारले वेपत्ता आफ्ना परिवारको खोजीको लागि एउटा उपाय निकालेका छन् । पोखराको सहिदचोकस्थित सार्वजनिक स्थलमा रहेको सहिद पार्कमा आफ्ना वेपत्ता परिवारको फोटो, बेपत्ता मिति र स्थान उल्लेख गरेर एउटा ठूलो होर्डिङ बोर्ड राखेका छन् । उनीहरुले त्यस बोर्ड यस्तो ठाउँमा राखेका छन, जहाँबाट दैनिक सयौं विदेशी तथा स्वदेशी पर्यटकहरु आवतजावत गर्छन् । त्यही होर्डिङ बोर्ड अगाडि र वरपर सुरक्षा निकायको नेतृत्व गरिरहेका पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, पोखरा, जिल्ला प्रशासन कार्यालय, गण्डकी अञ्चल प्रहरी कार्यालय, पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय, सशस्त्र प्रहरी गुल्म, वडा प्रहरी कार्यालय बैदाम, सशस्त्र प्रहरी कार्यालय मुक्तिनाथ बाहिनी, प्रहरी गण र राष्ट्र बैंकको सुरक्षार्थ खटिएको नेपाली सेना तैनाथ छन् । न्यायिक निकायहरु जिल्ला अदालत र उच्च अदालत पनि त्यही क्षेत्रमा रहेका छन् । सहिदपार्कमा राखिएको त्यस बोर्डमा राज्यलाई सोधिएको छ, “यी नागरिकहरु कहाँ छन् ?”