अदालतको आदेशपछि ६ दलमा खुशी / ब्यावसायीले अधिकार नपाएसम्म एक भएर अघि बढ्ने !

 

काठमाडौं /  असार २४  : उच्च अदालत पोखराले नेपाल वायु सेवा निगमद्वारा जारी गरिएको सस्तो बजार खाली गर्ने ७२ घण्ठा अवधी स्थगित गरेकोमा पोखरामा त्रियाशील ६ राजनीतिक दलहरुले खुशी प्रकट गरेका छन् । उनीहरुले अधिकार प्राप्त नभएसम्म आफूहरु एक भएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी, नयाँ शक्ति नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरम लगायतका पार्टीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवं गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ ले रकमको प्रलोभनमा परेर केही राजनीतिक पार्टीका नेताहरुले २ सय १७ जना साना व्यावसायीहरुको पेटमा लात्तो हान्न खोजेकाले सामूहिक रुपमा प्रतिवाद गर्न खोजिएको बताउनु भएकी छन् । उनले दलालहरुविरुद्धको यस संघर्षलाई निर्णायक तहमा पु¥याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएकी छन् ।

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य रामजी थापा, नयाँ शक्ति पर्टिी कास्कीका संयोजक हेमबहादुर थापा, नेकपा (माले)का केन्द्रीय सदस्य टेकनाथ भण्डारी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी र संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामकाजी चर्माकारले आफ्नो वर्गको हितका लागि सबै व्यवसायी गोलबन्द भएर एकीकृत रुपमा दलालहरुका विरुद्ध लडाई लड्नुपर्ने आवश्यकता औंल्याएका थिए ।  यसैबीच तिनै ६ राजनीतिक दलहरुले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी पोखरा सस्तो बजारको समस्या समाधान गर्नका लागि संवेदशनशील बन्न सम्बन्धित पक्षलाई आह्वान गरेका छन् । उनीहरुले आफ्नो संयुक्त विज्ञप्तिमा, “तालाबन्दीबाट बजारभित्र रहेका करोडौं मूल्य बराबरको दैनिक उपभोग्य वस्तु पूरै सडेर बजारक्षेत्रमा दुर्गन्ध र प्रदुषण फैलिएको, दैनिक श्रमको भरमा जीवन निर्वाह गर्दै आइरहेका २ सय १७ जना व्यवसायीहरुको अवस्था भयावह र चिन्ताजनक अवस्थामा पुगेको” उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :