भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न मिडियालाई नेकपाको आग्रह, नागरिकको सुरक्षा गर्न एसएसपी राईलाई निर्देशन


काठमाडौँ : नेकपा ललितपुरले प्रेस विज्ञप्ति प्रकाशित गर्दै लामो केही मिडियाले समयदेखि पार्टी सम्पर्कमा नरहेका श्याम बज्राचार्यलाई नेकपाका नेता बम विस्फोट गर्न लाग्दा पक्राउ परेको भनी भ्रमपूर्ण समाचार प्रसारण गरेकाले त्यसो नगर्न सुझाव दिँदै एसएसपी टेकप्रसाद राईलाई जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकार हनन गर्ने, नागरिकको चरित्रहत्या गर्नेखालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन गर्दै अनावश्यक खानतलासी गर्ने, घर घेर्ने, धरपकड गर्ने तथा शारीरिक–मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन दिएको छ ।

पार्टी सेक्रेटरी विदुषीले जारी गरेको विज्ञप्तिमा बम विस्फोट गर्न लाग्दा समातिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कतै जिल्ला सदस्य भनी सम्प्रेषण गरिएका समाचार पूर्ण रूपमा झूटो रहेको अवगत गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यति बेला मानव जातिको अस्तित्वलाई नै सङ्कट पार्ने गरी तीव्र रूपमा कोरोना भाइरस (कोभिड १९) को महामारी विश्वभरि फैलिएको छ । यसको महामारीबाट नेपाल पनि चरम जोखिममा रहेको छ । यो महामारीमा मानवीय संवेदनालाई ध्यानमा राख्दै हाम्रो पार्टी केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गरी पार्टीका नेता–कार्यकर्ताहरूलाई ठूला सङ्घर्षका सम्पूर्ण कामहरू रोकी देशको रक्षा र जनताको सेवामा लाग्न निर्देशन गरेको कुरा विदितै छ । यो महामारीमा जनताको उचित व्यवस्थापन, रोगको रोकथाम तथा जनताको स्वास्थ्य अवस्थाको जाँचभन्दा पनि केपी–पीके सरकार हाम्रो पार्टीका नेता–कार्यकर्ताको निगरानी र धरपकडमा लागिपरेको छ र कथित मिडियाहरू पनि भ्रामक समाचारहरूको सम्प्रेषण गर्ने होडबाजीमा छन् ।’

विदुषीको विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७–२–३० र ३१ गते लगातार मिडियहरूमा आइरहेको समाचार ललितपुुर जिल्ला बङ्गलामुुखी मन्दिर नजिकबाट पक्राउ परेका श्याम बज्राचार्यको समाचारले हाम्रो पार्टी जिल्ला समिति ललितपुुरको ध्यान आकर्षित भएको छ । बम विस्फोट गर्न लाग्दा समातिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कतै जिल्ला सदस्य भनी सम्प्रेषण गरिएका समाचार पूर्ण रूपमा झूटो रहेको कुुरा पनि अवगत गराउँछाैँ । श्याम बज्राचार्य विगत लामो समयदेखि हाम्रो पार्टीको सम्पर्कमा नरहेको कुुरा पनि अवगत गराउँछौँ । साथै रातो पार्टीलगायत मिडियाहरूलाई भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरी मानवअधिकारको हनन नगर्न साथै साँचोसत्य समाचारको जडसम्म पुुगी स्वतन्त्र नागरिकलाई अन्याय हुन नदिन मद्दत गर्न अनुरोध गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी केपी सरकारका मतियार एसएसपी टेकप्रसाद राईलाई पनि जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन गर्ने, नागरिकको चरित्रहत्या गर्नेखालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा, एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन गर्दै अन आवश्यक खानतलासी गर्ने, घर घेर्ने, धरपकड गर्ने तथा शारीरिक–मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन गर्दछौँ । साथै देशको रक्षा र जनताको सुुरक्षामा लाग्न निर्देशन गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :