माक्र्सवादी संस्कृतिकर्मी अनिल शर्मा ‘विरही’ को गिरफ्तारीको चौतर्फी भत्र्सना, अधिकारकर्मी र पत्रकारको टोली अस्पतालमा

प्रहरी घेराबन्दीमा जनपक्षीय कलम

रातो खबर साप्ताहिकका निर्देशकसमेत रहेका नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ यतिबेला हतियारधारी प्रहरीको घेराबन्दीमा अत्यन्त जटिल रोगको उपचार गराइरहेका छन् । विरही सुगरका दीर्घरोगी हुन् । उनलाई दैनिक इन्सुलिनसहितका धेरै औषधी लिनुपर्छ । केही वर्षअघि मोटरसाइकल दुर्घटनामा परी शरीरका ठाउँठाउँका हड्डीसमेत भाँच्चिएर शारीरिक रूपमा कमजोर अवस्थामा रहेका विरही फेरि भ¥याङबाट लडेर भित्री हड्डीहरू भाँचिएको अवस्थामा चितवनको पुरानो मेडिकल कलेजमा उपचार गराउन गएको समय पारेर प्रहरीले मङ्गलबार गिरफ्तार गरेको छ । मानवअधिकारकर्मी, पत्रकारलगायत टोलीले बुधबार अस्पताल पुगेर विरहीको स्वास्थ्यअवस्थाका बारेमा चासो राखेको छ । नारायणी दैनिक, एभिन्युज टेलिभिजन, अधिकारकर्मीहरूका तर्फबाट प्रकाश ज्ञवालीसहितको टोली अस्पताल पुगेर विरहीको अवस्थाका बारेमा जानकारी लिएर फर्किएको जानकारी पारिवारिक स्रोतले दिएको छ । भर्याङबाट लडेपछि ढाडमा गम्भीर दुखाइका कारण अस्पताल ल्याइएका विरहीको ढाडको हड्डी फुटेको, एक्स–रेलगायत अध्ययन र उपचार सुरु गरिएको र अत्यधिक सुगरका कारण पिसाब नरोकिएको अस्पताल स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार गम्भीर बिरामी विरहीलाई हतियारधारी प्रहरीले घेराबन्दी गरिरहेका छन् ।

माक्र्सवादी संस्कृति, साहित्य र सौन्दर्यमा गहन रुचि र दखल भएका नेता विरही पछिल्लो समयमा लेखन र माक्र्सवादी दर्शनको अध्ययन र प्रचारप्रसारमा क्रियाशील छन् । सख्त बिरामी अवस्थामा उपचारका लागि अस्पतालमा गएको समयमा भएको उनको गिरफ्तारीलाई देशभरका बौद्धिक, सांस्कृतिक तथा राजनीतिक वृत्तबाट गहिरो चिन्तासहित आपत्ति जनाइएको छ र शीघ्र रिहाइको माग गरिएको छ ।

विरहीको गिरफ्तारीप्रति सबैभन्दा बढी बौद्धिक वृत्तबाट चिन्ता, चासो र विरोध प्रकट भएको छ । सामाजिक सञ्जालहरूमा विरहीको गिरफ्तारीको विरोध गर्दै उनको स्वास्थ्य र सुरक्षाप्रति अत्यधिक चासो र चिन्ता व्यक्त गरिएको छ । विरहीको गिरफ्तारीको विरोध गर्दै चिन्ता गर्नेमा सरकारी पार्टीसँग सम्बन्धित वाम बौद्धिक व्यक्तिहरू पनि छन् ।

सरकारी नेकपासँग सम्बन्धित संस्कृतिकर्मी एवम् लेखक नारायण शर्मा कमलप्रसादले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् : हे सरकार ! यी मनुवालाई हान्ने होइन, बरु जान्ने र मान्ने गर ! यी त हाम्रो माओवादी जनयुद्धका प्रेरणाको स्रोत सर्वहारा श्रमिक सङ्गठनका बीउ अनिल विरही हुन् ! भोकानाङ्गा जनताको ऐतिहासिक जुगेडी–जुटपानी सङ्घर्षका हिमायती विगतका आफ्नै सहयोद्धा पो हुन् ! सशक्त क्रान्तिकारी बुद्धिजीवी, सङ्गठक, लेखक, कवि, साहित्यकार पनि हुन् ! हुनत चितवनकै गृहमन्त्री, चितवनकै गृहमन्त्रीका प्रमुख सल्लाहकारलाई मलाईभन्दा बढी थाहा होला !? तैपनि यो सोच्नैपर्छ कि उनलाई बन्दुक समाएको बेला पक्रेका हौ कि कलम समाएको बेला ? कलमदेखि डराएर समाजवाद–साम्यवादका लागि लड्नेलाई गिरफ्तार गर्नेले के परिवर्तन, क्रान्ति र मुक्ति गर्न सकौला र देशलाई समाजवाद दिन सकौला ? बनको बाघले खाओस् कि नखाओस् मनको बाघले खाँदैछ कि क्या हो तिमीलाई ? तुरुन्त, बिनासर्त रिहा गर ! बरु यिनीहरूमार्फत वार्ताको वातावरण बनाऊ । वार्ता गरी सहकार्य गर । समाजवाद ल्याउने हो भने त्यसैमा साथ लगाऊ !

नारायण शर्मा कमलप्रसाद यो सरकार र सरकारी पार्टीका बौद्धिक कार्यकर्ता पनि हुन् । उनी नाउँमा कम्युनिस्ट लागेको सरकारी पार्टीका स्कुलिङ विभाग पनि हेर्छन् र बेलाबेला आलोचना पनि गरिरहेका हुन्छन् । सरकारी पार्टीका नेतालाई नै नपच्ने कार्य सरकारले किन गर्यो होला, यो सबैलाई चासोको विषय बनेको छ ।

यसैगरी आलोचक तथा वाम बौद्धिक व्यक्तित्व पत्रकार नरेन्द्रजङ्ग पिटरले सामाजिक सञ्जाल फेसबुकमा दार्शनिक भोल्तेयरको वाणी उद्धृत गर्दै लेखेका छन् : ‘हुनसक्छ, म तिम्रो विचारसँग असहमत हौँ तर विचार प्रकट गर्ने तिम्रो अधिकार रक्षा भने गर्नेछु ।’

कार्ल माक्र्सको २०३ औँ जन्मजयन्तीका दिन ‘माक्र्सवादी’ सरकारले माक्र्सवादी अभियन्ता र लेखक अनिल सर्मा ‘विरही’ लाई उपचारक्रममा अस्पतालबाट गिरफ्तार गर्यो । असहमतिको गिरफ्तारी निन्दा गर्दै विरहीको रिहाइको माग गर्दछु ।

दुनियाँलाई थाहा छ, विरही एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेकपाका नेता हुन् । उनी नेकपाका केन्द्रीय सदस्य पनि हुन् र नेकपाको प्रचारप्रसार विभागका इन्चार्ज तथा रातो खबरका निर्देशक हुन् । लेखन उनको धर्म हो । लेखेकै आरोपमा उनीमाथि सरकारले आग्रह राखेर डन्डा चलाएको छ । यो निन्दनीय र भत्र्सनायोग्य छ ।

वरिष्ठ पत्रकार निमकान्त पाण्डेले सामाजिक सञ्जालमा पटकपटक विरहीको गिरफ्तारीको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन् । उनले लेखेका छन् : युद्धविराम घोषणा गरेर कोरोनाविरुद्ध कार्यरत विप्लव नेतृत्वका नेता–कार्यकर्तालाई धरपकड गर्नु सरकारको नियत ठीक हो त ?

सरकारलाई सुझाव ! विप्लवहरू युद्धविराममा छन् । यो बेला धरपकड होइन, संवाद गर ! देशमा शान्ति कायम गर !
थुक्क ! पार्टीले युद्धविराम गरेको छ । कार्यकर्ता जनसेवामा जुटेका छन् । नेता लडेर उपचारार्थ अस्पताल पुगेको बेला सरकारबाट गिरफ्तार ?

पाण्डेले सरकारलाई देशमा शान्ति कायम गर्न पनि युद्धविराम गरेर जनसेवामा जुटिरहेको पार्टी नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरेर राम्रो नगरेको सन्देश पनि दिएका छन् ।

ललितकलाकर्मी एवम् स्रष्टा खगेश्वर भण्डारीले सामाजिक सञ्जालबाटै भनेका छन् : कलम चलाउनेहरूमाथि एकपछि अर्को आक्रमणले यो सरकार वास्तवमै कलमविरोधी सरकार हो । साहित्यकार अनिल शर्माको गिरफ्तारी सरकारको कायरता हो । यथाशीघ्र रिहा गरियोस् ।

त्यसैगरी अखिल नेपाल ललितकलाकर्मी सङ्घका अध्यक्षसमेत रहेका कलाकार एवम् कवि अग्निराज पौडेल ‘अराप’ ले भनेका छन् : रातो खबर साप्ताहिकका निर्देशक, लेखक तथा बुद्धिजीवी अनिल शर्मा ‘विरही’ लाई बिनासर्त ससम्मान रिहा गरियोस् ।

राजनीतिकर्मी रूपा महर्जनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् : यस्तो दिन पनि आउँदो रहेछ । ‘विप्लव समूह’ का पोलिटब्युरो सदस्य आदरणीय नेता दाजु अनिल शर्मा ‘विरही’लाई बिनासर्त तत्काल रिहा गरियोस् । उपचारार्थ अस्पताल जाँदा गिरफ्तारीमा पर्नुभएका उहाँ लामो समयदेखि मुटुलगायत अनेकन रोगले ग्रस्त हुनुहुन्छ । उहाँको स्वास्थ्यमा विशेष ध्यान दिइयोस् ।

सरकारमा कम्युनिस्ट नाम गरेको पार्टी छ । गृहमन्त्री हिजो वैद्य नेतृत्वको पार्टी बन्दासम्म सहकार्य गरेका मानिस छन् तर बिरामी परेर अस्पतालमा उपचार गराइरहेको बेलामा नेकपाका नेता एवम् संस्कृतिकर्मी अनिल शर्मा गिरफ्तार हुन्छन् । यो घटना सामान्य मानिसका लागि पनि सह्य भएको देखिँदैन । सरकारी पार्टीमै आबद्ध लेखक केशव पुडासैनी विमलले आफ्नो स्टाटसमा लेखेका छन् : अनिल शर्मा ‘विरही’ हुन् एउटा लेखक, सहित्यकार । राजनीतिक आस्था र सक्रियता त सबैको हुन्छ । भर्याङबाट लडेर हात भाँचिएपछि अस्पतालमा उपचारका लागि जाँदा गिरफ्तारीमा पर्छन् । कोरोनाको कहर एकातिर, अर्कोतिर आफैँ घाइते–बिरामी ! मानवीय समवेदना कमजोर देखियो । तुरुन्त रिहा गरियोस् !

त्यस्तै सरकारी नेकपासँगै सम्बन्धित युवा किरण केशवले आफ्नो स्टाटसमा लेखेका छन् : यो राज्य पनि के गर्छ, यत्रो महामारीको बेला ध्यान कोरोनातिर दिनुपर्नेमा राज्यका लागि लड्दालड्दै आफ्नो बारेमा खासै ख्याल नगर्ने मानिस आज बिरामी भएर उपचार गर्न जाँदा गिरफ्तार गर्ने ! राज्य, उनको उपचारको व्यवस्थासहित निःसर्त रिहा गर । बिरामीको उपचार गर्नुपर्नेमा उल्टै गिरफ्तारी ! बादल दाइ, पथिक दाइ, ध्यान दिनुपर्यो । सँगै हुँदा लेखेर हैरान पार्ने, लु खा भन्नु भएन है !

किरण केशवले चाहिँ हिजो प्रचण्ड समूह, वैद्य समूहमा रहँदा भएका अन्तरविरोधहरूतर्फ पनि सङ्केत गर्दै बिरामी मानिसलाई गिरफ्तार गर्नु अमानवीय हो भन्ने स्पष्ट पारेका छन् ।

पूर्वकर्मचारी एवम् बुद्धिजीवी महादीप पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् : बादल दाइ, पथिक दाइहरूले चितवनको पार्टी कार्यालय बिक्रीप्रकरणको रिस उतारेका हुन् कि ?? पक्राउ निन्दनीय छ, रिहा गर !!

हिजो एउटै पार्टीमा हुँदाका अन्तरविरोध र भिन्न पार्टीमा हुँदाका सङ्घर्षहरू जेजस्तो भए पनि रिस फेरेर बिरामी अवस्थाको मानिसप्रति अमानवीयपन देखाउनु हुँदैन भन्ने पोखरेलको सङ्केत देखिन्छ ।

यसैगरी पत्रकार सुशील गौतमले लेखेका छन् : माक्र्सजयन्तीकै दिन हाल बिरामी रहेका माक्र्सवादी बुद्धिजीवी अनिल विरहीलाई सरकारले अस्पतालको गेटबाट गिरफ्तार गरेछ । महामारीको यस्तो बेला त खुला हिंसात्मक युद्धमा पनि युद्धविराम गर्ने बेला हो सरकार ! थोरै विवेक त देखाऊ !

सरकार विवेकहीन बन्दै गएको भन्दै पत्रकार गौतमले सरकारी रबैयाको निन्दा गरेका छन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले भनेका छन् : सत्तास्वादको मातले पागल भएको दलाल फासिवादी वली सरकार, कमरेड अनिल शर्मा ‘विरही’ लाई तु रिहा गर !!

उनले सरकारका कदमहरू फासिवादी रहेको र फासिवादी सत्ताको स्वादले मात्तिएर विरहीलाई गिरफ्तार गरिएको प्रस्ट पारेका छन् ।

रिजन जीटीएम भन्ने फेसबुक प्रयोगकर्ताले भनेका छन् : सिमाना सुरक्षामा खटिएका नेपालका प्रहरीलाई कुटपिट गर्ने भारतीय अपराधीहरूलाई केही गर्न सकेको छैन तर देशको स्वाधीनता र उत्पीडित जनताको न्याय र मुक्तिको नारा लगाउने अनिल शर्मा ‘विरही’ लाई स्वास्थ्य उपचारको प्रक्रियामा गिरफ्तार गर्ने काम गरिनु वली र यो गृह प्रशासनको निन्दनीय कार्य हो । यति बेला सबै मिलेर कोरोना भाइरसको महामारीविरुद्ध लड्ने बेलामा कुनै पनि राजनीतिक नेतृत्वलाई गिरफ्तार गर्ने कार्य सुझबुझपूर्ण हुनै सक्दैन । अनिल शर्मा ‘विरही’लाई तत्काल रहा गर !

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का युवानेता नरायण शर्मा विपीनले लेखेका छन् : अनिल शर्मा ‘विरही’ लाई भरतपुरको पुरानो मेडिकल कलेजबाट उपचारका क्रममा पुलिसले नियन्त्रणमा लिएको समाचार प्राप्त भएको छ । विप्लव नेतृत्वको नेकपाका गिरफ्तार नेता शर्मालाई राजनीतिक व्यावहार र उचित स्वास्थ्योपचारको व्यवस्था होस् । एक लेखक, स्रष्टा र राजनीतिककर्मी शर्मालाई बिनासर्त रिहा गरियोस् ।

शर्माले राजनीतिक पार्टीका नेता–कार्यकर्तालाई सरकारले राजनीतिक व्यवहार नगरेको प्रति पनि सङ्केत गरेका छन् । त्यसैगरी सोही पार्टीकी नेत्री अम्बिका मुडभरीले भनेकी छिन् : मुलुक यस्तो संवेदनशील अवस्थाबाट गुज्रिरहेको बेला एक राजनीतिककर्मी, सर्जक, साहित्यकारलाई अस्पतालको बेडबाट गिरफ्तार गर्नु सरकारको विवेकहीन निर्णय हो । उचित उपचार र तत्काल रिहा गरियोस् । राजनीतिक कार्यकर्ताहरूलाई गरिएको धरपकड बन्द गर ।

नेत्री मुडभरीले कोरोना भाइरसको सङ्क्रमणले मुलुकलाई गाँजिरहेको अवस्थासमेत देखाउँदै भिन्न विचारका राजनीतिक पार्टीका नेता–कार्यकर्ताप्रति सरकारले गरेको असहिष्णु व्यवहार क्षम्य नहुनेतर्फ पनि इङ्गित गरेकी छिन् ।

त्यस्तै सिर्जन अविरलले लेखेका छन् : चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गिरफ्तारमा पर्नुभएका जनताका प्रिय लेखक अनिल शर्मा ‘विरही’ (विप्लव नेतृत्वका पोलिटब्युरो सदस्य) लाई बिनासर्त रिहा गरियोस् । विरही निवर्तमान पोलिट्ब्युरो सदस्य र वर्तमानमा केन्द्रीय सदस्य रहेको थाहा नपाएको भए पनि सिर्जनले राजनीतिक आग्रहमा गिरफ्तार भएका नेता विरहीलाई रिहा गर्न सरकारले कुनै सर्त राख्नु हुँदैन भन्नेतर्फ सङ्केत गरेका छन् ।

स्थापित माक्र्सवादी युवाकवि रसुवाली कविले ‘रसुवामा दुखिरहेको कर्णाली’ शीर्षकको अनिल शर्माको पुस्तकको आवरण पृष्ठसहित राखेर सामाजिक सञ्जालमा लेखेका छन् : शान्तिप्रक्रियापछि रसुवामा नयाँ इन्चार्ज आउने कुरा भयो । नयाँ इन्चार्ज वैचारिक रूपमा तिखा मान्छे हुन् । एक दिन अहिले डब्बल नेकपातिर जग्गा व्यवसाय गर्ने एक कमरेडले भनेका थिए– झोलामा प्रायः किताब र डायरी बोकिहिँड्ने ती थिए– अनिल शर्मा ‘विरही’ । चितवन घर । तराईको किसान विद्रोह गर्दै रूपलाल समूह छोडेर जनयुद्धमा सहभागी भएका । धारापानीको एक घरमा ढिँडो र साग खाँदै गर्दा उनीसँग भेट भएको थियो । उनले सोधेका थिए, तपाईंले युवाहरूको गीत पढ्नुभयो ? मैले जबाफमा भनेको थिएँ– धेरै सन्दर्भहरू बुझ्न सकिनँ । पढ्नचाहिँ पढियो ।

त्यतिबेला कमरेडहरूका झोलामा प्रायः किताब नै हुन्थे । कसैको झोलामा प्रचण्डको सङ्कलित रचना र कसैको झोलामा बाबुरामको अर्थतन्त्रको आँखीझ्यालबाट । विरहीका झोलामा भने केही फरक खालका साहित्यिक महत्वका पुस्तकहरू हुन्थे । जनादेश र जनदिशाचाहिँ अनिवार्य हुन्थे । उनी जिल्लामा रहँदा वैचारिक पत्रिका नयाँ प्रवाहको प्रकाशन सुरु भयो । चिलिमे जलविद्युत्को सेयर जनताले पनि पाउने वातावरण मिल्यो । प्रायः जनतालाई चिलिमेको सेयरले आर्थिक रूपमा सबल बनायो । चुनावमा पार्टीले राम्रै सफलता पनि हासिल गर्यो । विरहीले यहीँ बसेर लेखेको पुस्तकले रसुवा जिल्लालाई चिनाउने काम गर्यो । हो उनी लेखक, चिन्तक सिर्जनात्मक क्षमतासहितका नेता हुन् । शारीरिक रूपमा बिरामी विरहीलाई तत्काल रिहा गर्न जरुरी छ ।

अनिल शर्मा विरही नेकपाका नेता त हुन् नै उनी स्रष्टा व्यक्तित्व पनि हुन् । जनपक्षीय स्रष्टाले समग्र भूगोल र भावनाको प्रतिनिधित्व गर्छ । टर्कीको जेलमा आमरण अनशन बसेकी स्रष्टा हेलिन बोलेकका पक्षमा संसार नै जुरुक्क उठेको सन्दर्भ सायद केपी, पीके र रामबहादुरमण्डलीलाई थाहा छैन होला । एउटा माक्र्सवादी संस्कृतिकर्मीलाई बिच्क्याउनुको अर्थ सरकारको मात्र होइन, सत्ताकै दिनगन्ती सुरु हुनु हो । तसर्थ तिम्रो विवेकको एउटा मात्र नसा खुला छ भने विरहीलाई तत्काल रिहा गर र माफी माग सरकार !

अन्त्यमा मार्टिन निमोरको यो कविताका साथ सबै स्रष्टा, संस्कृतिकर्मी र आफूलाई कम्युनिस्ट भनेर दाबी गर्नेहरुलाई अनिल शर्मा विरहीको गिरफ्तारीका विरुद्ध आवाज उठाउन आह्वान गर्छु :

पहिले उनीहरू समाजवादीलाई लिन आए
म बोलिनँ
किनकि
म समाजवादी थिइनँ
उनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए
म बोलिनँ
किनकि
म ट्रेड युनियनकर्मी थिइनँ
उनीहरू जुजलाई लिन आए
म बोलिनँ
किनकि
म जुज थिइनँ
जब उनीहरू मलाई लिन आए
मेरा लागि बोल्न बाँकी कोही थिएन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :