भित्री कथा खोतल्ने कि छोपछाप गर्ने ?

भरतपुर कोरोना अस्पताल चोरीकाण्ड


काठमाडौँ : चितवन जिल्लाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ को चोरीकाण्डले चितवनको चिकित्सा र भरतपुर महानगरका भ्रष्टाचार र विकृतिका अनेक पक्षहरूलाई उद्घाटन गरिदिएको छ ।

प्रचारमोह र भ्रष्टाचारप्रेरित भएर ७२ घन्टाभित्र निर्माण गरिएको भनिएको उक्त अस्पताल एक महिना पनि पूर्वतत् स्थान र स्वरूपमा चल्न नसक्नुले सम्बन्धित पक्षको हविगत उदाङ्गो भएको छ । भरतपुर कोरोना विशेष अस्पतालका निडल, भ्याक्सिन, पङ्खा, पीपीईलगायत सामग्री चोरी भएको भिडियो फुटेज डाक्टरहरू सुलभ सुवेदी, सुदीप पौडेल, नर्स सम्झना गिरीलगायतले पत्रकार सुभास पण्डितलाई उपलब्ध गराएका र पण्डितले सार्वजनिक गरिदिएको आरोपितहरू बताउँछन् । चितवनमा कमजोर रहेको केपी वली गुटका पत्रकार सुभास पण्डित, वली गुटकै विजय सुवेदी भरतपुर अस्पतालको सञ्चालक समिति अध्यक्ष हुँदा सूचना अधिकृतका रूपमा हुँदै नभएको कृत्रिम पद सिर्जना गरी जागिर ख्वाइएका थिए । विजय सुवेदीको बहिर्गमनसँगै जागिर खोसिएका पण्डितले प्रचण्ड–नेपाल पक्षसँग बदलाभाव साँचेको प्रचण्ड पक्षको दाबी छ ।

चितवन उद्योग सङ्घको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण भएको भरतपुर कोरोना विशेष अस्पताल भरतपुर महानगरपालिकाकी भ्रष्टाचारी मेयर (राजनीतिक भ्रष्ट आचरण पनि भ्रष्टाचार नै हो) रेणु दाहाल अध्यक्ष र डा. भोजराज अधिकारी सदस्यसचिव भै सञ्चालन भएको थियो । प्रचण्डपुत्री दाहालको चाकरी गरेका कारण अधिकारी हाल भरतपुर अस्पतालको सञ्चालक समिति अध्यक्ष नियुक्त भएका छन् । पार्टीमा कुनै योगदान नभएका, निजी अस्पताल (पुष्पाञ्जली अस्पताल) का मालिक अधिकारीलाई भरतपुर अस्पतालको जिम्मेवारी सुम्पिएपछि पार्टीमा अन्तरविरोध झन् बढेको छ ।

कोरोना अस्पतालमा कार्यरत चिकित्सकहरूलाई आवासको व्यवस्था गरिएको थियो जसअनुसार डाक्टरहरू सुदीप पौडेल, सुलभ सुवेदी, अहेव सञ्जय बराल र एचए फणिन्द्र खनाललाई नारायणगढस्थित गंगोत्री होटेलमा बासको व्यवस्था गरिएको थियो । केही दिनमै सञ्जय बराल र फणिन्द्र खनाल भरतपुर चौबिसकोठीस्थित ग्लोबल होटेलमा सारिए । एकै ठाउँमा बस्दा चोरीकार्यमा असहज हुने भएकाले मेयर दाहाल र अस्पताल सञ्चालन समितिका अध्यक्ष भोजराज अधिकारीको योजनामा ग्लोबल होटेलमा सारिएको काङ्ग्रेसको आरोप छ । आरोपितहरूले भने सुदीप पौडेल र सुलभ सुवेदी मदिरापान र यौनदुराचारमा संलग्न भएकाले आफूहरूले माग गरेर बास परिवर्तन गरेको आरोप लगाएका छन् ।

हेटौँडाबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका कागजात नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ । आरोपित सञ्जय बराल, सूर्य तिवारी र फणिन्द्र खनाललाई निलम्बन गर्न काङ्ग्रेस समर्थक कर्मचारी सङ्गठनले माग गरेको छ भने सत्तारूढ पार्टीको भ्रातृ सङ्गठनले चोरीकाण्डका आरोपितको बचाउ गरेको छ । घटनाको छानबिन चलिरहेको बेला भरतपुर अस्पतालको सञ्चालक समितिका अध्यक्ष अधिकारीले भने अस्पतालको सामग्री चोरी नभएको दाबी गरेका छन् । उता चोरी गरिएको भनिएका सामग्री महानगरपालिकाको सवारी साधनमा ओसारिएको देखिन्छ । त्यसरी सञ्चालक समितिका अध्यक्ष र मेयरको भूमिका पनि सन्देहास्पद देखिन्छ । आरोपितमध्येका सञ्जय बरालले यसअघि अस्पतालद्वारा सञ्चालित नर्सिङ होस्टेलका ग्याँस सिलिन्डर, पङ्खा, भाँडाकुँडासमेत आफ्नो घरमा लग्ने गरेको आरोप अस्पतालका पुराना कर्मचारी बताउँछन् । रेणु दाहालसँग निकट भएर सङ्गठनमा हालीमुहाली गर्ने गरेको गुनासो पीडित सङ्गठनका सदस्यको रहँदै आएको थियो । बराल अस्पतालमा नबस्ने, हाजिर गरेर तलब बुझ्ने, पार्टी कार्यालयमा रहने गर्दै आएका थिए । अख्तियारले छानबिन सुरु गरेकाले आरोपितलाई सार्वजनिक टिप्पणीमा नउत्रन सीडीओ र अध्यक्ष अधिकारीले सुझाएको बुझिएको छ ।

यो काण्डका पर्दापछाडिका खेलाडी काङ्ग्रेस कार्यकर्ता डा. अनिलविक्रम कार्की पनि हुन् । उनले पीपीई खरिदमा १३ लाख भ्रष्टाचार गरेको र अनुदानमा आएको पीपीई काङ्ग्रेस कार्यकर्तालाई बाँडेको आरोप छ । क्यान्सर अस्पतालबाट काजमा कोरोना अस्पताल ल्याइएका कार्कीको काज फिर्ता भएपछि व्यवस्थापनसँग चिढिएका थिए । कार्की क्यान्सर अस्पताल डुबाउने एकजना भ्रष्ट चिकित्सक मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :