कोरोना सङ्क्रमण प्रभावित मे दिवस

मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आइएको थियो । यस वर्षको १३१ औँ मे दिवसको समयमा कोरोना कहरको महामारीसँग जुध्दै आएका सम्पूर्ण मानवहरू त्रासपूर्ण जीवन बाँचिरहेका छन् । कोरोना सङ्क्रमणले सबैभन्दा बढी मजदुर र श्रमिक वर्गलाई असर पुर्याएको छ । करोडौँ मजदुर कामविहीन बनाइएका छन् । श्रमिकहरूले भोकभोकै मर्नुपर्ने अवस्था उत्पन्न भएको छ । यो कोभिड १९ भाइरसको आक्रमणलाई परास्त गर्न सफल नभएको खण्डमा यो वर्ष मात्र होइन, आगामी वर्षहरूमा समेत श्रमिकहरूको जीवन अझ कष्टपूर्ण बन्दै जाने निश्चित छ ।

श्रमिकहरूमाथि मालिकहरूको अत्याचारका विरुद्ध मजदुरहरूले गरेको आन्दोलनको सम्मानमा मे दिवस मनाउने गरिएको छ । विश्व मजदुर आन्दोलनमा मात्र नभएर हरेक राजनीतिक आन्दोलनमा १ मेको अत्यन्त ठूलो महत्व रहेको छ ।

सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो सहरबाट सुरु भएको मजदुरहरूको आन्दोलनले ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन गर्ने मान्यता स्थापित गराएको थियो । ८ घन्टा मात्र काम गर्ने मजदुरको माग पूरा नगरिएपछि सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो सहरमा लाखौँ मजदुरहरूले सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । मजदुरको माग पूरा नगर्ने तत्कालीन अमेरिकी सरकारको निर्णय थियो ।

आन्दोलन २ दिनसम्म शान्तिपूर्ण भए पनि तेस्रो दिनको प्रदर्शन आन्दोलनमाथि त्यहाँको सरकारले व्यापक दमन गरेको थियो । ६ जना मजदुरले त्यहाँ सहादत प्राप्त गरेका थिए । मजदुर नेताहरू पार्सन, स्पाइस, एङ्गेल्सलगायतलाई मृत्युदण्ड दिइएको थियो ।

त्यो गौरवपूर्ण आन्दोलनका अगाडि अन्ततः अमेरिकी सरकार झुक्न बाध्य भएको थियो । २० अगस्ट १८६६ मा बाल्टिमोरमा भेला भएका ६० जना मजदुरले सर्वप्रथम ८ घन्टा कामको माग राख्दै नेसनल लेबर युनियन नामको सङ्गठन निर्माण गरेका थिए ।

आजको मजदुर आन्दोलनमा मे १ को ठूलो र ऐतिहसिक महत्व छ । मजदुरहरूको त्यो अन्तर्राष्ट्रिय महत्वपूर्ण सङ्गठनको नेतृत्व प्रतिभाशाली मजदुर नेता एच सिल्विसले गरेका थिए । उनले अन्तर्राष्ट्रिय नेताहरूसँग बारम्बार पत्र व्यवहार गर्ने गर्थे । सन् १८६७ को अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनलाई सहयोग गर्ने निर्णय लिएको थियो ।

सन् १८६९ मा लेबर युनियनले प्रथम अन्तर्राष्ट्रिय निमन्त्रणालाई स्वीकार गरी जरनल काउन्सिलमा एकजना प्रतिनिधि पठाउने निर्णय गरेको बेला मजदुर आन्दोलनका महान् नेता एच सिल्विसको दुःखद् निधन भएको थियो । त्यसपछि एसी केमरानलाई अन्तर्राष्ट्रिय प्रतिनिधि चुनेर पठाइएको थियो । उनी सिकागोबाट प्रकाशित हुने वर्किन्मेन्स एड्बोकेट पत्रिकाका सम्पादक थिए । एच सिल्विसको मृत्युपछि लेबर युनियनमा खराब व्यक्तिको प्रवेशले बदनाम हुँदै विघटन हुन पुग्यो ।

नेपालमा विसं २००३ मा रघुपति जुट मिलमा पहिलोपटक मजदुर आन्दोलन सुरु भएको थियो । नेपालमा मजदुर आन्दोलनको इतिहास त्यति लामो नभए पनि देशमा चल्ने गरेका राजनीतिक आन्दोलनहरूमा मजदुरहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् र पनि अहिलेसम्म मजदुरहरूले आफ्नै जीवनमा भने परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।

श्रमिक वर्गको मुक्तिको बाधक शोषणको जगमा टिकेको पुँजीवादी व्यवस्था हो । अझ दलाल पुँजीवादले त मजदुरलाई अमानवीय शोषण, दमन र घृणा नै गर्छ । काम गर्ने समय, उचित पारिश्रमिक, सुविधा सुनिश्चित गरेर जबसम्म पुँजीपति वर्गलाई कानुनी रूपमा बाधिँदैन तवसम्म मजदुर वर्गको खुसी र स्वतन्त्रताका लागि गरिने सबै सङ्घर्षको प्रयास निरर्थक हुनेछन् ।

सन् १९६६ सेप्टेम्बरमा जेनेभामा सम्पन्न भएको प्रथम अन्तर्राष्ट्रिय काङ्ग्रेसले मजदुरलाई यसप्रकारको कानुनी व्यवस्थाका गर्नुपर्ने आफ्नो धारणा अभिव्यक्त गरेको थियो भने नेसनल लेबर युनियनले उठाएको ८ घन्टा कामको मागलाई कार्ल माक्सले पनि जोडदार रुपमा समर्थन जनाएका थिए । सन् १८६७ मा प्रकाशित पुँजीको प्रथम खण्डमा माक्र्सले निग्रो र गोरा मजदुरहरूको वर्गहकहितको कुरा उठाएका छन् ।

माक्र्सले काला मजदुरहरूको सम्पूर्ण रूपमा मुक्ति नभएसम्म गोरा मजदुरहरू पनि मुक्त हुन नसक्ने विचार व्यक्त गर्दै काला र गोरा मजदुरहरूका बीचको भेदलाई आलोचना गरी मजदुरका बीचमा भेद होइन, वर्गीय एकतामा बाँधिन जोड दिएको पाइन्छ । पुँजीपति वर्गले मजदुरहरूका मागहरूलाई सम्बोधन गर्ने दिशामा ध्यान दिएन । यसैबीच सन् १८८६ को मजदुर आन्दोलनताक विश्व सर्वहारावर्गका महान् नेता कार्ल माक्र्सको निधन भयो ।

मे १ को गौरवपूर्ण परम्परालाई कायम राख्दै मजदुर आन्दोलनलाई सही रूपमा अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । मजदुर वर्ग क्रान्तिको भरपर्दो र निर्णायक शक्ति हो । यही शक्तिको दुरुपयोग गर्दै विभिन्न अवसरवादी सङ्गठनहरूले आफ्नो स्वार्थपूर्ति गर्दै आइरहेका छन् । मजदुरहरूको मुक्तिअभियानलाई शिखरमा पुग्न नदिनका लागि विभिन्न प्रतिक्रियावादी तथा संशोधनवादी पार्टी–सङ्गठनहरू क्रियाशील रहेका छन् । मजदुर आन्दोलनले प्रतिक्रियावादी शोषक वर्गका साथै सबैखाले संशोधनवादी, अवसरवादी, संसद्वादीहरूलाई निशाना बनाउनेपर्छ ।

देश गम्भीर सङ्कटमा फसिरहेको वर्तमान अवस्थामा अब मजदुरवर्ग विशेष सचेत र सतर्कताका साथ अघि बढ्नुपर्छ । कुनै पनि आन्दोलनको क्रान्तिकारी परम्परालाई कायम राख्न र उद्देश्यसम्म पुग्न सही र विकसित कार्यदिशासहितको सही नीति र सिद्धान्त बोकेको पार्टी मात्र सक्षम हुन्छ । पुराना, घिसेपिटे कार्यशैलीले श्रमिक वर्गको मुक्ति सम्भव हुँदैन । मालेमावादको जगमा विकसित नयाँ कार्यदिशाले मात्र मजदुर, महिला, किसानलगायत सम्पूर्ण उत्पीडित वर्गको मुक्ति सम्भव हुन्छ ।

दलाल पुँजीवादी सत्ताले फिँजाएको भ्रम, शासकहरूको साम्राज्यवादसँगको अस्वाभाविक र अप्राकृतिक हिमचिम, मजदुरमारा संविधान, नीतिनियम, कार्यक्रम, मजदुर आन्दोलनमाथि प्रतिबन्धलगायत विभिन्न कारणले आज मजदुर आन्दोलन एकदम कमजोर अवस्थामा पुगेको छ । त्यसो त आज विश्वकै मजदुर आन्दोलन त्यति शक्तिशाली छैन । दलाल पुँजीवादका मतियार बनेका विभिन्न अवसरवादी, संशोधनवादी सङ्गठनहरूको भ्रमको जालो हटाएर, राष्ट्रियताको रक्षा र मुक्तिको आन्दोलनमा मजदुरहरू एकाबद्ध हुनु अत्यावश्यक बनेको छ ।

‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन, आठ घन्टा आराम’ को माग गर्दै सुरु भएको श्रमिक आन्दोलन आज पनि अधिकार प्राप्तिका लागि सङ्घर्षकै चरणमा रहेको छ । न्यूनतम् पारिश्रमिक, सामाजिक सुरक्षा, श्रम कानुनमा गरिएको व्यवस्थाको परिपालनाका लागि श्रमिकले सङ्घर्ष गर्दै आएका छन् ।

नेपालको दलाल पुँजीवादी सरकारले देखावटी रुपमा सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने भन्दै सामाजिक सुरक्षा योजनाको घोषणा गरे पनि त्यो हात्तीको देखाउने दाँत मात्र साबित भएको छ । श्रमिक वर्गले मुक्तिका लागि लड्ने, बोल्ने अधिकारमाथि प्रतिबन्ध लगाइएको छ । श्रमजीवी वर्गको मुक्तिका लागि बोल्ने, लड्ने कयौँ श्रमिक, श्रमजीवी र क्रान्तिकारी नेता–कार्यकर्ताहरूलाई सरकारले जेल र हिरासतमा कैदी बनाएको छ । सम्पूर्ण श्रमिकहरू सरकारका यसखाले फासिवादी हर्कतका विरुद्ध लड्नु आवश्यक छ । कोरोना सङ्क्रमणबाट प्रभावित यस वर्षको मे दिवसले सबै उत्पीडित वर्गमा प्रतिरोधी चेतनाको विकास गरोस्, यही शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :