दलाल पुँजीवादी शासकहरू हो, श्रमजीवी वर्गलाई शुभकामना दिने तिम्रो हक छैन !

दलाल पुँजीवादी शासकहरूले लगाएको प्रतिबन्ध र कोरोना भाइरसको संक्रमणका कारण यस वर्षको मजदुर दिवस पनि खुला र उल्लासमय बन्न सकेन । दुईतिहाइको दम्भ बोकेको सत्ताधारी पार्टी सांसदहरूको हस्ताक्षर र टाउको गनेर कसको बहुमत छ भन्दै सत्तामा जाने र टिकिरहने शक्ति बनाएर देखाउन तल्लीन छन् । उनहरूलाई श्रमजीवी वर्गलाई शुभकामना दिने हक छैन ! १३१ औँ श्रमिक दिवसका अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा मे दिवसको हार्दिक शुभकामना !

यो दिनमा श्रमिक जनसमुदायलाई दलाल, भ्रष्ट, बिचौलिया र कमिसनखोरका हातमा पुगेको श्रमजीवी वर्गको हकअधिकार र पहुँच खोसेर आफ्नो हातमा लिन प्रेरणा मिलोस् । श्रमजीवी वर्गको अधिनायकत्व प्राप्त होस् र वर्गसङ्घर्ष पूरा भएको हरेक श्रमजीवीहरूले अनुभूति गर्न पाऊन् ।

श्रमजीवी जनसमुदायहरू ! सिकागो, अमेरिकाबाट सुरु भएको मजदुर आन्दोलन, ८ घन्टा कार्यदिनको नारा लिएर निस्केको आन्दोलन युरोप र एसियाका धेरै देशहरूमा फैलियो र आज संसारभर सङ्गठित भएको छ । मजदुरहरूको एकता दिन–प्रतिदिन स्वतन्त्र, निष्पक्ष र बलियो बन्दै गएको छ ।

नेपालमा विराटनगर जुटमिलका मजदुरहरूले २००३ सालमा सुरु गरेको आन्दोलन हरेक सहरबजार हुँदै गाउँगाउँसम्म पुगेको छ । त्यसको नेतृत्व सामन्ती अवशेषको घुसपैठ गरेर छिरेका सामन्तहरूकै हातमा पुगेपछि खास वर्गका हातमा श्रमजीवी वर्गको राज्यसत्तामा अहिले पनि पहुँच छैन । दलाल सत्ताधारी पार्टीका लाउकेहरू सांसदहरूको हस्ताक्षर र टाउको गनेर कसको बहुमत छ भनेर सत्तामा जाने र टिकिरहने शक्ति बनाएर देखाउनमा तल्लीन छन् । उनीहरूले मजदुरहरू आफ्ना परिवार लिएर बाटोमा खाली खुट्टा गाउँघर फर्केको दृश्य देख्न सकेनन् र कोहीकसैले बोले पनि यो भ्रम छर्ने र मजदुरका पीडा बेचेर आफ्ना कर्तुत लुकाउने नाटक मञ्चन गरेको मात्र प्रस्ट भयो । यसको हिसाबकिताब राख्न यो दिवसले आम श्रमजीवी वर्ग एक भएर जुट्न सन्देश र प्रेरणासमेत दिएको छ ।

तिनै दलालहरूको हातमा पुगेको राज्यसत्ताको चरित्रले आज पनि प्रस्ट पारेको छ, पुँजीपतिहरू विमान चार्टर गरेर आअफ्नो ठाउँ पुग्दै गर्दा विभिन्न सहर र देशहरूमा मजदुरी गर्न गएको श्रमजीवी वर्गले देशबाहिरै र सीमासम्म आएर पनि अलपत्र पर्नुपरेको छ । मजदुरहरूले बलिदान, त्याग र आन्दोलनमा अग्रमोर्चामा रहेर लडेर ल्याएको गणतन्त्र र अहिलेको सत्तामा केही चतुर वर्गका केही व्यक्तिका मुठ्ठीमा परेको मजदुरको हकअधिकार र राज्यसत्ताको पहुँच खोसेर लिने प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नु सबै न्यायप्रेमीहरूको कर्तव्य हो ।

मजदुरहरूका नाममा राहत घोषणा गरेर दलीय भागबन्डा र लुछाचुँडी भइरहेको छ । यो पुँजीवादी सत्ताको विशेषता नै हो । खास मजदुरको चुलोमा आगो बल्न सकेको छैन । यिनै दलालका आसेपासे र आफन्तहरूले विभिन्न बहानामा लुटिरहेका छन् । स्वास्थ्य सामग्री खरिदमा घोटाला, कोरोना महामारीको राहत वितरणमा श्रमजीवी वर्गमाथिको धोका र भ्रमको एक ज्वलन्त उदाहरण हो ।

अझ सरकारले ल्याएका अध्यादेश, सांसद अपहरणलगायत पछिल्लो घिनलाग्दो राजनीतिक गतिविधिले सर्वहारा, श्रमजीवी वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई भ्रम बेच्ने संसदीय थलो र वर्गसङ्घर्षलाई धोका दिएर दलाल पुँजीपति र साम्राज्यवादीहरूसँग साँठगाँठ गर्ने साम्राज्यवादका एजेन्टहरूको वास्तविक अनुहार उदाङ्गो बनाइदिएको छ । साम्राज्यवादीहरूको इशारामा नृत्य गर्ने दलाल पुँजीवादका एजेन्टहरूले जनतामाथि शोषण, दमन, प्रतिबन्ध र भ्रष्टाचार लादेर देशलाई जर्जर बनाएका छन् । श्रमिक वर्गले अबको आन्दोलन यी साम्राज्यवादका एजेन्टका विरुद्ध केन्द्रित गर्नु आवश्यक छ ।

श्रमजीवी वर्गहरू, अब सचेतनाको वर्गसङ्घर्ष आफ्नो हातमा लिँदै विज्ञानप्रविधिको अधिकतम उपयोग गरेर दलाल पुँजीपतिवर्गको किल्ला ध्वस्त बनाउनुबाहेक हामीसँग अर्को विकल्प छैन । दलाल सत्ता ढालेपछि त्यसको जगमा निर्माण हुने वैज्ञानिक समाजवादी सत्ताले मात्र हामी श्रमजीवी वर्गलाई मुक्ति दिनेछ । यही मार्गदर्शनमा एकताबद्ध भएर अबको वर्गसङ्घर्षलाई नयाँ उचाइमा पुर्याउन सम्पूर्ण उत्पीडित श्रमिक र युवा एक हुनुपर्छ । श्रमजीवी वर्गमाथि भएको अन्याय र श्रमिकले खेप्नुपरेको लकडाउनको पीडालाई शक्तिमा रूपान्तरण गरी लकडाउनको समयमा शक्ति सञ्चित गरेर दुस्मनसँग प्रतिरोध सङ्घर्ष गर्ने तयारी गर्नुपर्छ । मे दिवसले यसका लागि उत्साह र प्रेरणा प्रदान गरोस् । यही छ शुभकामना ! – दोलखा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :