कोरोना–कविता

कोरोना बन्छ एउटा कविता
बन्द कोठामा नाथे भाइरससँग
लुकेर बस्नुपर्छ झ्यालढोका थुनेर
यसैले त कबिता फल्ने गाउँमा भाइरस फल्छ
उद्योग–कारखाना चल्ने सहरमा
सिनेमा बन्द छ, भाइरसको काव्य बन्छ
कोरोनाको पकड छ, बाहिर मानिस छैन
सडक त खाली छ भूतहरूको सहर छ
सहरमा उठबस छ बाहिरबाहिर हिँड्नेलाई
यसैले त साम्राज्यवादको हार छ
एकादेशको रोम साम्राज्य चकनाचुर छ
नाथे भाइरसको संसारमा दिग्विजय छ
यसैले त कोरोना कविता बन्छ
अनि त शोककाव्य बन्छ गाउँसहरमा
कहानी बन्छ यसैको चकचकी
मानिस भकभकी मर्छ ।

साम्राज्यवादको नाइकेले पनि
हार स्वीकार गरिसकेको छ
नाइट्रोजन बम र मिसाइललाई
क्वाप्पै खाने भाइरस हिरोसिमा र नाकासाकी
ध्वस्त पार्नेलाई चपाउँछ भाइरस
महाशक्तिलाई धुरुधुरु रुवाउने कोरना भाइरस
संसारमा नाचिरहेछ बेताल
कहिले अमेरिका त कहिले लन्डन
इटालीमा छ कहर, भएका छन् बेघर
मानिस छन् बेसुर, गल्लीगल्ली छरिएका छन् नोटैनोट
भौँतारिएका छन् मानिस, देख्न पाउँदैनन् आफन्तका लास
चन्द्रग्रहमा घडेरी किन्ने मानिस
मङ्गलग्रहमा बस्तीको चाहना गर्नेहरू
आज लास गाड्ने ठाउँ छैन कतै
श्वेत–अश्वेतबीच पर्खाल खडा गर्ने अमेरिका
भाइरसको संत्रास नोट छुन डराउँछ
बाँचे भने हुन्छन् बनबास
के खाने, के लाउने चल्छ सधैँ रुवाबास
बित्याँस, बितण्डा, हतकण्डामा रहिरहने
जेलजस्तै घर छ बिनाअपराधको
कोरोना तेरो नाममा कमिसनखोर अघोर छन्
अर्बांैको राहत आहत बज्रपात हिमपात छ
चमेरो, सर्प र सुँगुर खाएर बनेको
कोरोना भाइरस विश्वलाई चुनौती दिन्छ
महाशक्तिलाई रुवाउँदैछ कोरोना
तर नेपाल एकजुट छैन विडम्बना !
जेलमा थुनिएकाहरूमा छ कोरोनाको डर
कोरोनाको डबल सजाय खाँदेका छन् कहर
कोरोनाको संत्रासमा खित्का छोड्छ जेल
मानवताको उपहास छ, कोरनाको छ डर र त्रास ।

निस्तेज छ सर्वोच्चको परमादेश
वर्गविभेदको पर्खालमा मानवता कैदमा छ
कोरोनाको सर्वोच्च छ, मनपरी छ
गिज्याइरहन्छ कोरोना बिथोल्छ विपना
तुच्छ, सङ्कीर्ण कोरोना एकाधिकारवादी छ ।

मै खाऊँ मै लाऊँँ सुखसयल वा मोज म गरूँ
नेपोलियन बोनापार्टजस्तै
आईएम द मोनार्क अफ अल आई सर्भे
बिनालगाम आफ्नै कानुनमा खित्का छोडिरहेछ
सेना, फौज सबै छन् कोरोनाकै पछि
यसकै कारण संसार लकडाउनमा छ
उद्योग, व्यापार सबै बन्दै बन्द, जीवन ठप्प छ
यातायात सबै बन्द गरेर खाइरहेछ मानिस
अमेरिकाको होसहवास उडाएको छ
अब त अमेरिकामा मृत्युदेखि डराउँदैन मानिस
रुवाएको छ संसार, हिजोको महाशक्ति आज लम्पसार
यो दुष्ट, निकृष्ट, अपराधी कोरोना ! मुटुभित्र छ वेदना
हुन्छ–हुन्छ निर्मूल एक दिन कोरोना
संवेदनहीन कोरोना सहँदैन जनता अब कहर र यातना ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :