नेपाल–भारतबीचको खुला सीमानाका बन्द गरेर कोरोना रोक : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले नेपाल–भारत खुला सीमानाका बन्द गरेर भारतबाट विभिन्न बहानामा नेपाल प्रवेश गरिरहेका गाडी रोक्न र कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन आह्वान गरेको छ । नेकपा जिल्ला समिति दाङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई सुरक्षित राख्न, राहत वितरणमा राजनीतीकरण नगर्न र भारतीय तरकारी रोकेर नेपाली किसानले उत्पादन गरेका तरकारी बिक्री–वितरण गर्न पनि आग्रह गरेको छ ।

नेकपा दाङका सेक्रेटरी भगवानराजले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विश्वभर फैलिएको कोरोना भाइरस (COVID 19) को सङ्क्रमणबाट मानवजातिलाई सङ्कट परिरहेको बेला नेपाल पनि त्यसबाट अछुतो छैन । छिमेकी देश भारतमा कोरोना भाइरस बढिरहेको र नेपाल–भारत खुला सिमानाका कारण त्यसको फैलावट यहाँसम्म हुनसक्ने झनै उच्च जोखिम रहेको छ ।’

उनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यस घडीमा पनि सरकारले नेपाल–भारत नाका खुला राख्नुले फलफूल आयातका नाममा भारतीय नम्बर प्लेटका गाडी दाङमा अहिले पनि आइरहेका छन् । भारतीय नम्बरका गाडी अहिले पनि आउजाउ गर्नुले झनै कोरोना प्रकोप भित्रिने सम्भावनाले दाङबासीमा संत्रास बढेको प्रति हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

भगवानराजले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘अहिले सीमामा नेपाली नागरिकका लागि मात्र बन्दाबन्दी (Lockdown) होइन, अलपत्र नेपाली नागरिकलाई व्यवस्थित र सुरक्षित क्वारेन्टाइनमा राख्न र नाका पूर्ण रूपमा बन्द गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ र भारतबाट भित्रिने विषादीयुक्त, सडेगलेका फलफूल, तरकारी आयात गर्ने कार्य तत्काल बन्द गरी स्वदेशी तरकारी सहज रूपमा बिक्रीवितरण गर्न दिने वातावरण बनाइदिन सम्बन्धित निकायसँग माग गर्दछ । कोरोनाको निहुँमा सम्पूर्ण क्षेत्रमा भइरहेको कालोबजारी, भ्रष्टाचार, कमिसनखोरी र अनियमितता रोक्न पनि आग्रह गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘स्थानीय निकायबाट राहत वितरणका नाममा राजनीतिक दलहरूले आफ्ना आसेपासे, इष्टमित्रहरूलाई पोस्ने काम गरिरहेकोप्रति घोर भत्र्सना गर्दछौँ । नाटकीय रूपमा अनर्गल प्रचारबाजीमा नभएर वास्तविक रूपमा शोषित, उत्पीडित, दैनिक मजदुरी गरेर गुजारा गर्ने परिवारको सङ्ख्याका आधारमा राहत वितरण गर्न आग्रह गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :