कोरोना सङ्क्रमणविरुद्ध अभियान जारी छ, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किनू : युवा सङ्गठन


काठमाडौँ : युवा सङ्गठन नेपाल, जाजरकोटले वक्तव्य जारी गर्दै सङ्गठनले कोरोना सङ्क्रमणविरुद्ध सचेतना अभियान जारी रहेको जनाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष विवशले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रणबाट जोगिन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन, अनावश्यक भीडभाड नगर्न, घरेलु उत्पादन गरेर भए पनि सफा गरेर अनिवार्य मास्क प्रयोग गर्न, खानामा विशेष ध्यान दिन, मद्यपान–धूमपान नगर्न र साबुनपानीले समयसमयमा हात धुन सर्वसाधारण तथा आमयुवाहरूलाई आह्वान गरेका हुन् ।

प्रेस वक्तव्यमा भनिएको छ, ‘विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (Covid-19) ले यतिबेला मानवजगत्लाई वेदनाको आहालमा डुबाइदिएको छ । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभरि फैलिइसकेको छ र पचासौँ हजार मानिसहरूको ज्यान लिइसकेको छ भने लाखौँ सङ्क्रमित छन् । नेपालजस्तो अति कमजोर देशमा यसको असर र प्रभाव नहुने कुरै भएन । कोरोना महामारीको सामना गर्नु र आमनागरिकलाई सचेतना जगाउनु सबैको परम् कर्तव्य हुन जान्छ ।’

विवशको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मानव समाज त्रसित र आतङ्कित भएको यस समयमा हाम्रो जनप्रिय तथा गौरवशाली सङ्गठन युवा सङ्गठन नेपालले पनि हरेक गाउँबस्तीहरूमा आमनागरिकहरूलाई सचेतना जगाउँदै यतिबेलाको संवेदनशील समयमा अनावश्यक रूपमा भीडभाड नगर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, घरेलु उत्पादन गरेर भए पनि सफा गरेर अनिवार्य मास्क प्रयोग गर्न, खानामा विशेष ध्यान दिन, मद्यपान–धूमपान नगर्न र साबुनपानीले समयसमयमा हात धुन सर्वसाधारण तथा आमयुवाहरूमा अनुरोध गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कुनै एक गाउँबाट अर्को गाउँमा नजाने, आवतजावतलाई पूर्ण रूपमा आवश्यकबाहेक रोक लगाउने कार्यमा जाजरकोट जिल्लाका सम्पूर्णमा अपिल गर्दछौँ । अन्यथा अटेर गरेर कोरोना फैलाउने सम्भावनालाई जोड दिए त्यसबाट हुने क्षतिको जबाफदेही स्वयम् हुनुपर्नेछ । साथै कोरोनाविरुद्धको अभियानमा हाम्रो गौरवशाली सङ्गठन सदैव तपाईंहरूमाझ रहने जानकारी गराउँछौँ । सावधानीले हाम्रो जीवन प्राप्त हुन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :