कोरोनाविरुद्ध देशमा स्वास्थ्य सङ्कटकाल घोषणा गर : नेकपा

काठमाडौँ : नेकपाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई लिएर स्वास्थ्य सङ्कटकाल घोषणा गर्न माग गरेको छ । नेकपाको सेती–महाकाली ब्युरोले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सङ्कटकाल घोषणा गरी स्वास्थ्य जनशक्ति स्वयम्सेवक भर्ना गर्न पनि माग गरेको छ ।

यस्तै भारतसँग जोडिएका सीमानाकामा व्यवस्थित स्वास्थ्य चेक पोस्ट स्थापना गर्न, ज्यालादारी, गरिब किसानहरूलाई खाद्यान्नलगायत राहत प्याकेजको व्यवस्था गर्न, सबै ठाउँमा निःशुल्क औषधी, मास्क, सेनेटाइजरलगायत रोकथामका सामग्री सहज रूपमा उपलब्ध गराउने व्यवस्था गर्न पनि माग गरेको छ ।

राजनीतिक आस्थाका आधारमा जेल र हिरासतमा बन्दी जीवन बिताइरहेका नेता–कार्यकर्तालाई रिहा गरी कारागारलाई कोरोना सुरक्षित बनाउन पनि माग गरिएको छ । नेकपाले कोरोनाको जोखिमबाट बच्न कुनै तहका सरकारले प्रभावकारी काम गर्न नसकेको पनि जनाएको छ ।

जोखिमपूर्ण अवस्थामा पनि विदेशबाट आउने नागरिक र सङ्क्रमितका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न नसकेको जारी विज्ञप्तिमा जनाइएको छ । कैलाली र कञ्चनपुरका सीमानाकाबाट दैनिक हजारौँ यात्रु भित्रिरहेको भए पनि बसपार्क क्षेत्रमा अलपत्र भेटिएको तथा सङ्क्रमण रोकथाममा सङ्घीय सरकारको भूमिका शून्यजस्तै र प्रदेश सरकार मूकदर्शक बनेको नेकपा सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :