कैलालीमा साँस्कृतिक प्रतिरोध दिवस मनाईयो

कैलाली : अखिल नेपाल जनसाँस्कृतिक महासंघको आयोजनामा बुधबार कैलालीमा २२ औ साँस्कृतिक प्रतिरोध दिवस मनाईएको छ । जनसाँस्कृतिक महासंघका सरल माझीको अध्यक्षता, आरोह नेपालीको सञ्चालन र लक्ष्मण पाख्रिनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज निर्माण थिए । कार्यक्रमलाई सम्बोधन गर्दै निर्माणले बिश्व समाजमा साँस्कृतिक चेतनाको तीन धारा सामन्ती, पुँजीवादी र समाजवादी प्रगतिशील रहेको भन्दै आफ्नो पार्टीले समाजवादी साँस्कृतिक धाराको नेतृत्व गरिरहेको वताए । अहिले नेपाल र संसारका धेरै देशमा जनताले दुख पाउनु र विभेद भोग्नुको मुख्य कारण सामन्ती तथा पुँजीवादी सँस्कृति र त्यसद्वारा निर्देशित राज्य व्यवस्था भएकोले आफ्नो पार्टी पुँजीवादलाई ध्वस्त पारी बैज्ञानिक समाजवाद स्थापना गर्ने एकीकृत जनक्रान्तिको बाटोमा अघि बढेको बताए । निर्माणले भने ‘महान जनयुद्ध र झापा आन्दोलनको जगमा खडा भएका कथित कम्युनिस्टहरु केपी र प्रचण्डले हाम्रा ११ जना साथीहरूलाई हत्या गरिसके । काभ्रेको अनेकोटका हत्याराहरु संग अहिले प्रचण्ड बाबुरामले मित्रता गाँसका छन् र आज उनिहरुले यो दिवसलाई बिर्सिएका छन् । तर हाम्रो पार्टीले भने यसलाई अझै संघर्ष दिवसको रुपमा शसक्त प्रकारले अगाडि बढाउनेछ ।’


कार्यक्रममा नेकपाका कैलाली जिल्ला इन्चार्ज प्रशान्त, विशेष जिल्लाका इन्चार्ज भिम र सचिव समुन्द्र, कैलालीका प्रथम सहिद भानु आचार्यकी जीवन संगिनी शोभा आचार्य, सहिद सनराइजका दाइ गजेन्द्र सिंह, महिला नेतृहरु मिना र सुनिता, दलित मुक्ति मोर्चाका मधुसूदन लगाएतका बक्ताहरुले पनि आफ्ना भनाइ राखेका थिए । शहिदको फोटामा माल्यार्पन, सहिद परिवारलाई सम्मान र सामना कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुति दिएका थिए । साँस्कृतिक प्रतिरोध दिवसमा स्थानीय जनताको उत्साहजनक उपस्थिति रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :