दलाल पुँजीवादी सत्ता र केपी सरकारको काण्डे अनुहार


प्रारम्भ

अहिले हाम्रो देशमा दलाल पुँजीवादी राज्यसत्ता र केपीमण्डलीको काण्डे सरकारले जनतालाई आतङ्कित बनाएको छ । यो राज्यसत्ता र सरकार जनविरोधी छ । यो राष्ट्रविरोधी पनि छ । यो भ्रष्टाचारी छ । यो हत्यारा छ । यो फासिवादी छ । यसको चरित्र कालोबजारिया प्रकृतिको छ । यसको चरित्र तस्करी र कमिसनखोरी धरातलमा छ । चरम् षड्यन्त्रकारी पनि छ । निकृष्ट र राष्ट्रघाती छ । ठूल्ठूला घोटाला र काण्डहरू लादेको छ । भ्रष्टाचारी, कमिसनखोर र कालाबजारियाहरूसँग लगनगाँठो कसेको छ । उत्तरसाम्राज्यवादीहरूको पाउमा लम्पसार पर्ने र निगम पुँजीवादलाई बेरोकतोक देशभित्र भित्र्याउने काम गरेको छ । यो चरम शोषणकारी पनि छ । आफ्नो कुर्सीस्वार्थ पूरा गर्न जुनसुकै प्रकारका जनविरोधी हथकण्डा अपनाउन यो तयार हुन्छ । जस्तोसुकै प्रकारका षड्यन्त्रकारी गतिविधि सञ्चालन गर्न मरिहत्ते गर्छ । त्यसैले हाम्रो पार्टीमाथि प्रतिबन्ध लादेको छ । क्रान्तिप्रेमी जनतामाथि दमन थोपरेको छ । हत्या–आतङ्क मच्चाएको छ । क्रान्तिप्रेमी जनता र नेता–कार्यकर्तालाई झूट्टा मुद्दामा फसाएको छ । जेल, नेल र हिरासतमा कोचेको छ ।

केपी सरकारको काण्डे परिचय

केपी वली नेतृत्वको मण्डलीले यो सरकारलाई जनताको सरकार, कम्युनिस्टको सरकार, दुई तिहाइको सरकार, ‘सुखी नेपाली र समृद्ध नेपाल’ आदिका नाराहरू दिएको छ । आकाशतर्फ फर्किएर केपी वली नानाभाँतीका उट्पट्याङ आश्वासनहरू बाँडिरहेका हुन्छन् तर ती सबै आश्वासनहरू बेकामी छन् । कम्युनिस्ट चरित्र, आदर्शको त कुरै छोडौँ सामान्य लोकतान्त्रिक मूल्य–मान्यता बोकेको काङ्ग्रेसलाई समेत उसका जनता र राष्ट्रविरुद्धका कार्यले उछिनेको छ । यसले आफूलाई कम्युनिस्ट होइन, जनविरोधी र राष्ट्रविरोधी काण्डैकाण्डले भरिएको काण्डे सरकारको परिचय बनाएको छ । एनसेल करछली काण्ड, वाइडबडी जहाजकाण्ड, सुनकाण्ड, चिनीकाण्ड, बालुवाटार ललिता निवासकाण्ड, बूढीगण्डकी काण्ड, मेलम्चीकाण्ड, मिटरब्याजी काण्ड, मलकाण्ड, भ्रष्टाचारकाण्ड, निर्मला पन्त बलात्कार–हत्याकाण्ड, आर्थिक घोटालाकाण्ड, करैकर काण्ड, तस्करी–कालोबजारी काण्ड, होली वाइनकाण्ड, कमिसनखोर काण्ड, आफ्ना नातागोतालाई जागिर ख्वाउने काण्ड, लिपु–लिम्पियाधुरा काण्ड, अवैध ठेक्कापट्टा काण्ड, निर्दोष नागरिकको हत्याकाण्डजस्ता अनेकौँ घृणित, तिरस्कृत, षड्यन्त्रकारी, जनताको हितविपरीत र राष्ट्रको स्वाधीनताविपरीत काण्डहरू मच्चाएर मुलुकलाई बदनाम बनाउने कार्य गरिरहेको छ ।

केपी वली नेतृत्वको काण्डे सरकारले आर्थिक हिसाबले मुलुकलाई परनिर्भर र भिखमङ्गा बनाएको छ । राजनीतिक हिसाबले आत्मसमर्पणकारी, दब्बु पारेको छ । सामाजिक हिसाबले विचलनकारी तथा विखण्डन परिवेश उत्पन्न गरेको छ भने सांस्कृतिक हिसाबले विकृत, अश्लील र कर्तव्यविमुख धरातलमा फसाएको छ । हरेक गतिविधिहरू आधार भूत राजनीतिक नैतिकता र मान्यताविपरीत केन्द्रित छ । यसप्रकारका काण्ड, घटनाक्रम र अवाञ्छित कार्यले गर्दा यो सरकार रुझेको बिरालोजस्तो बनेको छ । सत्तामुखी निम्छरो अनुहार बोकेर नैतिकहीन ढङ्गले यो सरकार डुलिरहेको छ । यस्तो खालको नालायक काण्डे सरकारलाई सम्पूर्ण राष्ट्रप्रेमी र जनप्रेमी जनसमुदायहरू एकताबद्ध भएर जरैबाट उखेलेर फाल्न लामबद्ध बन्नुबाहेक अब अर्को विकल्प छैन र देखिँदैन ।

चरित्रहीन नेतृत्व र बदनाम भूमिका

अहिलेको केपी सरकार जसरी जनविरोधी र राष्ट्रविरोधी छ त्यसैगरी चरित्रहीन पनि छ । यो सरकार बदनाम मान्छेहरूको झुण्डजस्तै बनेको छ । सरकार र सरकारी पार्टीका जिम्मेवार मन्त्री र नेताहरूले नै हरेक प्रकारका बदनामी कमाएर राज्यलाई निर्लज्ज पारेका छन् । यो विभिन्न जनताको हितविपरीत, राष्ट्रको स्वाधीनताविपरित कार्य, गतिविधि र काण्डहरू मच्चाएर पेन्डुलम मात्र बनेको छैन, षड्यन्त्रकारी र फासिवादी पनि भएको छ । हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारी, घूसखोर, कमिसनखोरीजस्ता पाखण्डपूर्ण गतिविधिहरू हुनुमा एकातिर दर्शन, विचार, राजनीति, सिद्धान्त र वर्गप्रतिको गद्दारीका कारणले गर्दा हो भने अर्कोतर्फ चरित्रहीन नेतृत्व र उनीहरूको बदनाम भूमिकाका कारणले गर्दा पैदा भएको हो ।

हालै केपीको निकै पाखण्डी, असहिष्णु, कुटिल विश्वासपात्र सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनको मोलमोलाइ गर्दाको अडियो सार्वजनिक भएपछि राजीनामा दिनुप¥यो । आफूलाई प्रखर घूसविरोधी बताउने केपी र गोकुल बास्कोटाले एउटा प्रेस किन्दा त ७०/७४ करोड कमिसन खान्छन् वा माग्छन् भने उनीहरूको अधीनस्थ सञ्चालित कैयौँ परियोजनाहरूबाट कति रकम झ्वाम पारे होलान्, सहजै अनुमान गर्न सकिन्छ । एउटा नेपाली उखान छ, ‘सियो चोर्नेले सुन पनि चोर्छ र घर पनि फोर्छ ।’ यहाँ प्रश्न नैतिकताको हो । यस्ता नैतिकहीन मानिसहरूको हातमा रहेको सरकारले कसरी जनतालाई सेवा र राष्ट्रलाई हित गर्न सक्ला, गम्भीर प्रश्न उठेको छ । यस्तो प्रकारका बदनाम घटनाका कारण सरकारको जिम्मेवार मन्त्री, पार्टीका नेताहरूले राजीनामा दिनुपर्ने विषयलाई कदापि सामान्य मान्न सकिँदैन । यस्ता प्रकारका अनेकौँ घटना र सन्दर्भहरू छन् जो वर्तमान केपी सरकार र केपी –प्रचण्ड नेतृत्वको पार्टीका मन्त्री र नेताहरूले देखाएको चरित्र र खेलेको भूमिका जसका कारणबाट उनीहरूले आफूले आफ्नो जिम्मेवारीबाट पदच्यूत मात्र होइन, देशलाई नै लज्जित बनाउने कार्य गरेका छन् ।

बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री र सरकारी नेकपाका नेता केशव स्थापितले चरित्रहीन कार्य गरेकाले २०७५ कात्तिक १६ गते आफ्नो पद गुमाउनु परेको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन तथा वातावरणराज्यमन्त्री तथा सरकारी पार्टीका नेता प्रकाशबहादुर रावतले आर्थिक अनियमितता र किर्तेकाण्डका कारण २०७६ कात्तिक २४ गते आफ्नो मन्त्री पद गुमाउनु परेको घटनासमेत ताजै छ । परस्त्रीसँगको काण्डले सुदूरपश्चिम प्रदेशकै सामाजिक विकासमन्त्री तथा सरकारी पार्टीका नेता दीर्घबहादुर सोडारीले पदीय आचरणविपरीत कार्य गरेकाले २०७५ कात्तिक २७ गते मन्त्री पदबाट हात धुनुपर्यो । नक्कली बैङ्क ग्यारेन्टीकाण्ड गराएर कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा सरकारी पार्टीका अर्का नेता खड्कबहादुर खत्री २०७६ भदौमा बर्खास्तीमा परे भने सोलु कोरिडोर निर्माणका क्रममा करिब २६ करोड अनियमितता गरेको भन्दै तत्कालीन ऊर्जामन्त्री तथा सरकारी पार्टीकी नेत्री राधा ज्ञवालीले २०७२ असोज १५ गते बर्खास्ती हुनुपरेको घटना नेपाली जनतासामु लुकेको छैन ।

तत्कालीन कानुनमन्त्री तथा सरकारी पार्टीका नेता शेरबहादुर तामाङले बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जाने नेपाली छात्राले सर्टिफिकेट पाउन शारीरिक सम्बन्ध कायम गर्नुपर्ने जस्ता अनैतिक अभिव्यक्ति दिएका कारण २०७५ साउन ८ गते राजीनामा दिनुपरेको थियो । २०७२ साल असारमा तत्कालीन एमाले नेता तथा कृषिमन्त्री हरिप्रसाद पराजुली महिलामाथि अश्लील हर्कत गरेका कारण बर्खास्तीमा परे । तत्कालीन सभामुख कृष्णबहादुर महराले आफ्नै कर्मचारीमाथिको यौनदुराचारको आरोपमा सभामुखबाट २०७६ असोज १४ गते राजीनामा दिँदै जेलसमेत बस्नुपर्यो भने अहिले सञ्चारमन्त्री तथा सरकारका प्रवत्तासमेत रहेका केपीका रखौटे गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७४ करोड कमिसन बार्गेनिङका क्रममा निर्लज्ज सरकारबाट बाहिरिनु पर्यो । यो विषय २ महिनाअगाडि नै प्रधानमन्त्री वलीलाई थाहा थियो तर उनी किन चुप लागे ? उल्टै तिनै भ्रष्टाचारी गोकुलको गुणगानमा समय खेर फाले ? यसले के कुरा स्पष्ट हुन्छ भने यो घटनामा प्रधानमन्त्रीसमेतको संलग्नता छ । यी सबै घटना र सन्दर्भहरू सरकारी पार्टीका नेता र मन्त्रीहरूले गरेका कर्तुतहरू हुन् । त्यसका साथै गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको मदिराकाण्ड, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको महिलाकाण्डजस्ता घटनाहरू गुपचुप गरिएको छ । नेताहरू आफ्नो जन्मदिन मनाउन जनताले तिरेको करबाट लाखौँलाख खर्च गर्दै हेलिकोप्टरमा सयर गरिरहेका छन् । यी र यस्ता प्रकारका प्रतिनिधिमूलक घटनाले सरकारी पार्टी र केपीमण्डली सरकारको मूल प्रवृत्ति के र कस्तो हो भन्ने कुरा बुझ्न कठिन पर्दैन । यस्ता पात्रहरूले भरिएको विचारविहीन समूह र दृष्टिकोणविहिन झुण्डमा आज सरकारी (नेकपा) परिणत भएको छ । दृष्टिकोणविहीन समूह भएका कारण उनीहरू यसप्रकारका घृणित कार्यहरू गर्न उद्यत भैरहेको कुरा दिनको घामजस्तै छर्लङ्गै भएको छ ।

८ सय ८४ जना भेडिगोठे सांसदको लूट

आज जनप्रतिनिधिका नाममा माथिदेखि तलसम्म जनतामाथि लूट मच्चाइएको छ । राष्ट्रलाई कङ्गाल बनाउने कार्य भैरहेको छ । तस्करहरू, चोरडकैतहरू, कालोबजारियाहरू, कमिसनखोरहरू, हत्यारा–बलात्कारीहरू, ठेकेदारहरू, राष्ट्रघातीहरू, जनघातीहरू कथित जनप्रतिनिधि बनेर सुखविलास गरिरहेका छन् । हाम्रोजस्तो देशमा निकै ठूलो सांसदहरूको ताँती छ । उनीहरूलाई जनप्रतिनिधिका रूपमा राज्यले खर्च बेहोरिरहेको छ । त्यसबाहेक राज्यले मासिक करोडौँ खर्च पूर्वहरूलाई बेहोर्ने गर्दछ । यसको सन्दर्भमा कुरा गर्दा केही सन्दर्भहरू उल्लेख्य छन्, हेरौँ :

झन्डै १ अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा जम्मा सांसदको सङ्ख्या ५ सय ४५ जनाको छ । त्यस्तै ३२ करोड जनसङ्ख्या भएको अमेरिकामा ४ सय ३५ जना सांसदले देश सञ्चालन गरेका छन् । २५ करोड जनसङ्ख्या भएको इन्डोनेसियामा सांसद ५ सय ५० जना, २० करोड जनसङ्ख्या भएको ब्राजिलमा सांसद ५ सय १३ जना, १९ करोड जनसङ्ख्या भएको पाकिस्तानमा सांसद सङ्ख्या २ सय ७२ जना मात्रै छ । १७ करोड जनसङ्ख्या भएको नाइजेरियामा सांसद ३ सय ६० जना, १६ करोड जनसङ्ख्या भएको बङ्गलादेशमा सांसद ३ सय ३० जनाले देश सञ्चालन गरिरहेका छन् । १४ करोड जनसङ्ख्या भएको जापानमा ४ सय ८० जना, १२ करोड जनसङ्ख्या भएको रुसमा ४ सय ४० जना सांसदको सङ्ख्या छ । यी सन्दर्भहरूलाई हेर्दा उदेक लाग्दछ, जम्मा २ करोड ७० लाख चानचुन जनसङ्ख्या भएको हाम्रो मुलुकमा सांसदको सङ्ख्या ८ सय ८४ जनाको भेडीगोठ छ । उनीहरू आलिसान सुविधामा छन् । आफ्नै हात जगन्नाथ भनेजस्तै जनताले सकिनसकी कर तिरेको ढुकुटीमाथि ब्रह्मलूट मच्चाइरहेका छन् । लाग्छ, उनीहरू कुनै युगका महाराजाहरू हुन् । धनाढ्य मालिकहरू हुन् । कुख्यात तस्करहरू हुन् । चल्तीका डाकुहरू हुन् । राज्य उनीहरूकै बपौती हो । देशको अर्थतन्त्र उनीहरूकै बिर्ता हो ।

हामी हेर्न सक्छौँ एकजना निजामती राष्ट्रसेवक कर्मचारी (जसले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य उद्देश्यसहित मुलुकमा जागिर खाएको हुन्छ) को अधिकृतले ३० हजार, उपसचिवले ३४ हजार, सहसचिवले ४० हजार, नायब सुब्बाले २३ हजार र मुख्यसचिवले ५४ हजार तलबमा मासिक गुजारा गर्दै राज्यलाई सेवा गरेका हुन्छन् । सेनामा प्रमुख सेनानीको २८ हजार, महासेनानीको ३१ हजार, उपरथीको ३७ हजार, रथीको ३८ हजार र प्रधानसेनापतिको ३९ हजार तथा प्रहरी आईजीपीको ३८ हजार, एआईजीको ३७ हजार, डीआईजीको ३२ हजार, एसएसपीको ३० हजार र हबल्दारको १८ हजार मासिक तलबमा ठूलो चाडबाडमा घरपरिवारलाई भेट्नसमेत जान नपाई काम गर्दछन् किनकि उनीहरूले राज्यसँग जागिर खाइरहेका छन् । यो स्वाभाविक पनि छ र उनीहरूलाई आजको महँगीको अवस्थामा यति सुविधाले नपुगेको पनि हुन सक्छ ।

तर राजनीति भनेको नीतिहरूको पनि मूल नीति हो । यो जनताको सेवाका लागि गरिन्छ । राष्ट्रका हितका लागि गरिन्छ । आफ्नो व्यक्तिगत स्वार्थबाट मुक्त भएर गरिन्छ । घरपरिवारको मोह, जेलनेलको डर, मृत्युको आगमन सबैलाई यसले बेपरबाह लिन्छ । यो स्वेच्छिक र बेतलबी काम भएकाले नै सबैले यो काम गर्न सक्दैनन् । यसमा निश्चित तलबभत्ता हुँदैन । २०५४ सालसम्म पनि जनप्रतिनिधिहरूलाई मासिक तलबभत्ता थिएन । तर आज राजनीतिलाई कमाइखाने भाँडो बनाइएको छ । राजनीतिलाई तस्करी गर्ने अखडामा परिणत गर्ने कार्य भएको छ । यो अत्यन्त गलत कार्य हो । आज जनप्रतिनिधिहरूले आफ्नो तलबसुविधा आफैँ निर्धारण गरेर राज्यको ढुकुटीलाई स्वाहा पार्ने काम गरेका छन् भने जनतालाई करैकरको जाँतोमुनि पिसिरहेका छन् । एकजना नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आफ्नो सम्पूर्ण सुविधाबाहेक वडाअध्यक्षले मासिक २५ हजार, उपमेयरले ३५ हजार र मेयरले ४० हजार तलब बुझ्छ । गाउँपालिकाको वडाअध्यक्षले मासिक ३० हजार, उपाध्यक्षले २० हजार र अध्यक्षले ३५ हजार तलब बुझ्छन् । महानगरपालिकाको वडाअध्यक्षले मासिक ३० हजार, उपमेयरले ५० हजार र मेयरले ६० हजार तलब बुझ्छन् । त्यसबाहेक उनीहरूले लिने सुविधा अनेकौँ प्रकारका छन् । जनप्रतिनिधिहरू आफैँले आफ्नै ठेक्कामा डोजरहरू चलाएका छन्, जनतालाई ढाँटेका छन् र ५ वटा वडा भएको गाँउपालिकामा अध्यक्ष र उपाध्यक्षले चढ्ने सुविधासम्पन्न गाडीबाहेक ५०/६० वटासम्म सेतो नम्बरप्लेटका सरकारी मोटरसाइकलहरू बेरोकतोक गुडिरहेका छन् । सरकारी नम्बर प्लेटका गाडीहरू जाँड खाने भट्टी चहार्ने, विवाह, व्रतबन्ध र आफ्ना आसेपासेलाई ओसारपसार गर्ने साधन भएका छन् । यसरी स्थानीय जनप्रतिनिधिका नाममा करोडौँ रकम स्वाहा पार्ने कार्यलाई यो दलाल पुँजीवादी सत्ताले उद्यत गरेको छ ।

एकजना जनताको प्रतिनिधि, राजनीतिलाई जनताको सेवा भन्दै हिँड्ने सांसदले मासिक १ लाख ४८ हजारभन्दा धेरै तलब बुझेर खान्छ । राष्ट्रपतिले मासिक ५ लाखभन्दा धेरै, उपराष्ट्रपतिले मासिक ४ लाख ५० हजारभन्दा धेरै, प्रधानमन्त्रीले मासिक ३ लाखभन्दा धेरै, सभामुखले मासिक २ लाख ८० हजारभन्दा धेरै तलब बुझेर भकुर्छन् । उनीहरूको सुरक्षा, यातायात, सूचनासञ्चार, सचिवालय र दैनिक भैपरी आउने सुविधाको कुरा गर्ने हो भने त्यो अकल्पनीय छ । देशका प्रधानमन्त्रीसमेत रहेका केपी वलीले आफ्नो व्यक्तिगत उपचारका लागि मात्रै करिब १ खर्बभन्दा धेरैको उपचार खर्च राज्यकोषबाट लिएका छन् । आफ्नो सम्पत्ति विवरणमा १ कट्ठा जमिन र १ तोला सुन लेखाएका प्रचण्डसँग आफ्नो परिवारका सदस्यको उपचारका लागि अमेरिका, सिङ्गापुर, थाइल्यान्ड, चीनलगायत देशहरूमा करोडौँ खर्च गर्ने पैसा कहाँबाट आउँछ ? यो स्वाभाविक प्रश्न छ– उनीहरूले देशलाई लुटेका छन् । राष्ट्रलाई ठगेका छन् । तस्कर, कमिसनखोर, कालोबजारिया, बिचौलियाहरू उनीहरूका किचन पात्रहरू बनेका छन् । यी सबै कार्य जनताले कर तिरेर जम्मा भएको र विदेश पलायन हुने युवाहरूको रेमिट्यान्सबाट सङ्कलित रकमबाट जम्मा भएको राज्यकोषको ढुकुटी र बिचौलिया, तस्कर, घूसखोरबाट प्राप्त रकमबाटै भइरहेको कुरा बुझ्न मुस्किल पर्दैन । यसरी स्थानीय तहका २८,२०८ जनप्रतिनिधि र प्रतिनिधिसभा, राष्ट्रियसभा, मन्त्रिपरिषद्, उनीहरूका आसेपासेले भरिएका सचिवालय र राज्यले खर्च बेहुर्नुपर्ने नेतृत्वहरूको खर्च विवरणलाई हेर्दा उदेकलाग्दो अवस्थामा छ । एकातिर आज प्रत्येक नेपालीको टाउकोमा ३८ हजार ऋण थोपरिएको छ भने अर्कोतिर सत्ताधारीहरूको ठाँट, रबाफ र भड्किलो खर्चव्यवस्थालाई हेर्दा कुनै आलिसान राजा–महाराजाको भन्दा कम देखिँदैन । यसरी राज्यको ढुकुटीलाई आफ्नै बपौती सम्झेर राज्यलाई टाटपल्टाइरहेका छन् । जनप्रतिनिधिका नाममा राज्यलाई कङ्गाल बनाइरहेका छन । यो सम्पूर्ण जनसमुदायले बुझ्न आवश्यक छ र उनीहरूको लूटको स्वर्गलाई एकीकृत जनक्रान्तिको ज्वालाले जलाएर खरानी पारिदिनुपर्छ ।

अस्थिर र ढुलमूल सरकार

बहुदलको आगमनपछिका नेपालका सरकार र सरकार गठन–पुनर्गठनका सन्दर्भहरूलाई हेर्दा निकै घिनलाग्दो अवस्था छ । आफ्नो कुर्सीस्वार्थलाई केन्द्रमा राखेर सरकार गठन–पुनर्गठनका फोहोरी खेलहरू देखाएर विश्वलाई नै चकित पार्ने कार्य सत्तासीनहरूले गरेका छन् । आफ्ना झिनामसिना स्वार्थपूर्ति गर्न सरकारको छिनाझपटी र सरकार गठन–पुनर्गठनका सन्दर्भहरूलाई हेर्ने हो भने उदेकलाग्दो परिस्थिति छ । नेपालमा बहुदलीय व्यवस्थाको आगमनपछिको करिब ३० वर्षको आवधिमा सरकार परिवर्तनको सन्दर्भलाई हेर्ने हो भने हामी स्पष्ट हुन सक्छौँ– हाम्रो देशमा कुर्सीको छिनाझपटी कुन तह र कुन हदसम्मको भयो भनेर । दक्षिणएसियाका देशहरूमा मात्रै पनि सरकार फेरिएको सन्दर्भलाई हेर्ने हो भने श्रीलङ्कामा जम्मा ६ पटक सरकार परिवर्तन भएको छ । बङ्गलादेशमा ९ पटक, भारतमा ११ पटक, पाकिस्तानमा १३ पटक र हाम्रो देश नेपालमा २७ पटक सरकार बदलिएको छ । यो कुराले हाम्रो देशको राजनीतिक अस्थिरतालाई बताउँछ । सरकारको सञ्चालन यिनै पार्टीहरूले गरेका छन् । यिनै नेताहरू कुनै न कुनै रूपमा मन्त्री बनेका छन् । सरकारमा हाल क्रियाशील रहेका पार्टीहरू नेपाली काङ्ग्रेस, एमाले, राप्रपा, मधेसवादी र प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी नै हुन् । हाम्रोजस्तो देशका लागि यो निकै डरलाग्दो र भयायह अवस्था हो । राजनीतिक अस्थिरताको मुख्य कारण वर्तमान दलाल पुँजीवादी राज्यसत्ता नै हो । यसरी एकतिर सरकारका कामहरू झन्पछि झन् भयानक, भ्रष्टाचारी, षड्यन्त्रकारी र फासिवादी बन्दै जाने र अर्कोतिर उत्तरसाम्राज्यवादी शक्तिहरू हाम्रो देशको स्वाधीनतामाथि हस्तक्षेप गर्दै जाने अवस्थाले मुलुकको अवस्था जर्जर र पीडादायी दिशातर्फ गैरहेको छ । त्यसैले यो अस्थिर र ढुलमूल सरकारको दलाल पुँजीवादी चरित्रलाई बेलैमा नेपाली जनताले जरैबाट उखलेर फाल्नुपर्छ ।

अन्त्यमा

अहिले हाम्रो देश क्रान्ति र प्रतिक्रान्तिको भीषण टकरावमा छ । एकातिर दलाल पुँजीवादी राज्यसत्ताका सम्पूर्ण मतियारहरू टुप्पीदेखिकै बल लगाएर फासिवाद लादिरहेका छन् भने अर्कोतर्फ कमरेड विप्लवको नेतृत्वमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्न महासमरमा जुटेको छ । एकीकृत जनक्रान्ति हरेक दमन, षड्यन्त्रलाई चिर्दै नेपालका सम्पूर्ण भूभागहरूमा भुसको आगोजस्तै हुर्किएको छ । त्यो विशाल रूपमा जनताको भरोसायोग्य बन्दै गएको छ । सामाजिक दलाल पुँजीवादका मतियार केपी– प्रचण्ड गुट र बादल गृह प्रशासनले जतिसुकै दमन र षड्यन्त्रका तानाबानाहरू बुने पनि जनतासामु यी सबै निष्प्रभावी र किष्काम साबित हुनेछन् । हत्या, आतङ्क, लूटखसोटले टिकेको तिम्रो स्वर्गलाई जनताको शक्तिशाली एकता र झनै सुदृढ बन्दै गएको एकीकृत जनक्रन्तिले ध्वस्त पारिदिनेछ । यही सङ्कल्प, प्रतिबद्धता र दायित्वबोधसाथ उठौँ, जुटौँ, लागौँ र वैज्ञानिक समाजवाद स्थापना गर्ने सुन्दर सपना र दृढयात्रालाई सुनिश्चित पारौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :