अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र राज्यको कहर

संसारभरका क्रान्तिकारी महिलाहरू र मालेमावादीहरूले ८ मार्चमा ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् । श्रमिक महिलाहरूका लागि मात्र नभएर श्रमिक वर्गकै लागि पनि यो गौरवको दिवस हो । पुरुषप्रधान र शोषणमूलक समाजमा दोस्रो दर्जाका नागरिकका रूपमा रहेका श्रमिक महिलाले समान अवसरका लागि सङ्गठित रूपमा विद्रोह बोलेर अधिकार प्राप्त गरेको दिन भएकाले यो सबै उत्पीडित श्रमिकहरूको पनि पर्व हो किनकि विद्रोह र सङ्घर्षबिना अधिकार प्राप्त हुँदैन भन्ने यो दिवसको मूल सन्देश हो तर पनि आजसम्म महिलाहरू सत्ताबाट, पुरुषप्रधान समाज–संस्कृतिबाट, संविधान, कानुन, सामाजिक परिबन्धबाट उत्पीडित र उपेक्षित नै छन् । घरमा श्रीमान्, बाबुआमा, दाजुभाइलगायत नातासम्बन्धका पुरुषबाट, घरबाहिर परम्परागत, रूढिवादी, अन्धविश्वासी समाजव्यवस्था र अलिखित धार्मिक–असांस्कृतिक परम्पराबाट, पितृ वा पुरुषप्रधान खराब चिन्तनबाट, कानुनी परिबन्ध र बन्धनहरूबाट अझै पनि महिलाहरू उत्पीडित नै छन् । महिलाहरू श्रमिकका पर्याय हुन् । उनले घरको कोठाचोटादेखि खेतबारी हुँदै कार्यालयसम्म अनगिन्ती अनुल्लेख्य श्रम गर्नुपर्छ तर अझसम्म पनि महिलामाथिको विभेद हटेको छैन । मानसम्मानमा, तलबसुविधा र पारिश्रमिकमा, ज्यालामा विभेद छ । महिलालाई हेर्ने दृष्टिकोणमा विभेद छ । अविकसित सामन्ती समाजदेखि विकसित भनिएका पुँजीवादी समाजहरूसम्म महिलामाथि विभिन्न किसिमका शोषणहरू विद्यमान छन् । हुँदाहुँदा महिलाहरू किनबेचको साधन र मनोरञ्जन र उपभोगका औजार र पार्टपुर्जाहरू बनाइएका छन् । प्रकारान्तरले सामन्ती युगदेखि पुँजीवादी युगसम्म महिलामाथिको विभेद जारी छ । यसको अन्त्य हुनुपर्छ र महिलाहरूले सम्मानजनक र समान जीवनयापन गर्न पाउनुपर्छ ।

श्रमिक महिलाहरूले शोषण–उत्पीडनबाट उन्मुक्तिका लागि विगत लामो समयदेखि नै विद्रोह र सङ्घर्ष गर्दै आएका छन् । महिलाहरू क्रान्ति र युद्धमा पनि पुरुषसरह लामबद्ध हुँदै आएका छन् । निरन्तर श्रम, त्याग, समर्पण, प्रतिबद्धता र बलिदान दिँदादिँदै पनि महिलामाथिको विभेद, अत्याचार, दमन र अन्याय हट्न सकेको छैन । परम्परावादी शोषणमूलक पुरुषसत्तावादी चिन्तन विद्यमान रहेकै कारण महिलामाथिको विभेद अझै समाप्त हुनसकेको छैन, अझ बढिरहेको छ । महिलामुक्तिका लागि सङ्घर्ष पनि जारी छ । महिलामुक्ति महिलाको एकल सङ्घर्ष वा महिलावादी चिन्तनबाट मात्र सम्भव छैन । वर्गसमाजमा महिलामाथिको विभेद र शोषणको अन्त्य पनि वर्गसङ्घर्षबाट मात्र सम्भव छ ।

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले श्रमिक तथा उत्पीडित महिलाहरूको सङ्घर्षशील गौरवगाथा बोकेको छ । यो विद्रोह र एकताको प्रतीकका रूपमा स्थापित छ । श्रमिक–सर्वहारावर्ग पक्षधर आमूल परिवर्तनका पक्षपाती क्रान्तिकारी महिलाहरूले यो दिवसलाई वर्गीय मुक्तिसँगै महिला मुक्तिको नारा र सन्देशसहित मनाएका छन् । यद्यपि यो दिवस पनि वर्गसमाजको चरित्रअनुसार दुई धारामा विभक्त हुँदै आएको छ । विद्यमान सत्तासंस्कृतिका पालनकर्ता महिलाहरूले यसलाई फेसनका रूपमा तीज वा होलीजस्तै विद्रुप बनाएका छन् । धनाढ्य पुरुषका दासी वा खेलौना बन्न पाउनुलाई गौरव गर्ने दास मनोवृत्ति भएका अचेतन र छाडा संस्कृतिका वाहकहरूले यसलाई डलरमा साट्दै आएका छन् तर यो आमप्रवृत्ति भने होइन । आमूल परिवर्तनका पक्षपाती क्रान्तिकारी मालेमावादी महिलाहरूले यसलाई श्रमिक महिलाको मुक्ति र वर्गसङ्घर्षसँगै गाँसेर मनाएका छन् । तर दुःखको कुरा, दलाल पुँजीवादी सत्ताले क्रान्तिकारी महिलाहरूलाई विभिन्न बहानामा जेल र हिरासतमा सडाउन छाडेको छैन । नेपालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष, महासचिवलगायत क्रान्तिकारी महिलानेत्रीहरूलाई यो दलाल पुँजीवादको रक्षक सरकारले प्रतिबन्ध लगाउँदै जेलमा सडाएको छ । क्रान्तिकारी महिलाहरूले जेल र हिरासतमै श्रमिक महिला दिवस मनाएर विद्रोह बोलेका छन् भने खुला जेलमा रहेकाहरूलाई शुभकामना सन्देश प्रवाह गरेका छन् । उनीहरूले महिलाहरूमाथि पितृसत्ताद्वारा थोपरिएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक उत्पीडनका विरुद्ध सङ्घर्ष गर्नुका साथै वर्गीय मुक्तिबिना महिला मुक्ति सम्भव छैन भन्ने सन्देश प्रवाह गर्दै श्रमिक महिलाको मुक्तिका लागि एकीकृत जनक्रान्तिमा हेलिन पनि आह्वान गरेका छन् । वैज्ञानिक समाजवादका पक्षधर क्रान्तिकारी महिलाहरूले महिलामुक्तिसँगै समाजमा भएको अन्याय, अत्याचार, शोषण र दमनको पनि विरोध गरेका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा वकालत पनि गरेका छन् । साथसाथै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको अभावले तड्पिरहेका गरिब जनताका पक्षमा आवाज पनि उठाएका छन् । पितृसत्तावादी राज्यव्यवस्थाले महिलाहरूमाथि गरेको उत्पीडनको अन्त्य र विशेषाधिकारसहित राज्यका समग्र क्षेत्रमा समान अधिकारका पक्षमा आन्दोलन गर्दै आएका छन् र श्रमिक महिलाहरूको मुक्तिसँगै वर्गमुक्तिको सपना देखेर वर्गसङ्घर्षको मैदानबाटै श्रमिक महिला दिवसको आरम्भ गर्ने समाजवादी महिला नेत्री रोजा लक्जेम्बर्ग, क्लारा जेट्किनहरूको दृढता, साहस र शौर्यलाई मुक्ति नहुँदासम्म जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । रोजा लक्जेम्बर्ग महिला मुक्तिका लागि क्रान्तिको नेतृत्व गर्दागर्दै बलिदान दिने अग्रज महिलानेत्री थिइन् । नेपालका क्रान्तिकारी महिलाहरूले पनि आवश्यकताअनुसार क्रान्तिमैदानमा रोजा बन्ने शपथ खाएका छन् । एकीकृत जनक्रान्तिमार्फत दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवाद निर्माणका लागि यो एउटा बलियो आधार हो । यसका लागि नेपालका क्रान्तिकारी महिलाहरूले अघि सारेको वर्गीय राज्यसत्ताबाहेक सबथोक भ्रम हो भन्ने मान्यतालाई आत्मसात गर्दै पितृसत्तावादी दलाल संसदीय व्यवस्थाका ठेकेदारहरूले शाहीशासनको झल्को आउने गरी चलाएको फासिवादी दमनको प्रतिरोध गर्दै राजनीतिक हिसाबले राज्यसत्ताका समग्र क्षेत्रमा विशेषाधिकारसहित समान अधिकार कायम गर्नु, आर्थिक क्षेत्रमा सम्पत्तिमा समान अधिकार कायम गर्नु, बेरोजगारीको अन्त्य गर्दै महिलाहरूलाई रोजगारी सिर्जना गर्नु, घरेलु कामको उचित मूल्याङ्कन गर्दै पारिश्रमिकको व्यवस्था गर्नु, उच्चशिक्षा, स्वास्थ्य र अध्ययन निःशुल्क गराउनु अपरिहार्य बनेको छ । यसका साथै सामाजिक र सांस्कृतिक क्षेत्रमा महिलाहरूमाथि लादिएको घरेलु हिंसा, विभेदकारी संस्कार र संस्कृति अन्त्य गरी सम्मानित जीवन जिउने संस्कार र संस्कृतिको विकास गर्नु आवश्यक छ । उक्त अधिकार प्राप्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्थाबाहेक विद्यमान व्यवस्थाबाट सम्भव छैन । यसका लागि सबैले एकीकृत जनक्रान्तिको मार्गमा लामबद्ध हुनुको विकल्प छैन । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :