जनपत्रकार संगठनद्वारा पत्रकार महर्जनलाई विनासर्त तत्काल रिहा गर्न माग

काठमाडौँ : जनपत्रकार संगठन, नेपालले पत्रकार जीतेन्द्र महर्जनलाई बिनाकारण गिरफ्तार गरी झुठा मुद्दामा फसाउने सड्यन्त्र गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जनपत्रकार संगठन नेपालको सचिव सिर्जना तिम्सिना र कोषाध्यक्ष जानकी चौधरीले बुधबार प्रेस विज्ञप्ति जारी गरी समाचार लेखेकै आधारमा पत्रकारलाई पटक–पटक गिरफ्तार गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भिर प्रहार भएको भन्दै यस्तो कार्यप्रति घोर आपत्ति जनाउदै पत्रकार महर्जनलाई अविलम्व रिहा गर्न माग गरेका छन् ।

संगठनका सचिव सिर्जना तिम्सिना र कोषाध्यक्ष जानकी चौधरीको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले कहिले मिडिया काउन्सील विधेयक त कहिले सूचना प्रविधिको विधेयकका नाममा मिडिया र सञ्चारकर्मीहरुमाथि नियन्त्रण गर्ने प्रयास जारी राखेको सर्व्विदितै छ । सरकारले पटक पटक पत्रकार र सञ्चारकर्मीहरुमाथि पक्राउ गर्ने झुट्टा मुद्धा लगाउने कार्य गर्दै आएको छ ।’

सचिव र कोषाध्यक्षको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा पछिल्लो पटक फेरी जनपत्रकार संगठन, नेपाल काठमाण्डौं जिल्ला संयोजक एवं न्हुगु जोजोलोपा साप्ताहिकका प्रधान सम्पादक र रेडियो मिर्मिरेका कार्यक्रम सञ्चालक जीतेन्द्र महर्जनलाई सरकारको निर्देशनमा प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । नियमित समाचार संकलन तथा प्रकाशनको काम सकेर कार्यालयबाट घर फर्कदै गर्दा फागुन १३ गते मंगलवार साझ कीर्तिपुरको नयाँ बजारबाट प्रहरीले महर्जनलाई गिरफ्तार गरेको हो । बिनाकारण पत्रकार महर्जनलाई गिरफ्तार गरी झुठा मुद्धामा फसाउने सड्यन्त्र गरिएकोप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

जनपत्रकार संगठनको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा पत्रकारलाई पटक पटक गिरफ्तार गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भिर प्रहार हो । यस्तो कार्यको संगठन घोर आपत्ति जनाउदै पत्रकार महर्जनलाई अविलम्व रिहा गर्न माग गर्दछ । साथै सम्पूर्ण पत्रकारलाई स्वतन्त्र र निर्वाधरुपमा समाचार संकलन, संप्रेसण तथा प्रशारण गर्न पाउँने अधिकारको उपभोग गर्नबाट वन्चित नगराउन र स्वतन्त्रपूर्वक आफ्नो जीम्मेवारी पूरा गर्न वातावरण सिर्जना गर्न, गराउन नेपाल पत्रकार महासंघ,पत्रकारसगँ सम्बन्धित संघ संगठन,नागरिक समाज, मानवअधिकारवादी संघसंस्था सबैमा हार्दिक अनुरोध गर्दछौं । अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षमा रहेको दावी गर्ने सरकारको यो व्यवहारले कदापी पनि उसको प्रतिवद्धतालाई पुष्टी गर्दैन । अतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विद्यमान संवैधानिक व्यवस्थाको समेत प्रतिकुल हुने यस्तो कार्य अविलम्ब रोक्न माग गर्दछौं ।’

सचिव तिम्सिना र कोषाध्यक्ष चौधरीको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसैबीच हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन पनि माग गर्दछौं । केही समय यता उनको निवास वरपर शंकास्पद व्यक्तिहरुले गतिविधि बढाएको र असुरक्षा महसुस भएको भन्दै शिवाकोटीले सार्वजनिक रुपले महासंघमा जानकारी दिएबाट पनि पत्रकारको सुरक्षाको जोखिम बढ्दै गएको हुनाले यस तर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :