सरकार नै भ्रष्ट र राष्ट्रघाती


काठमाडौँ : केपी वली नेतृत्वको सरकार एकपछि अर्को भ्रष्टाचारको काण्डमा मुछिएको छ । भ्रष्टाचारको प्रश्नमा ‘शून्य सहनशीलता’ को नारा दिएको सरकार र मन्त्रीहरू नै भ्रष्टाचारका नाइकेका रूपमा बदनाम भएका छन् । प्रम वलीले नायकका रूपमा चित्रण र रक्षा गर्दै आएका उद्दण्ड र असंस्कृत मन्त्री गोकुल बास्कोटा पछिल्लो समयमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा मुछिएका छन् र त्यही कारण ‘नैतिकताका’ आधारमा राजीनामा दिन बाध्य भएका छन् ।

एक साताअघि नै प्रम वलीलाई सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको अनियमितता पूर्वसङ्केत हुँदाहुँदै बचाउ गर्न खोज्नु र मन्त्री बास्कोटालाई लगामबिनाको घोडा बनाउनुबाट भ्रष्टाचारकाण्डमा पर्दापछाडि प्रम वली नै रहेको आमधारणा छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएका कारण मन्त्री बास्कोटाको भ्रष्टाचार केवल आर्थिक प्रश्नमा मात्र सीमित छैन । मन्त्री बास्कोटाको भ्रष्टाचार प्रमाणित भयो भने त्यो भयानक देशद्रोहसमेत हुनेछ । त्यस्तो अवस्थामा निज अभियुक्तलाई देशद्रोहको अपराधमा समेत मुद्दा चलाउनुपर्ने, दण्डित गर्नुपर्ने देखिन्छ । प्रम वलीका मुख्य विश्वासपात्र र सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाको भ्रष्टाचारकाण्डले सिङ्गो देशको सूचना, गोपनीयता र सुरक्षाको विषयमा प्रश्नचिह्न लागेको छ ।

आर्थिक प्रलोभनका कारण उनले देशको सुरक्षा प्रणाली र गोपनीयतामाथि नै खेलबाड गरेका त छैनन् ? अनेक प्रश्नहरू उठेका छन् । प्रम वली नै राष्ट्रघाती, भ्रष्ट र दलालरूपी ‘ नन्दीभृङ्गी’ बोकेर निर्लज्ज यात्रा गरिरहेका छन् । त्यसकारण भ्रष्टाचार र राष्ट्रघाती सरकारका विरुद्ध विभिन्न राजनीतिक पार्टीहरूले सङ्घर्ष गरिरहेका छन् भने विप्लव नेतृत्वको नेकपाले वली सरकारलाई बर्खास्त गर्नुपर्ने नारा उठाएको छ । अब वली सरकार नैतिक सङ्कटमा फसेको छ । यो सरकारले देशका समस्याको समाधान होइन, बल्झाउँदै लगेको छ । वली सरकारले देशलाई बर्बादीबाहेक अरू दिन सक्दैन ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा शान्तिपूर्ण सङ्घर्ष गरिरहेका महिला, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, किसान, मजदुर तथा विद्वान् सबैलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने गरिएको छ । भ्रष्टाचार र राष्ट्रघाती अनुहार छोप्न फासिवादी कार्यशैली सरकारले अवलम्बन गरिरहेको छ । गिरफ्तार गरिएका नेता–कार्यकर्तालाई चरम मानसिक र शारीरिक यातना दिइएको छ । आलोचनाको स्वरलाई निषेध गरेर फासिस्ट राज्यव्यवस्था कायम गर्न सकिन्न ।

प्रम वली र मन्त्री बास्कोटाको उद्दण्डता, निर ङ्कुश कदम यस्तै भ्रष्टाचार, राष्ट्रघात र देशदोहन गर्नका लागि हो ? यस्ता प्रश्न उठाउँदै नेकपाका महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै फासिस्ट कदम बन्द नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । वली सरकार बर्खास्त गर्न प्रतिरोध सङ्घर्षमा उत्रिन पनि महासचिव विप्लवले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :