नेकपाका नेता माइला र नविनसहित ४ जना अदालतबाटै गिफ्तार

रिपोटिङ्गको लागि अदालत पुगेका ३ पत्रकार ३ घन्टा प्रहरी नियन्त्रणमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका ब्युरो इन्चार्ज माइला लामा र अर्का केन्द्रीय सदस्य नबिन विक सहित ४ जनालाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको छ । उच्च अदालत पाटनको आदेशमा आइतबार रिहा भए लगत्तै माइला, नविन, अनेम संघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यय र इश्वर दमाईलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो । बम बिस्फोटको मुद्धामा थुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । तर उनिहरू बिरुद्ध प्रहरीमा अर्को मुद्धा रहेको भन्दै  अदालत परिसरबाटै उनीहरूलाई पुनः गिरफ्तार गरिएको हो ।

ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालय नख्खुमा फागुन १० गत भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै लामासहित उनीहरूलाई पुर्पक्षमा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै रिहा गर्न आदेश दिएको हो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको थियो ।

यसैबीच फोटो खिच्न अदालत पुगेका पत्रकारहरुलाई समेत प्रहरीले गिरफ्तार गरेको छ । नेकपा नेताहरु रिहा हुने जानकारी पाएपछि रिपोर्टिङका लागि अदालत परिसर पुगेका ३ पत्रकारलाई प्रहरीले गिरफतार गरेको थियो । पत्रकारहरु अथक मासिकका प्रकाशक तथा प्रधानसम्पादक खम्बु चन्द, अनलाइन डबली डटकमका सम्पादक पत्रकार धनन्जय बुढा र रेडियो मिर्मिरेका पत्रकार शाहस भट्टलाई प्रहरीले गिरफ्तार थियो । तर उनीहरुलाई प्रहरीले ३ घण्टापछि रिहा गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :