दिग्भ्रम

कविता

एक दिन रुद्रले
तत्तत् आकृतिलाई
देखाउँदै भनेको थियो–
यी अवसरवादी हुन्
यी गिटगिटधारी हुन्
यी शासनका हिमायती हुन्
यथार्थमा यी बर्दीधारी
नियोजित षड्यन्त्र हुन्
यिनले न आमाको पीडा बुझ्छन्
न त बाबुको काँधको जुवा देख्छन् !
त्यो घडी
मलाई लागेको थियो
रुद्र वmेही भड्किएको छ
ऊ वmेही तड्पिएको छ
सहमत हुन सकिनँ म उसको संवादमा
प्रतिवाद गरेँ–
मैले सम्मान गर्दै आएका
मैले विश्वास गर्दै आएका
यी पात्रहरू
कसरी यति तल झर्न सक्छन् ?
म गर्व गर्थें यिनलाई हेरेर
र मनमनै भन्थेँ–
यी राष्ट्रनिर्माता हुन्
यी देशभक्त हुन्
यी जनताका संरक्षक हुन्
यी भरोसाका जङ्गेपिलर हुन् !
जब कसैले
घरमा ढुङ्गा हान्यो
बाबुको कठालो समात्यो
आमाको ढुङ्ग्री तान्यो
दाइको पिठ््युँमा छुरा रोप्यो
बहिनीको चुल्ठो लुछ्यो
तब चिच्याएँ म
ए बर्दीधारी हो !
लौ न बचाऊ
मलाई यो आततायी हमलाबाट !
एकाएक स्खलित भए
आज ती विश्वासका पात्रहरू
जसले माटोको रक्षा गर्न सकेनन्
स्वाभिमान र स्वाधीनताको
सुरक्षा गर्न सकेनन् !
यसबेला म विह्वल भइरहेको छु
स्नेही रुद्रको
सतर्कतापूर्ण आग्रहलाई सम्झेर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :