वली सरकारको आत्मसमर्पण

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले गरेका राष्ट्रघात एवम् जनघातका कारण देश दिन–प्रतिदन समस्यामा फस्दै गएको छ । जनताका समस्याहरू दिनप्रतिदिन जर्जर बन्दै गएका छन् । राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत क्षेत्रमा विदेशी हस्तक्षेप बढिरहेको छ । राष्ट्रियताको सवाल निकै गम्भीर बनिरहेको बेला नेपालका शासकहरू पालैपालो भारतीय शासकका सामु लम्पसार परिरहेका छन् । यो आत्मसमर्पणवादी चरित्र हो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाल दिनदिनै विकराल बन्दै गएको छ । दलालहरूले कब्जा गरेको बजारमा उभयोग्य वस्तुको मूल्य कतिसम्म बढेको छ भने सामान्य किराना पसलमा प्याजको मूल्य ‘अढाइ डलर’ भनेर मूल्यवृद्धि चियागफको विषय बन्ने गरेको छ । सरकारी रबैयाकै कारण जनतामा व्यापक असन्तुष्टि र आक्रोश पैदा भएको छ । जनता केन्द्र सरकार र स्थानीय सरकारले लगाएको दोहोरो करको मारमा परिरहेका छन् । देशको सम्पत्ति दोहन गर्ने विदेशी कम्पनीलाई छूट दिइएको छ तर नाङ्लोमा सामान राखेर बेच्ने नाङ्ले व्यापारी, किसानले पालेको एउटा कुखुरामा समेत कर लगाएर जनताको ढाड सेकिएको छ ।

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूमि भारतीय साम्राज्यवादले आफ्नो नक्सामा पारेपछि नेपाली जनतामा अभूतपूर्व राष्ट्रिय जागरण र एकता पैदा भएको छ । राष्ट्रियताका पक्षमा उठेको नागरिकको आवाज र जागरणलाई मत्थर पार्न लम्पसारवादी सरकारले खोक्रो प्रचार मात्र गरिरहेको छ । वास्तवमा राष्ट्रियता रक्षाका लागि केही गरेको छैन र गर्नसक्ने अवस्थामा पनि छैन । राष्ट्रियताका पक्षमा गरिएका प्रदर्शनहरूमा समेत प्रशासनले बुट र लाठीको प्रयोग गर्दै नाङ्गो रूपमा दमन र हस्तक्षेप गरेको छ जसको कारण सरकार अझै जनताको दृष्टिमा अलोकप्रिय बन्दै गएको छ । यी सबै घटनाक्रमहरूले गर्दा पनि प्रधानमन्त्री केपी वलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको सहजै अनुभूति गर्न सकिन्छ ।

भारतले नेपाली भूमि हस्तक्षेप गरेर नक्सा सार्वजनिक गर्दा पनि भाषणमा बाहेक सरकारी तवरबाट कुनै ठोस प्रगति भएको देखिँदैन । राष्ट्रियताका पक्षमा आवाज उठाउने शक्तिमाथि प्रतिबन्ध लगाइएको छ । जनताले राष्ट्रियताका पक्षमा गरेका प्रदर्शनहरूमा हस्तक्षेप गरी निरङ्कुश पञ्चायती व्यवस्था र जहानिया निरङ्कुश राणा शासनको झल्को दिइएको छ । मानवतस्कर, लागूपदार्थ कारोबारीलाई छूट दिइएको छ । मानव तस्कर र लागूपदार्थको जालो कति धेरै बलियो भैसकेको छ भने नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै अन्तर्राष्ट्रिय तस्करहरू सजिलै ओहोरदोहोर गरिरहेको प्रहरीको अपराध अनुसन्धान ब्युरोकै रिपोर्टले देखाएको छ ।

ठूला र शक्तिसम्पन्न राष्ट्रहरूको दृष्टिमा परिरहेको स्वाधीन राष्ट्र नेपालमा विदेशी हस्तक्षेप र चलखेल निकै बढिरहेको छ । अमेरिकाले हिन्द– प्रशान्त रणनीतिबाट युरोपियन युनियनले सङ्घीयता र धर्मनिरपेक्षताका नामले भारतले हिन्दु धर्मका नामबाट हस्तक्षेप अघि बढाइरहेका छन् । सरकारले जतिसुकै शान्ति र समृद्धिको कुरा फलाके पनि देशमा शान्ति र समृद्धि उल्टो दिशातिरबाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :