देशव्यापी चुनाव खारेजी अभियान तीव्र

giraftar1

अम्बिका चन्द/काठमाडौं, असार ७,  दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा एकातिर सरकारले शान्तिसुरक्षाका नाममा नेकपाका कार्यकर्तामाथिको निगरानी, गिरफ्तारी र धरपकडलाई तीव्रता दिएको छ भने अर्कोतिर चुनाव बहिष्कार, खारेजी तथा प्रतिरोध अभियान देशव्यापी रूपमा चलिरहेको छ ।
निर्वाचनका लागि मनोनयन दर्ताको साइतमै ५ नम्बर प्रदेशअन्तर्गतको कपिलवस्तुमा शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटमा परी ९ जना घाइते भएका छन् । त्यसमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते हुनेमा काङ्ग्रेस र माओवादी केन्द्र (माके) का कार्यकर्ता रहेका छन् । सोही दिन रोल्पा र प्युठानको सीमावर्ती इलाकामा युवा दस्ताले चुनावविरोधी नारा लगाउँदै मार्चपास गरेको छ । चुनाव खारेजी अभियान लेखिएको पोसाकमा सजिएका दर्जनौँ युवाको टोलीले चर्को नाराबाजीपछि कोणसभा गरेको छ । पाँच नम्बर प्रदेशअन्तर्गत पर्ने दाङको शान्तिनगरमा स्थानीयले निर्वाचन सामग्री कब्जामा लिएर जलाइदिएका छन् । दाङकै देउखुरी, टिकुलीगढ, ठकुरीकोट, तुलसीपुर नपाअन्तर्गत पर्ने बिजौरी, सुन्दरनगर र पश्चिम दाङको शान्तिनगरलाई निर्वाचन प्रचारप्रसार निषेधित क्षेत्र घोषणा गरिएको छ ।
मनोनयन दर्ताको पूर्वसन्ध्यामा देशव्यापी रूपमा नेकपाका प्रत्येक ब्युरो र जिल्लाहरूले उम्मेदवारी मनोनयन फिर्ता गर्न अपिलसहित वक्तव्यहरू जारी गरे । सोही दिन ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका २ मा वडा अध्यक्षका उम्मेदवार मनकुमार पतङ्वा अपहरणमा परे ।
यस्तै कतिपय ठाउँमा उम्मेदवारहरूलाई चेतावनीपत्रसहित घरहरूमा कालो झन्डा गाडिएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर पदका एमाले उम्मेदवार द्वारीकालाल चौधरीको घरमा कालोझन्डा गाडिएको छ । उता दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवारहरू काङ्ग्रेसका गेहेन्द्र गिरी, एमालेका घनश्याम पाण्डे र माओवादी केन्द्रका शेषुराम भण्डारीको घरमा कालोझन्डा गाडिए । यस्तै घोराही उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार काङ्ग्रेसका भूपबहादुर डाँगी, एमालेका नरुलाल चौधरी र माओवादी केन्द्रका जीवन गौतमको घरमा कालोझन्डा राखिएको छ ।

यसैबीच शान्तिपूर्ण तवरले चुनाव खारेजी अभियानमा रहेका नेकपाका कार्यकर्तालाई प्रहरीले गिरफ्तार र धरपकड गर्दै उत्तेजित बनाउने काम गरिरहेको छ । बुधबार झापाको गरामुनिबाट नेकपाका केन्द्रीय सदस्य एवम् मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बू ‘सुमन’ लाई पक्राउ गरेको छ । उहाँसँगै मेची ब्युरो सदस्य डिल्ली मैनाली र झापा सेक्रेटरी तारा थापालाई पनि घरमा खाना खाइरहेको बेला प्रहरीले पक्राउ गरेको छ । मैनाली केही समय पहिले माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारको पद परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । आफ्ना नेता–कार्यकर्ता पक्राउको विरोधमा नेकपा मेची ब्युरोले एकदिने अञ्चल बन्दको आह्वान ग¥यो । बन्दको कारण मेचीका चारवटै जिल्ला ठप्प भए । यस्तै झापा जिल्ला इन्चार्ज कृष्ण अधिकारी ‘उमेश’ र पत्रकार पारस तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डुडामारीबाट जेठ ४ गते जनभेटघाट गरिरहेको बेला पक्राउ गरिएको थियो ।  

यस्तै ५ गते प्युठानबाट युवाका केन्द्रीय सदस्य हरि बस्नेतलाई पसलमा चिया खाइरहेको बेला जुम्रीबजारबाट प्रहरीले पक्राउ गरेको छ । बस्नेतलाई पक्राउ गरेको विरोधमा स्थानीय युवाहरूले २ घन्टा यातायात तथा बजार बन्द गराएका छन् । साथै हस्ताक्षर सङ्कलन गरी विज्ञप्ति निकालेका छन् भने आस्थाकै आधारमा विद्यार्थी पक्राउको विरोधमा २ गते देखि प्युठानमा सुरु गरिएको शैक्षिक हडताल अहिलेसम्म जारी छ । यसमा सम्बन्धित पक्षले वास्ता नगरेकाले पठनपाठनसमेत बन्द छ ।
असार ४ गते नै दाङ्गको भालुवाङबाट नेकपाका जिल्ला सदस्य सुरज परियार र ५ गते तुल्सीपुरबाट अमर केसीलाई पक्राउ गरिएको छ । सोही दिन अर्घाखाँचीबाट युवाका केन्द्रीय सदस्य योगेन्द्र चौहान र पश्चिम दाङबाट अखिल क्रान्तिकारीका पूर्वजिल्ला कोषाध्यक्ष तथा नेकपाका जिल्ला सदस्य जनक विकलाई पक्राउ गरिएको छ । असार ५ गते नै सरकारले कोसी ब्युरोअन्तर्गत धनकुटा इन्चार्ज माधव गौतम ‘आकाश’ र धनकुटा नगर सेक्रेटरी राजन अधिकारीलाई पक्राउ गरेको छ । यस्तै असार ४ गते रूपन्देहीको बुटवलमा घरमै बसिरहेको बेला नेकपाका पार्टी सदस्य तुल्सी भण्डारीलाई पक्राउ गरेको छ ।
यसैबीच देशव्यापी रूपमा आफ्ना नेता–कार्यकर्ता पक्राउको विषयलाई लिएर नेकपाले विज्ञप्तिमार्फत बिनासर्त रिहाइको माग गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै संसद्वादी सरकारले कलाविहीन नाटक गरिरहेको र कथित शान्तिसुरक्षाका नाममा आफ्ना निःशस्त्र कार्यकर्ताहरूलाई गिरफ्तार तथा धरपकड गर्नुलाई जङ्गली शासनको संज्ञा दिनुभएको छ ।
यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य, पर्यटन विभाग प्रमुख तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले गिरफ्तार नेकपाका नेता–कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गर्नुुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले गिरफ्तारीको विरोध पनि गर्नुभएको छ ।
यस्तै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपाका नेता कायर्कर्ता पक्राउको विषयलाई लिएर आपत्ति जनाउनुभएको छ ।
…………..
योभन्दा पहिले नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले वक्तव्यमार्फत नेकपाका नेता–कार्यकर्ता गिरफ्तार गर्नु निन्दनीय कार्य भएको बताइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :