थबाङमा भएको के हो ?

thaban g 1

रातो खबर संवाददाता/असार ७, असार ४ र ५ गते विभिन्न सञ्चारमाध्यममा विप्लव नेतृत्वको नेकपाले रोल्पा जिल्लाअन्तर्गतको ऐतिहासिक गाउँ थबाङको चुनावमा भाग लिएको सनसनीपूर्ण खबरले तातेको थियो । पार्टी केन्द्रको निर्देशनविपरीत स्थानीय पार्टी चुनावमा गएको प्रचार भयो । सो सम्बन्धमा रोल्पा सेक्रेटरी जागृतिले असार ४ गते साँझ विज्ञप्ति जारी गर्दै “…आज रोल्पाको थबाङमा हाम्रो पार्टीका तर्फबाट उम्मेदवार मनोनयन दर्ता भनेर भ्रमपूर्ण समाचारहरू आइरहेकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीका तर्फबाट उम्मेदवार मनोनयन दर्ता गरेको भनिएका व्यक्तिहरू हाम्रो पार्टीका सदस्य नभई दलाल संसदीय व्यवस्थाको भ्रमजालमा परेका व्यक्तिहरू हुन् । त्यसैले यी व्यक्तिहरूको भ्रममा नपरी चुनाव खारेजी अभियानमा डट्न सबैमा अपिल गर्दछौँ” भन्नुभएको छ । त्यसैगरी असार ५ गते ई–रातोखबर अनलाइन खबरलाई अन्तर्वार्ता दिँदै राप्ती ब्युरो इञ्चार्ज बलबहादुर वली ‘शीतल’ ले रोल्पामा क्रान्तिकारी धाराको तेजोबध गर्न केही लफङ्गाहरूलाई बुख्याँचाझैँ करेसाबारीमा ठड्याएर ठूलो प्रचारयुद्ध छेडिएको छ । कुनैबेला हाम्रो पार्टीमा रहेका लफङ्गाहरूलाई उभ्याएर पार्टीको बढ्दो प्रतिष्ठा र क्रान्तिकारी धारालाई तेजोबध गर्न खोजिएको छ” भन्नुभएको छ ।

19265107_1962380514032012_651234888_n

आज जनयुद्धको उद्गमस्थल रोल्पालाई आत्मसमर्पण गराउन, जनयुद्धको क्रान्तिकारी छवि धुमिल गराउन र जनतालाई दास बनाउन अर्बौं रकमको बाढी लगाएर संसदीय व्यवस्थाको नयाँ दलाल प्रचण्ड समूहलाई साम्राज्यवादले रोल्पामा खटाएको छ । देख्दा सामान्य स्थिति छ । ठूल्ठुला झडप छैनन् तर दुई विचार, दुई सत्ता र दुई प्रवृत्तिका बीचमा सङ्घर्ष पेचिलो बन्दै गएको देखिन्छ । उतारचढावहरू ज्वारभाटाहरूझैँ आउने र जाने भइरहेका छन् । आठौँ महाधिवेशनको धक्काबाट घाइतेभएको दलाल सत्ताले चुनावको अवसर पारेर प्रतिधक्का दिन खोजेको छ ।
“कुनैबेला पार्टीमा रहेका आज कुनै तहमा नभएका र संसदीय पार्टीसँग साँठगाँठ भएका केही लोभीपापी र लफङ्गाहरूले पार्टीलाई बदनाम गरेर निजी स्वार्थपूर्ति गर्न खोजेका हुन् । स्थानीय पार्टी समिति पार्टी केन्द्रको नीतिमा अविचलित छ”, नेता शीतलले भन्नुभएको छ । थबाङमा विप्लव नेतृत्वको नेकपाले चुनावमा भाग लिएको भन्ने कुरा सत्य होइन । बरु कतिपय मान्छेहरू चुनावरूपी बाढीमा बगेका हुनसक्छन् । बजेटरूपी बल्छी हेरेर कतिपयका ग्रन्थीहरू रसाएका हुनसक्छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :