सत्ताको मात

शासकहरू जब सत्तामा हुन्छन् उनीहरूमा अनौठो किसिमको मात चढेको देखिन्छ । प्रायः शासकहरू सत्तामातले दृष्टिविहीन मात्र होइन, श्रवणशक्तिशून्य र निर्विवेकी पनि हुन्छन् । अल्पायुको प्रतिक्रियावादी सत्तामा बसेका केपी वलीहरू होऊन् वा पुष्पकमल दाहालहरू होऊन्, रामबहादुर थापाहरू होऊन् वा गोकुल बास्कोटाहरू होऊन्, उनीहरूका अभिव्यक्ति, कार्यशैली र जीवनपद्धतिलाई हेर्दा लाग्छ, उनीहरू अजम्मरी छन् । अरू सबै उनीहरूका रैती हुन् । अरू सबैले उनीहरूका अहंकारी र स्वेच्छाचारी आदेश र फरमानहरू लुरुलुरु मानेर ‘त्वम् शरणम्’ हुनुपर्छ । मानौँ उनीहरू हिजोका मैमत्त राणा र राजाहरू हुन् । उनीहरूको श्रीपेच र गाथगादी ताक्ने जोकोही पनि समातिन सक्छन्, हिरासत र जेलमा कोचिन सक्छन् र दोहोरो भिडन्तका नाममा मारिन सक्छन् । सर्पको मुखमा परिसकेको भ्यागुताले आफूअघिल्तिरबाट उड्दै गरेको पुतलीलाई सिकार बनाउन खोजेझैँ उनीहरू आफ्ना सामुन्ने फेलापरेका र फेला नपरेका पनि सिकारहरू खोजिरहन्छन्, खाइरहन्छन् । नरभक्षी पशुझैँ उनीहरू धमाधम विद्रोहीहरूको हत्या गरिरहेका छन् र विप्लवीहरूको रगतले मातिरहेका छन् । त्यसैले उनीहरू जे पनि भन्छन्, जे पनि गर्छन् ।

केही दिनअघि दलाल संसदीय व्यवस्थाको फासिवादी सरकारका प्रवक्ताले आमूल परिवर्तनकारी शक्तिविरुद्ध गरेको बकबास सुन्दा जोकोही पनि स्वविवेकीहरूलाई लाग्छ, यिनीहरू सत्ताको मातले मैमत्त बनेका छन् । दूध पनि धेरै उम्लियो भने पोखिन्छ भन्ने र ‘लूटको धन फुपूको सराद्दे’ भन्ने परम्परागत उखानहरूलाई पछि पार्दै सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता विद्रोही शक्ति नेपाल कम्युनिस्ट पार्टीमाथि होच्याएर बतुराए । यतिबेला वार्ता नेकपाका लागि मुख्य, आवश्यक, चासो र चिन्ताको विषय होइन । दलाल संसदीय व्यवस्था सबैतिरबाट फतक्क गलिसकेको छ । पहिलो त यो जनविरोधी व्यवस्था भएकाले यसको आयु आफैँ पनि घटिरहेको छ । अझ शक्तिशाली एकीकृत जनक्रान्तिको धक्काका कारण त यो पलपल धर्मराइरहेको छ । यस्तो धोद्रो पसेको रूखमाथि बसेर केही थान गोकुल बास्कोटाहरू विद्रोही नेकपातिर हेर्दै बत्तुराइरहेका छन् र बाँदरले जस्तै रूख हल्लाइरहेका छन् । उनीहरूलाई नेकपालाई गाली गरेर र होच्याएर आफ्नो आयु बढाउने आत्मरति बढेको देखिन्छ । नेकपालाई नहोच्याएको दिन उनीहरूको निद्रा पर्दैन । शाहीकालका शासकहरु पनि यस्तै रोगले ग्रस्त थिए । राष्ट्रद्रोही कहलिएका सीके राउतहरूलाई जेलभित्रै अँगालो हाल्न पुग्ने र देशभक्त, क्रान्तिकारी, आमूल परिवर्तनकारी शक्ति नेकपालाई होच्याउने रोग दक्षिण र पश्चिमतिरबाट सल्किएको महारोग हो । यो असाध्य रोगले उनीहरूको दृष्टिशक्ति र विवेकलाई ह्रास गराउँदै क्रमशः शून्यतातिर लगिरहेको बुझ्न कुनै कठिनाइ छैन ।

केही रोगहरू यस्ता हुन्छन् जुन रोगको उपचार असम्भवजस्तै छ । यस्तै मनोरोगी र अहंकारीहरूलाई नै पेट फुलाएर मर्ने भ्यागुताको संज्ञा दिइएको हुन सक्छ । जनताको अथाह रगत, पसिना, त्याग, शौर्य र बलिदानबाट निर्मित सम्पूर्ण शक्ति, सत्ता, सेना, हतियार बुझाएर आत्मसमर्पण गरेमा वार्ता हुनसक्ने शैलीको वलीका प्रवक्ताको बकबासलाई पेट फुलाएर मर्ने भ्यागुताको उदाहरण अझै कम हुन्छ । यस्तै अहंकारीहरूका हर्कतहरूलाई देखेर नै महान् अग्रजहरूले प्रतिक्रियावादीहरू नसकिउन्जेल गल्ती दोहो¥याइरहन्छन् भन्ने महान् उक्तिहरू सम्प्रेषण गरेका हुन् । नेपालीमा एउटा पुरानो अहान छ– जानीजानी भीरबाट लड्नेलाई कठै मात्र भन्न सकिन्छ, काँध थाप्न सकिँदैन । इतिहासका दसौँ हजार र एकीकृत जनक्रान्तिका दसभन्दा बढी योद्धाहरूको रगत पिएर मैमत्त बनेको दलाल सरकारलाई पनि कठै मात्र भन्न सकिन्छ । सम्पादकीय

२०७६ साउन ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :