देशभक्त नेतृत्वका रूपमा विप्लवलाई नै देखिरहेकी छु : रेखा थापा

काठमाडौँ : स्थापित एवम् चर्चित नायिका रेखा थापाले अब एकपटक विप्लवले यो देशको नेतृत्व गरेको हेर्न चाहेको बताएकी छिन् । हिजो माओवादी आन्दोलनले उठाएका एजेन्डाहरू राम्रा भएको तर पूरा नभएकाले ती एजेण्डाहरू विप्लवले पूरा गर्नसक्ने दाबीसमेत उनको छ ।

एक अनलाइन टीभीमा अन्तर्वार्ता दिँदै नायिका थापाले जनताको समस्या सम्बोधन हुने गरी मुद्दा उठाएको माओवादी पार्टी आज टुक्राटुक्रा भएकोमा चिन्तासमेत व्यक्त गरिन् । जनयुद्धले उठाएका मुद्दाहरू अझै टुङ्गो नलागेकाले तिनै समस्या समाधान गर्न विप्लवले निरन्तरता दिइरहेको उनको भनाइ थियो । नेपालको राज्यसत्तामाथि हुने वैदेशिक चलखेलका कारण जनताले चाहेअनुसारको राज्यव्यवस्था सञ्चालन गर्ने अवस्था नभएपछि विप्लव प्रचण्डहरुबाट छुट्टिएको उनले बताइन् ।

अहिलेका नेताहरूले झैँ भोलि विप्लवले धोका नदिनेमा रेखा थापा विश्वस्त देखिन्छिन् । उनको बुझाइमा प्रचण्ड नेतृत्वको पार्टी सरकारमा जाँदा पनि विप्लव शक्तिशाली नेता थिए ।

उनले भनिन् ‘पद र पार्टी अनि पैसाकै लोभ थियो भने सायद विप्लवले अहिले जङ्गलमा बसेर युद्ध गर्नु पर्दैनथ्यो होला । पद, पैसा र पावरकै लागि थियो भने उहाँलाई सब चीज प्राप्त हुने थियो । प्रचण्डबाकै शब्दलाई सापटी लिने हो भने उहाँले विप्लव मेरो राइट ह्यान्ड थिए, मपछिको प्रचण्ड देख्थेँ विप्लवलाई भनेर भन्नुभएको छ । त्यही अभिव्यक्तिलाई आधार मान्ने हो भने पनि उहाँ (विप्लव) त इमानदार देखिनुभयो । तर उहाँको कार्यकाल भने हेर्न बाँकी छ । अहिलेसम्म देशभक्त नेतृत्वका रूपमा विप्लवलाई नै देखिरहेकी छु ।’

विप्लबले युद्ध गर्न नचाहेकोमा जोड दिँदै नायिका थापाले सर्लाही हत्याकाण्डलगायत घटनामा सरकारले इन्काउन्टरका नाममा मान्छे मार्ने काम गरिरहेको तर विप्लवले प्रतिवाद नगरेको बताउँदै युद्ध कसले चाहिरहेको छ त ? भनी सरकारलाई प्रश्नसमेत गरिन् ।

विप्लव पार्टीले बम हानेको प्रसङ्गलाई पनि उनले खण्डन गरेकी छिन् । उनले राज्यको करमाथि अनियमितता गर्ने कार्यालयमा विप्लव पार्टीले हानेको तर सर्वसाधारणलाई निशाना नगरेको प्रस्ट पारिन् । नेपाली जनताले नागरिकता लिएको भरमा मात्रै कर तिर्नुपर्ने तर विदेशी कम्पनी एनसेलले कर नतिर्दा विप्लवले एनसेलको कम्पाउन्डमा बम हानेको ठोकुवा गरिन् ।

नेपाली नागरिकले खोलेको कम्पनी जहिले पनि घाटामा जानुपर्ने, कुनै व्यवसाय गर्न नागरिकले सहजै ऋण नपाउने तर बैङ्कहरूले विदेशी लगानीलाई ऋण दिने, यो देश कसको लागि हो ? भन्न प्रश्न गर्दै रेखाले विप्लवले उठाएका कयौँ मुद्दाहरूमा आफू सहमत भएको बताइन् । तर पनि मार्ने र मर्ने कुरा राम्रो नभएको उनको धारणा थियो । युद्धद्वाराभन्दा वार्ता र संवादद्वारा समस्याको समाधान गर्न विप्लव नेकपाले कदम चाल्नुपर्ने रेखाको भनाइ थियो ।

वार्ताको बातावरण बनाउन राज्य बढी जिम्मेवार हुनुपर्ने बताउँदै रेखाले विप्लवले राखेका मागहरूलाई दुईतिहाइको सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । शान्ति र विकासमा जोड दिँदै विप्लवलाई वार्तामा ल्याउनुपर्ने उनले बताइन् । अब यो देशको नेतृत्व गर्ने अवसर र जिम्मा विप्लवलाई दिनुपर्ने उनको धारणा थियो । देशले निकास नपाए नयाँ प्रतिभालाई स्थान दिने र उसका नयाँ कार्यक्रमलाई लागू गर्न दिनुपर्ने उनको भनाइ थियो ।

२०७६ साउन ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :