‘सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन’

काठमाडौँ : ११ विद्यार्थी संगठनले सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा सत्ताबाहिरका राजनीतिक दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण), राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, माओवादी केन्द्रमा अध्यक्ष गोपाल किराँती, नेकपाका नेता ऋषि कट्टेल, पूर्ववाइसीएल नेता चन्द्रबहादुर थापालगायतका मञ्चमा सहभागि भएका थिए ।

 

विप्लवसँगग वार्ता गर : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरे । सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे । उनले सरकारको अधिनायकवादी चरित्रविरुद्ध सत्ता बाहिरका राजनीतिक दलले मर्चाबन्दी गरेर जानु पर्ने बताए ।

 देउवाले भनेका छन्, ‘ओलीले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नुको साटो धरपकड गर्दैछ, देश टुक्राउने भन्दै हिड्ने सिके राउतसँग वार्ता गरेर जनमत संग्रह भन्छ । कहाँ छ यिनको राष्ट्रवाद ? कहाँ छ देशभक्ति ?’

संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारी समेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

वर्तमान सरकार फासिवादतर्फ उन्मुख : किरण

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले वर्तमान सरकार फासिवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । महासचिव वैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिस्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि  राखेका छन् ।

उनले भनेका छन्, ‘वर्तमान सरकार कम्युनिस्टको सरकार होइन् । साथै केपी ओली कम्युनिस्ट हुनै सक्दैन । उहाँको उखान र टुक्काका हिसावले भन्ने हो भने जुन गोरुको सिंङ छैन । उसको नाम तिखे । भने जस्तै हो । सरकार चलाई रहेकाहरु कम्युनिस्ट पनि होइन । लोकतान्त्रिक पनि होइन । उनीहरु दलाल र फासिवादी हुन ।’ उनले सिके राउत र सरकारबीच भएको सम्झौतामाथि पनि प्रश्न उठाए । ‘सिके राउतसँग गोप्यरुपमा सम्झौता गर्नुभयो । आफ्नै पार्टीलाई पनि थाहा दिइएन । त्यो रहस्यमय छ ।’

यस्तै महासचिव किरणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न पनि सरकारलाई दबाब दिए । महासचिव वैद्यले चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

विप्लवमाथि प्रतिबन्ध लगाएर सरकारले फासिवादी चरित्र प्रस्तुत गर्यो : ऋषि कटेल

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कटेलले विप्लवमाथि प्रतिबन्ध लगाए सरकारले फासिवादी चरित्र प्रस्तुत गरेको बताएका छन् । उनले यथाशिघ्र विप्लवमाथिको प्रतिबन्ध हटाउन माग सरकारसँग माग गरेका छन् । 

उनले भने, ‘विद्यार्थी संगठनहरु सरकारको फासिवादका विरुद्धमा लाग्नुहोस् । हिजो पनि मुलुकको विभिन्न आन्दोलनमा तपाइहरुको महत्वपूर्ण योगदान गरेको छ । अहिले देश ओली तन्त्रको नियन्त्रणमा छ । सरकार माफिया, दलालहरुसँग लिनादेना लिप्त छ । तपाईहरु जाग्ने बेला आएको छ ।’

सरकारका जनविरोधी कदमविरुद्ध लड्नपुर्छ : सिपी मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले सरकारका जनविरोधी कदमविरुद्ध लड्न सत्ताबाहिरका सबै राजनीतिक दललेसाझा धारण बनाउँनु पर्ने बताए । उनले सरकार सञ्चालन गरिरहेको पार्टीका नेताहरुमा विचार र सिद्धान्त नरहेको आरोप लगाए ।

उनले भने, ‘यो सरकार उभयलिङ्गी जस्तो छ । यो सरकारको नाममा नभुलौँ । यो छिर्के्मिर्के राष्ट्रिवादी पार्टी हो । यो न कम्युनिस्ट हो न लोकतान्त्रिक हो ।’ उनले सरकार सत्ता जोगाउन नागरिकता वितरणको खेलमा लागेको समेत बताए ।

सरकारकाविरुद्ध आन्दोलनको विकल्प छैन : गोपाल किराँती

नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाली किराँतीले वर्तमान सरकारकाविरुद्ध आन्दोलनको विकल्प नरहेको बताए । उनले भने, ‘सत्ता बाहिर रहेका सबै राजनीति दलहरु मिलेर खड्गप्रसाद ओली सरकारविरुद्ध लाग्नुपर्ने बेला लाएको छ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर दिउवा र महोन वैद्य किरण ज्युले यसको अगुवाई गर्न पर्छ । यो सरकार २ महिनामै ढल्छ ।’

नेता किराँतीले सबै विद्यार्थी संगठनलाई विप्लवको आगामी बैशाख ५ गते घोषणा गरेको नेपाल बन्दमा साथ र समर्थन दिन आग्रह गरे ।

२०७५ चैत ३० गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :