पत्रकार रिहाइका लागि महासंघद्वारा सर्वोच्चमा रिट

काठमाडौं : न्हुगु ज्वजोलोप्पा पत्रिकाका प्रधानसम्पादक तथा जनपत्रकार संगठनका काठमाडौंका संयोजक जितेन्द्र महर्जनको रिहाइका लागि नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको छ ।

महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले शुक्रवार नेवाः भाषाको सो पत्रिकाका प्रधानसम्पादक महर्जनको गिरफ्तारी गैरकानूनी र संविधन विरुद्ध भन्दै बिनाशर्त रिहाईका लागि रिट दायर गरेका हुन् ।

गत २६ गते दिउसो पत्रिकाको कार्यालयमा समाचार सम्पादन गरिरहेका बेला अपहरण शैलीमा महर्जनलाई कार्यालयबाटै गिरफ्तार गरी एकदिन चरम यातना दिएर जिल्ला अदालतमा म्याद थप गरिएको थियो । ‘पत्रकारलाई गिरफ्तार गर्नु गैरकानुनी मात्र हैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हो, रिट दायर गर्नुपर्ने कारण खोल्दै केन्द्रीय सदस्य जैसीले भने, ‘यसअघि पनि अनाहकमा पत्रकारहरु पक्राउ परे, समग्र पत्रकारको रक्षा गर्ने संस्था महासंघको तर्फबाट मलाई अख्तियारी दिएपछि रिट हालेको हुँ ।’ २०७६ बैशाख २ गते साे रिट उपर सुनुवाई हुँदैछ भने वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, एकराज भण्डारी, कपिलचन्द्र पाेख्रेल, कान्ति ढुङ्गानालगायतले पैरवी गर्दैछन् ।

वर्षदिन अघि पनि जलजला मासिकका प्रधानसम्पादका खेम थपलिया, पत्रकार दिपेश शाहीलगायतका पत्रकारहरु पक्राउ पर्दा महर्जन पनि गिरफ्तार परेका थिए र महासंघले सबै पत्रकाहरुको पक्षमा त्यो बेला बन्दीप्रत्यक्षीकरण रिट दायर भई रिहा भएका थिए ।

केही दिनअघि मात्र कालीकोटमा रेडियो पत्रकार कर्ण विक र क्रान्तिकारी पत्रकार संगठन, नेपालका सचिव राजेन्द्र अघिकारी पनि गिरफ्तार गरिएको थियो । नेपाल पत्रकार महासंघलगायत  विभिन्न सञ्चार संघ-संगठनको दवावकारण उनीहरु बिना शर्त रिहा गर्न सरकार बाध्य भएको थियो ।

२०७५ चैत ३० गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :