विप्लव राष्ट्रघाती–देशविरोधी होइनन्, नेकपासँग सरकारले पोलिटिकल्ली डिल गर्नुपर्छ : पूर्वप्रधानसेनापति क्षत्री

 काठमाडौँ : पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विप्लव राष्ट्रघाति र देशविरोधी नभएको बताए । नेकपा राजनीतिक शक्ति भएको बताउँदै क्षत्रिले राजनीतिक ब्यवहार गरिनुपर्ने बताए । काठमाडौँबाट प्रकाशित हुने एक दैनिक पत्रिकासँगको विशेष कुराकानीको क्रममा क्षत्रीले नेकपासँग औपचारिक वार्ताबिना सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिए ।

पूर्वप्रधानसेनापति क्षत्रीले भने ‘विप्लव र उनी संलग्न नेकपा राष्ट्रघाती र देशविरोधी होइनन्, उनीहरूमाथि राजनीतिक शक्तिकै व्यवहार गरिनुपर्छ । समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प हो, वार्ताबिनै बल प्रयोग गर्दा देश पुनः द्वन्द्वमा फस्ने जोखिम रहन्छ ।’ 

नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रतिबन्धित नेकपाका नेता/कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्न सरकारलाई सुझाव समेत दिए ।

आफू अवकाश हुनुअघिसम्म सरकारलाई राजनीतिक समस्या वार्ताबाटै हल गर्न सुझाव दिएको र पहिलेको धारणा र सुझावमा त्यति तात्विक फरक नभएको उनले स्पष्ट पारे । नेकपा राजनीतिक शक्ति भएको भन्दै क्षत्रीले समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प भएको बताए ।

सरकारले प्रतिबन्ध लगाएर गिरफ्तारी गर्ने र नेकपाका महासचिव विप्लवले चैत्र महिनाभित्र फिर्ता नलिए सरकारमाथिनै प्रतिबन्ध लगाउने चेतावनीले क्षत्रीले मुठभेडको खोजिम रहेको औल्याए ।

क्षत्रीले भने, ‘हिजो पनि माओवादीले द्वन्द्वकै माध्यमबाट राजनीतिक अभिष्ट पूरा गर्न खोजेको थियो, राज्यका सामू त्यो सम्भव भएन’  

‘अहिलेको विप्लव समस्या पनि त्यसकै निरन्तरता हो, यसलाई बेलैमा राजनीतिक व्यवस्थापन गर्न सकिएन भने १० वर्षे हिंसाकै जस्तो अवस्था आउन सक्छ’ क्षत्रीको भनाई छ । 

क्षत्रीले दुईचार चन्दा आतंक र विस्फोट हुँदैमा विप्लवमाथि सुरक्षात्मक विकल्पबाट मात्रै नियन्त्रण गर्नु प्रत्युत्पादक हुने बताउँदै क्षत्रीले भने, ‘असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउन पहिलो र उपयुक्त विकल्प राजनीतिक समाधान नै हो, २÷४ वटा चन्दा आतंक, विस्फोट तथा आगजनी हुँदैमा विप्लवमाथि सुरक्षात्मक विकल्पबाट मात्रै नियन्त्रण गर्नु प्रत्युत्पादक हुन सक्छ ।’
उनले राजनीतिमा संलन विप्लव तथा नेकपासँग सरकारले ‘पोलिटिकल्ली डिल’ गर्नुपर्ने बताए । आफू सेनापति छँदा सरकार र राष्ट्रपति समक्ष अरु विकल्प नखोजी ‘सेक्युरिटी अप्सन’बाट समस्या समाधान गर्नुहुँदैन भनेर सुझाव दिएको र अहिले पनि सेनाको त्यही नै धारण रहेको आफूले पाएको उनले स्पष्ट पारे ।

बल प्रयोग र नियन्त्रणका अभियानले १० वर्षे द्वन्द्वकालमा झनै माओवादीका सशस्त्र गतिविधि झाँगिएको भन्दै क्षत्रीले सुरक्षा निकायले चलाएको रोमियो, किलो, अल्फालगायतका अपरेसनसमेत बल प्रयोगको नीतिकै कारण फेल खाएको क्षत्रीले स्वीकार गरे ।

२०७५ चैत १५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :