रातो घरबारे नेकपा रुपन्देहीको आयो यस्तो चेतावनी

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो पार्टी कार्यालय “रातो घर” भत्काइएकोप्रति गम्भीर खेद प्रकट गर्दै सो स्थानमा कुनै नयाँ संरचना नबनाउन चेतावनी दिएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो पार्टीले “रातो घर” भएको स्थानमा कुनै नयाँ संरचना बनाए भौतिक रुपमै प्रतिरोध गर्ने समेत चेतावनी दिएको छ । पार्टी जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटेरी अमर आरसिद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यालय भत्काएर सरकारले पार्टीलाई जबर्जस्त उद्देलित बनाएको र आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै यसले गम्भीर परिणाम निकाल्ने बताएका छन् ।
बिज्ञप्तिमा भनिएको छ, ”हाम्रो पार्टीको झन्डा, ब्यानर, साईन बोर्ड सहित नाराहरु मेटाएर पार्टीका फर्निचर तथा कार्यालय प्रयोजनार्थ राखिएका सामग्रीहरुसमेत कब्जा गरि अपमानित ढङ्गले बिनासुचना पार्टी कार्यालयमा डोजर लगाई गरिएको तोडफोडले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यसखाले हस्तक्षेपले हामिलाई थप गम्भीर बनाएको छ, सरकारको यो कदमले हाम्रो पार्टीलाई जबर्जस्त उद्देलित गराउन खोजेको देखिन्छ ।”

फासीवादी र राजनीतिक स्वतन्त्रता विरोधी हर्कत विरुद्व सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपील गर्दै विज्ञप्तिमा पार्टी कार्यालय “रातो घर” रहेको स्थानमा पार्टीसँग छलफल नगरी विनाविकल्प कुनै नयाँ संरचना नबनाउन र बनाएमा पार्टीले भौतिक रुपमै प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।

२०७५ चैत १५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :