महासचिव विप्लवसहित १६ जनालाई अदालतले दियो सफाइ


भोजपुर : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित २० जनाविरुद्ध लगाइएको ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा १६ जनाले सफाइ पाएका छन् । जिल्ला अदालत भोजपुरमा सोमबार भएको बहसपछिको फैसलामा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पीबीएम पदम राईलगायत १६ जनाले सफाइ पाएका हुन् ।

गतवर्ष पुसमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनकोबेला महासचिव विप्लव र प्रवत्ता प्रकाण्ड, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिटब्युरो सदस्य पदम राई विकासलगायत २० जना नेताविरुद्ध ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दामा कसुर गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

दुईवटा ज्यान मार्ने उद्योग र एउटा विस्फोटनसम्बन्धी मुद्दामा भोजपुर जिल्ला अदालतका न्यायाधीश हरीशचन्द्र इङ्नामको एकल इजलासले महासचिव विप्लवलगायत नेताहरूलाई सफाइ दिएको हो भने दुईजनासँग धरौटी लिइएको जानकारी अदालतका स्रेस्तेदार विष्णुप्रसाद दाहालले दिए । अन्य दुईजनालाई ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थतर्फ गरी तीनवटै मुद्दामा ४०/४० हजार जरिबाना लिइएको स्रेस्तेदार दाहालले बताए ।

यही मुद्दामा नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, अर्का नेता तथा किराँत राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन राईको वतन नखुलेकाले तामेलीमा राखिएको छ । फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको जनाइएको छ ।

२०७५ माघ २२ गते  मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :