जनता जगाउँदै बस्तीबस्तीमा पुग्यो नेकपाको अभियान

जाजरकोट ः संसद्वादी पार्टीहरू सत्ताका लागि संसद्मा लुछाचुँडी गरिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरू भने अभियान लिएर तराई, पहाड र हिमाली बस्तीहरूमा जनताका घरआँगनमा पुगिरहेका छन् । अभियानकर्मीहरू नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउनेदेखि लिपुलेकसम्म पुगिरहेका छन् । पूर्वको इलामदेखि पश्चिमको दार्चुलासम्म छरिएर रहेका नेकपाका अभियानकर्मीहरूले आफ्नो अभियानले जनतामा नयाँ आशा सञ्चार गरिरहेको अनुभव बताउने गरेका छन् ।

यसैबीच नेकपाका नेता–कार्यकर्ताहरू अभियान लिएर तत्कालीन जनयुद्धको आधारइलाका जाजरकोटका विकट गाउँबस्तीमा पुगिरहेका छन् । जिल्लाको उत्तर–पूर्वमा पर्ने घरङ्गा, रग्दा, भगवतीलगायत विकट गाउँहरूमा पुगेका अभियानकर्मीहरूले जनतासँग साक्षात्कार गर्ने मौका पाउँदा आफूमा नयाँ उत्साह थपिएको बताउने गरेका छन् । अभियान टोलीमा रहेका जाजरकोटका नवीनले भने, ‘हामी जाजरकोटका विकट बस्तीहरूमा परिचालित छौँ । हाम्रो अभियान टोली अहिले घरङ्गा भन्ने गाउँमा पुगेको छ । आज मात्र यहाँ कार्तगाउँबाट नेपाली काङ्ग्रेसका इलाका सदस्य लोकेशसिंह, मोतीप्रसाद सिंहलगायत ६ जना हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । हाम्रो पार्टीप्रति जनताको आकर्षण बढिरहेको छ । गाउँघरहरूमा पिँढीसभा, जनसभा, घरदैलो कार्यक्रम गरिरहेका छौँ ।’

जाजरकोटका ती गाउँहरू तत्कालीन जनयुद्धका आधार गाउँहरू हुन् । उक्त क्षेत्रमा १५ जनाको अभियान टिम लिएर पुगेका नेकपा सल्यानका सेक्रेटरी महेन्द्रले भने, ‘यहाँबाट चाहेको समयमा र सबै ठाउँहरूबाट टेलिफोन गर्नसमेत सकिँदैन मोबाइलमा ब्यालेन्स पनि सहज उपलब्ध हुन सक्दैन । हामी यहाँ आउँदा जनताले हामीमाथि गरेको भरोसा देखेर हामी धेरै उत्साहित भएका छौैँ ।’ अहिले जाजरकोटमा मात्र जिल्लाभर नेकपाका पाँचवटा अभियान टोली परिचालित छन् ।
आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि जनसङ्गठन निर्माण, गठन र पुनर्गठन गर्न नेकपाले पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यदेखि सबै तहका नेता–कार्यकर्ताहरूलाई अभियानमा परिचालित गराएको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ नाम दिइएको उक्त अभियान २ महिना चल्ने बताइएको छ ।

२०७५ माघ २२ गते  मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :