कञ्चनपुरमा युवा सङ्गठन नेपालको अन्तर्क्रिया सम्पन्न, प्रचण्ड-बाबुराम दलाल संसदवादमा फसे – दिनेश


भीमदत्तनगर : युवा सङ्गठन नेपाल महाकाली ब्युरोले ‘दशबर्षे जनयुद्ध, एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरुको भूमिका’ बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज श्याम भट्टको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष तथा पश्चिम कमान्ड इन्चार्ज दिनेश विक रहनु भएको थियो । अतिथिमा नेकपा दार्चुला जिल्ला इन्चार्ज जीवन, नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुर जिल्ला सहसचिव बिष्णु नेपाली, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कञ्चनपुरका सहसचिव मोहन बिष्ट, वाइसिएलका जिल्ला अध्यक्ष सुचित्र शाह, नागरिक समाज कञ्चनपुरका सचिव प्रभुनिधी पन्त, शिक्षक ओमप्रकाश जोशीलगायत राजनीतिक दलका नेता कार्यकर्ताहरु रहनु भएको थियो ।

प्रमुख वक्ता विकले सम्बोधन गर्दै भने जनयुद्धमा नेपाली युवाहरुले गरेको बलिदानप्रति तत्कालिन नेतृत्वले गद्दारी गरेकै कारण प्राप्त उपलब्धीसमेत गुमेको छ । जनयुद्धमा युवाहरूले अग्रणी भुमिकामा रहेर योगदान गरेपनि अन्तत शान्ति प्रक्रियामा आएसँगै त्यसका नेतृत्व प्रचण्ड-बाबुराम लगायतका केही नेताहरुको गद्दारीले क्रान्ति अधुरै रहेको बताउनु भयो । जनयुद्धमा युवाहरुको भुमिका र बलिदानी अग्रणी भागमा थियो तर तत्कालिन नेतृत्व प्रचण्ड बाबुराम दलाल संसदबादमा फसेकाले सबै खेर गयो । उहाँले फेरी युवाहरुको काँधमा अधुरो क्रान्ति पुरा गर्ने महान् जिम्मेवारी आएकाले त्यसको कार्यभार उठाएर एकीकृत जनक्रान्तिको यात्रा सुरु गरेको नेपाल कम्युनिस्ट पार्टीमा गोलबद्ध हुन आह्वानसमेत गर्नुभयो ।


एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाकालागि आफुहरु निरन्तर अभियानमा जुटिरहेको उल्लेख गर्दै दलाल संसदीय व्यवस्थाको चिहान खन्ने अन्तिम लडाइँका निम्ति तयार हुन युवाहरुलाई अपिल गर्नुभयो । अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गरेको भन्दै विरोध समेत गर्नुभयो । अमेरिकी साम्राज्यवादलाई परास्त गर्न क्रान्तिकारी युवाहरुको अन्तर्रास्ट्रिय रुपमै एक हुन जरुरी रहेको भन्दै उहाँले अमेरिकी प्रत्यक्ष हस्तक्षेप भेनेजुएलामा देखापरे पनि उक्त कदम संसारभरका क्रान्तिकारीहरुको चासोको बिषय भएको धारणा राख्नुभयो । यसैगरी विभिन्न बक्ताहरुले पनि आआफ्नो धारणा राखेका थिए ।

२०७५ माघ २२ गते  मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :