सुर्खेत : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज कञ्चनले पुँजीवादी संसदीय सत्तामा जाने सबै चोर र भ्रष्ट भएको बताएका छन् । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको उद्घाटन गर्दै मङ्गलबार सुर्खेतमा आयोजित पश्चिम कमान्डमा आउने नेताकार्यकतालाई स्वागत र कमान्डबाट बाहिर जानेलाई बिदाइ गर्ने क्रममा प्रमुख अतिथिको रुपमा प्रसिक्षित गर्दै उनले यस्तो बताएका हुन् । पुँजीवादी सत्ताका पक्षधरहरूले भ्रष्टाचारलाई कानुनी रूपमा नै वैधानिकता दिंदै राज्यको सम्पती दोहन गरेकोले पुँजीवादी सत्तामा जाने सबै चोर भएको बताएका छन् । पुँजीवादी सत्ता जनविरोधी चरीत्रको भएको हुनाले वास्तविक मुक्ति वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्रै सम्भव हुने बताउदै उनले भने ‘हामी क्रान्तिबाट फर्केर जाने ठाउँ छैन । यो सोच्न पनि हुन्न हामीले सहिद, बेपत्ताको र उनको परिवारको सपनालाई कदापि भुल्ल हुन्न । पार्टी र जनताको सम्बन्धलाई नङ र मासुको जस्तै सम्बन्ध विस्तार गर्ने र सामाजिक दलाल भ्रष्टाचारीहरुको भन्डाफोर गर्न दुई महिने अभियान सञ्चालन गर्नु परेको हो ।’
त्यस्तै नेकपाका पोलिट ब्युरो सदस्य रणवीरले नेपालमा दलाल पुँजीवाद मुख्य तत्व बनेर आएकोले फाँसिवादी अभ्यासलाई काउन्टर गर्नको लागि सच्चा कम्युनिस्टले मेहनत गर्नुपर्ने र मेहनतले नै अबको क्रान्ति जित्न सकिने बताए । कार्यक्रममा ६८ दिन हिरासत बसेर आएका नेता केन्द्रीय सदस्य असल क्षेत्री, आजाद केसी लगायतका नेताहरुलाई अभिनन्दन गरिएको थियोे । पार्टीका केन्द्रीय सदस्य सिकन्दरको अध्यक्षता, केन्द्रीय सदस्य सितलको सञ्चालनमा स्वागत मन्तव्य केन्द्रीय सदस्य हिमालले गरेका थिए ।
२०७५ माघ १ गते मङ्गलबार प्रकाशित