सगरमाथा, मेची र कोसीमा अभियानको भव्य उद्घाटन

   

काठमाडाैँ : नेकपाको सगरमाथा, मेची र कोसी ब्युरोले तीन महिने ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ भव्य रूपमा उद्घाटन गरेका छन् ।

सगरमाथाबाट प्राप्त समाचारअनुसार उदयपुर जिल्लाको बेलका नपा शिखरमाडीमा आयोजित अभियान उद्घाटन कार्यक्रम पार्टी केन्द्रीय सदस्य सञ्जीवको प्रमुख आतिथ्य र पार्टी केन्द्रीय सदस्य तथा सगरमाथा इन्चार्ज दीपेश राईको अध्यक्षतामा सम्पन्न भएको छ । दुई सयभन्दा बढी जनताको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन ब्युरो सदस्य शैलेशले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि हरेक जनताको घरघरमा पुगी जनतालाई साथमा लिएर सङ्घर्ष अगाडि बढाउने र जागरण कार्यक्रमार्फत एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा पु¥याउने बताएका छन् ।


स्वगत मन्तव्य उदयपुर सेक्रेटरी प्रशान्तले गरेका थिए । उक्त कार्यक्रममा पूर्व जनमुक्ति सेनका १२ जनाभन्दा बढी नेकपामा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूलाई केन्द्रीय सदस्यहरू अभियान टोली प्रमुख सञ्जीव र सगरमाथा ब्युरो इन्चार्ज दीपेशले अबिर लगाएर स्वागत गरेका थिए । उक्त कार्यक्रममा सङ्घीय समाजवादी फोरम पार्टीका आधा दर्जन नेता–कार्यकर्ताहरू पार्टी प्रवेश गरेका छन् ।

यसैगरी मेची ब्युरोको अभियान उद्घाटन कार्यक्रम इलाम जिल्लाको फाक्फोक फलाँटेमा सम्पन्न भएको छ । नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनले गरेका थिए ।

सामना परिवारको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रमको सञ्चालन सामनाका आरोह नेपालीले र स्वागत इलामका कार्यवाहक इन्चार्ज सर्वश्रेष्ठले गरेका थिए ।

यसैगरी नेकपाको कोसी ब्युरोले धनकुटाको साँघुरीगढी गाउँपालिकामा अभियान कार्यक्रम उद्घाटन गरेको छ । उक्त कार्यक्रमको उद्घाटन पार्टीका केन्द्रीय सदस्यहरू अभियान टोली प्रमुख आधार र निर्मलले संयुक्त रूपमा गरे । कार्यक्रम उद्घाटन गर्दै नेताहरूले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

कार्यक्रमको अध्यक्षता नेकपा कोसी ब्युरो संयोजक पुष्कर श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य धनकुटा – मोरङ इन्चार्ज सङ्गीतले गरेका थिए । सभाध्यक्ष पुष्करले पार्टीको झन्डा अभियान टोलीका प्रमुख आधारलाई हस्तान्तरण गरेको काेसीबाट प्राप्त समाचारमा जनाइएको छ ।

२०७५ माघ १ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :