काठमाडौं पुर्नगठीत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले सरकार जनविरोधी मात्र नभएर राष्ट्रिय हित विपरित काम गर्दै गएकोले निकट भविष्यमा अर्को ठूलो आन्दोलन निम्तिने दाबी गरेका छन् । पछिल्लो समयमा देशको कुटनीतिक मामला निकै कमजोर भएको दावी गर्दै किरातीले जनयुद्धले उचाईमा पु¥याएको नेपाली राष्ट्रियता प्रचण्डले माओवादीलाई एमालेमा विलय गराएसँगै फिक्का भएको बताए । शनिबार संवाद डबलीमा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले यस्तो बताएका हुन् । पूर्व मन्त्री समेत रहेका किरातीले आफू संस्कृति मन्त्रीहुँदा पशुपतिनाथमा नेपाली पुजारी ल्याउने कोशिस गरेपनि प्रचण्डको कारण त्यो सम्भब नभएको स्मरण गरे ।
राजनीतिक विश्लेषक तथा वाम वुद्धिजीवि प्रा.डा. गोपाल सिवाकोटीले नेपालमा अहिलेसम्म भरपर्दो परराष्ट्र नीति नबनेको बताए । उनले अहिलेका शासकहरुले भन्ने गरेको नीति परराष्ट्र नीति नभएर रणनीति भएको धारणा राखे । डा.सिवाकोटीले वर्तमान सरकार अघिल्ला सरकारभन्दा आन्तरिक र बाह्य सम्बन्धमा निकै कमजोर हुँदै गएको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनसँग आफ्नो राम्रो सम्बन्ध छ भन्नु लगत भएको बताउँदै डा. सिवाकोटीले भने, “चिनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने चार वर्षदेखिको कसरत के भयो ? लिपुलेकको के भयो ? भनि प्रश्न गरे । भारतीयहरुले कोशी व्यारेज सुरक्षार्थ भन्दै आफ्नो सेना नेपालमै राख्न गरेको कोशीसलाई सिवाकोटोले शंकास्पद भनेका छन् ।
यस्तै राजनीतिक विश्लेषक डा.केवी रोकायाले नेपालको वर्तमान शासकहरु पुराना भन्दा पनि गएगुज्रेका भन्दै उनिहरुसँग देश र जनताको पक्षमा काम गर्ने भन्दा विदेशीलाई खुशी पारेर अर्थोपार्जन गर्ने दाउतिर अभिमुख भएको आरोप लगाए । यस्तै प्रा.डा.सुरेन्द्र केसीले २१ औं शताब्दिको परराष्ट्रनीति परनिर्भर नभएर अन्तर निर्भर हुनपर्ने बताए । नेपालको विदेश नीति पञ्चशीलको आधारमा हुनुपर्ने भन्दै सरकारको नीति मुखमा समाजवाद भन्ने तर व्यवहारमा विदेशीलाई फाइदा हुने र देशलाई टाट पल्टाउने नीति भएको बताए ।
माओवादी केन्द्रका महासचिव तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख कर्णजित बुढाथोकीले वर्तमान सरकारले समाजवादको नारा दिएर आफ्नो खिल्लि आफै उडाएको बताए । उनले आफुहरु विप्लव र वैद्य कमरेडसँग एकता गरेर सरकारलाई पाठ सिकाउन तयार भएको घोषणा गरे । कार्यक्रमा अन्र्तराष्ट्रिय विभागका सदस्य प्रयासजंग अधिकारीले स्वागत भाषण गरेका थिए भने अर्का सदस्य बालकृष्ण लम्सालले सञ्चालन गरेका थिए ।
२०७५ भदौं १० गते आईतबार प्रकाशित