सुकुमबासी वर्ग सर्वहारावर्ग र कम्युनिस्टसँग नजिकको वर्ग हो । यद्यपि सर्वहारावर्ग पुँजीवादी उत्पादन सम्बन्ध र पुँजीवादी व्यवस्थाको उपज हो भने सुकुमबासीचाहिँ सामन्ती उत्पादन सम्बन्ध र सामन्तवादी व्यवस्थाको उपज हो । सर्वहारावर्ग औद्योगिक उत्पादन सम्बन्धको विकासद्वारा पैदा भएको हो भने सुकुमबासीवर्ग जमिनमा सामन्त जमिनदारहरूको नियन्त्रणद्वारा पैदा भएको हो ।
सर्वहारा र सुकुमबासी दुवै वर्गसँग श्रमबाहेक आफ्नो केही छैन । यी दुवै वर्ग सामान्य जीवन धान्नका लागि पनि आफूसँग भएको श्रम बेच्न वाध्य छन् । यो विशाल पृथ्वीमा उसलाई बास बस्ने ठाउँ पनि छैन । त्यसैले कम्युनिस्ट घोषणा–पत्रमा सर्वहारावर्गबारे माक्र्स, एङ्गेल्सले उल्लेख गर्नुभयो, “गुमाउनका लागि केही छैन तर जित्नको लागि सिङ्गो संसार छ ।” यो विषय सुकुमबासीको हकमा पनि सही छ ।
सर्वहारा सुकुमबासी आपसे–आफ या कुनै नियतिको कारणले पैदा भएको होइन । यो वर्ग सामन्ती सत्ता र पुँजीवादी सत्ताको अकल्पनीय शोषणको कारणले जन्मिएको हो । अझ भनौँ, सामन्तवर्गले आफ्नो स्वार्थको लागि जनताको विरुद्ध सामन्ती सत्ताका साधनहरूको (पुँजी, कानुन, प्रहरी सेना आदिको) प्रयोग गरेर अधिकारविहीन बनाउनुको कारणले पैदा भएको हो । ठीक त्यसैगरी, सर्वहारावर्ग पनि पुँजीवादी वर्गले जनताको विरुद्ध पुँजीवादी सत्ताका साधनहरू प्रयोग गर्दा पैदा भएको हो । त्यसैले सर्वहारा सुकुमबासी वर्ग मुक्तिको लागि दुईवटा शक्तिको पराजय र अन्त्य अनिवार्य छ, सामन्तवादी र पुँजीवादी सत्ताको विघटन साथै, सामन्त वर्ग र पुँजीवादी वर्गको पराजय ।
सुकुमबासीमाथिको शोषण र सुकुमबासीको जीवन असह्य छ । सुकुमबासीले यो शोषण र जीवनलाई तोड्नैपर्दछ । यसका लागि सुकुमबासी सङ्गठनले केही कामहरूमा जोड गर्नैपर्दछ । मुख्यतः यसका चारवटा कामहरू छन् :
(१) सुकुमबासी वर्गलाई मजबुत सङ्गठनमा आवद्ध गर्नु
(२) वैज्ञानिक विचारलाई गहिरोगरी प्रवेश गराउनु
(३) दलाल पुँजीवादी सत्तालाई उल्टाइदिनु
(४) सर्वहारावर्गको नेतृत्वमा बन्ने जनसत्तामा सहभागी बन्नु
यी कामहरूलाई सुकुमबासी वर्गमा प्रभावकारी ढङ्गले सम्पन्न नगरेसम्म अझ भनौँ, सर्वहारावर्गको नेतृत्वमा दलाल पुँजीवादी सत्ताको अन्त्य र जनवादी सत्ता स्थापित नभएसम्म सुकुमबासी वर्गको पूर्ण मुक्ति सम्भव छैन ।
नेपालमा जनयुद्धले सामन्ती सत्ता ध्वंस गर्न थालेपछि सबै उत्पीडित जनसमुदायजस्तै सुकुमबासी वर्ग पनि जागरुक भयो । आफूलाई बेलगाम लुट मच्चाउने सामन्तवर्गको विरुद्ध सङ्गठित भयो र ठूलो मात्रामा सङ्घर्षमा होमियो । सङ्घर्षकै क्रममा निकै ठूलो मात्रामा स्वतन्त्रता र अधिकार पनि प्राप्त ग¥यो । कैयौँँ ठाउँमा सुकुमबासीहरूले गाँस– बासको अवसर पनि पाए तर त्यो समग्र नेपालको सन्दर्भमा पूर्ण थिएन । जब जनयुद्ध स्थगित भयो र शान्ति प्रक्रिया सुरु भयो, तब सुकुमबासीको सङ्घर्षले पनि नयाँ घुम्ती लियो । यो प्रत्यक्ष सङ्घर्षबाट अधिकार प्राप्त गर्नेतिर नभएर संवैधानिक र सहमतिको बाटोतर्फ ढल्कियो । सामन्तहरू फेरि मौका छोपेर सङ्गठित बन्न पुगे र सुकुमबासीको अधिकारविरुद्ध बाहिर निस्किए । काङ्ग्रेस एमालेजस्ता संसद्वादी दलहरू सामन्तका रक्षाका उपजको रूपमा अगाडि आए । यसले सुकुमबासी वर्गको आवश्यकता र हकलाई प्रभावित पारेको छ । कैयौँँले त खुलम–खुल्ला सुकुमबासीको अधिकार र सङ्घर्षको विरुद्ध र सामन्त जमिनदारको पक्षमा वकालत गर्न थालेका छन् । यसरी हेर्दा शान्तिपूर्ण सहमति र बुर्जुवाहरूको प्रभुत्व रहेको व्यवस्थाभित्रबाट सर्वहारा–सुकुमबासीको पूर्ण अधिकार र स्वतन्त्रता प्राप्त हुन सक्दैन ।
माओवादी पार्टीले सामन्त र पुँजीवादी वर्गको सत्ता पूर्णरूपले नउल्टाएसम्म जनताको अधिकार र राष्ट्रको स्वाधीनता सुनिश्चित हुँदैन भन्ने विचार अगाडि सार्दै आएको प्रस्ट छ । शान्तिपूर्ण प्रक्रियामा जनताको पक्षमा सरकार र सदनबाट साथै, सहमतीय प्रक्रियाबाट नयाँ निकास निकाल्न कोसिस पनि ग¥यो तर विदेशीहरूको हस्तक्षेप र संसदीय दलहरूको तीव्र दलाली कारणले निकासभन्दा प्रतिक्रान्तिलाई जन्म दिने खतरा बढिरहेको छ । यसले सर्वहारा सुकुमबासी र उत्पीडित जनसमुदायमा नै सबैभन्दा बढी नकारात्मक असर गर्ने प्रस्ट छ । त्यसैले सुकुमबासी वर्ग आफ्नो अधिकारबारे पूरै तागतसहित एकतावद्ध हुन आवश्यक छ । त्यसैगरी, आफ्नो वर्गलाई मालेमाको वैज्ञानिक विचारद्वारा शिक्षित गर्नुपर्छ । साथै, माओवादी पार्टीले बुर्जुवा सत्ताको विरुद्ध सञ्चालन गरिरहेको क्रान्तिकारी आन्दोलनमा सहभागी हुनुपर्दछ र आफ्नो वर्गको सत्ता स्थापना गर्ने लडाइँमा दृढतापूर्वक सहभागी बन्नुपर्दछ । सर्वहारावर्गको सत्ताबिना सुकुमबासीको मुक्ति सम्भव छैन । २८ असोज, २०६६
स्राेत: विप्लव सङ्कलित रचना
२०७५ जेठ २२ गते मंगलबार अपरान्ह ३ : ४८ मा प्रकाशित