रमाकान्त बास्तोला / पोखरा :
सरकारले नेकपामाथि दमनको नीति अघि सारिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संगठन निर्माण, विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानलाई तीब्रता दिइरहेको छ । यसैक्रममा कास्की जिल्लामा पनि नेकपाले विभिन्न भातृ संगठनको जिल्ला सम्मेलन तथा भेला गरी संगठन सुदृढ गरिरहेको छ भने जनसम्बन्ध सुदृढीकरण अभियानअन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको छ ।
यसैबीच अखिल नेपाल भूमिहीन सुकुमबासी संघ, कास्कीको जिल्ला भेला मंगलबार पोखरामा सम्पन्न भयो । भेलाले टीकाराम घिमिरेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सो नयाँ कार्य समितिमा कमल खड्का उपाध्यक्ष र दिलबहादुर सुनार सचिव रहेका छन् ।
उक्त भेलाको उद्घाटन गर्दै नेकपाका गण्डक ब्युरो सदस्य एवं कास्की जिल्ला सेक्रेटरी रुपेशले विभिन्न राजनीतिक पार्टीले संसदीय चुनाव जित्न सुकुमबासीहरुलाई प्रयोग गरे पनि चुनाव जितेपछि सुकुमबासीहरुको समस्या समाधान गर्न बेवास्ता गर्ने गरेको आरोप लगाए । उनले संसदीय राजनीतिमा लागेका राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुले गरीब, किसान, मजदुर र सुकुमबासीहरुको समस्या समाधान गर्नै नसक्ने तर्क राखे । उनले गरिब, किसान, मजदुर, सुकुमबासीलगायत सर्वहारावर्गको मुक्तिका लागि आफूहरु बलिदानी दिन तयार रहेको बताउँदै वर्गीय मुक्तिका लागि संघर्ष उत्रिन सबैलाई आग्रह गरे ।
आफ्नो पार्टीको नाममा जग्गा दिलाइदिने, न्याय दिलाइदिनेलगायत विभिन्न प्रलोभन दिएर विभिन्न स्थानमा विभिन्न व्यक्तिहरुले रकम उठाइरहेको जानकारी आइरहेको उल्लेख गर्दै उनले पार्टीको नाममा हुने ठगीबाट बच्न सचेत रहन भूमिहीन, सुकुमबासीहरुलाई सचेत गराए ।
नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोका सदस्यहरु जगन तिवारी, गोकुल पराजुली, सुजन विक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिलन राई, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य प्राप्ति विकलगायतका वक्ताहरुले आफ्नो हक र अधिकार प्राप्तिका लागि सम्पूर्ण भूमिहीन सुकुमबासीहरु कसैको प्रलोभनमा नपरी एकजुट भएर लड्नुपर्ने कुरामा जोड दिएका थिए ।
२०७५ वैशाख २६ गते बुधबार अपरान्ह ४ : ०१ मा प्रकाशित