उत्तर कोरियाली सर्वोच्च नेता चीनमा

 

अम्बिका चन्द / काठमाडौँ : विश्वका दुई ठूला महाशक्ति राष्ट्र मानिने अमेरिका र चीनबीच व्यापारिक युद्ध चलिरहेका बेला उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रेल चढेर चीन भ्रमण गरेको भन्ने समाचारलाई लिएर अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले मंगलबार दिनभर विभिन्न तथ्य र दावी गरे । उनको चीन भ्रमणसम्बन्धी सबैभन्दा पहिलो समाचार जापानमा रहेको निप्पोन न्यूज नेटवर्क नामक टिभीबाट प्रशारण भएको थियो । त्यसपछि अमेरिकी समाचार संस्था सिएनएनले रेल चढेर उत्तर कोरियाली सर्वोच्च नेता उन चीनको राजधानी बेइजिङ पुगेको समाचार बाहिर ल्याएको छ । अर्को अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले पनि उन रेल चढेर चीन भ्रमण गरेको हुन सक्ने बलियो सम्भावना रहेको आंैल्याएको छ । विदेश भ्रमण नगर्ने र अन्य देशहरूसँग खासै सम्पर्क राख्न पनि नचाहने भनिएका नेता किम जोङ उन रेल चढेर चीन आएको खबरले विश्वभरि नै तरंग ल्याइदिएको छ । मंगलबार चीनको राजधानी बेइजिङमा अवस्थित ग्रेटहल अफ दि पिपुल्सको गेस्टहाउसमा उच्च सुरक्षाका साथ भिआईपी बास बसेको, चीनमा अत्यधिक सुरक्षा सतर्कता अपनाइएको र रेल स्टेसनहरूसमेत बन्द गरेको तथ्यलाई आधार बनाएर अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले नै बेइजिङ भ्रमण गरेको हुन सक्ने समाचार सम्प्रेषण गरेका छन् । यद्यपि यो विवरण तयार पार्दासम्म चिनियाँ र उत्तर कोरियाली समाचार संस्थाले किम जोङ उनको भ्रमणबारे केही उल्लेख गरेका छैनन् । बीबीसीले पनि बेइजिङ रेलवे स्टेसनमा मंगलबार सुरक्षा व्यवस्था कडा गरिनु र रेलवे स्टेसन नै बन्द गरिनुले पनि उनकै आगमन भएको हुन सक्ने अनुमान गरिएको भन्ने समाचार प्रशारण गरेको छ । चीनको महत्वपूर्ण तियानमेन स्वायरमा अकस्मात विदेशी पर्यटकहरूलाई समेत बाहिर निकालिएको संचार माध्ययमहरूले उल्लेख गरेका छन् । उनीहरूले अत्याधुनिक हातहतियार र सयौँ सैनिकले सुसज्जित हुँदै सर्वोच्च नेता उन रेलबाट बेइजिङतर्फ हिँडेको उल्लेख गरेका छन् । विश्व अर्थतन्त्रमा उल्लेख्य प्रगति गरिरहेको चीन एवं परमाणविक अस्त्रमा त्यस्तै सफलता हासिल गरिरहेको उत्तर कोरियाबीच राम्रो सम्बन्ध रहेको र दुवै देशसँग आफूलाई महाशक्ति ठान्ने चीनको सम्बन्ध राम्रो नभएको विश्लेषणका माझ किम जोङ उनले बेइजिङको भ्रमण गरेको भन्ने समाचारलाई लिएर विश्व राजनीतिमा निकै अर्थपूर्ण र चासोका साथ हेरिएको छ । स्रोत : रातो खबर साप्ताहिक
२०७४ चैत १४ गते बिहान १४ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :